राजनीतिक दलहरूसँग छलफल नै नगरि निर्वाचनको घोषणा गरिएको भन्दै एमालेले जनायो आपति
वि.सं.२०८२ असोज २१ मंगलवार १५:५३
shares

काठमाडौं । नेकपा एमालेले दलहरूसँग संवाद नै नगरी निर्वाचन कार्यतालिका सार्वजनिक गरिएको भन्दै असन्तुष्टि जनाएको छ ।
निर्वाचन आयोगले फागुन २१ गते हुने प्रतिनिधिसभा निर्वाचनको कार्यतालिका सोमबार जारी गरेको थियो । त्यसप्रति एमालेले गम्भीर असहमति रहेको भन्दै यथाशीघ्र दलहरूलाई संवादमा बोलाउन सुशीला कार्की नेतृत्वको सरकारको ध्यानाकर्षण गराएको हो ।
एमाले प्रचार विभाग प्रमुख राजेन्द्र गौतमले भने, ‘यो सरकारले राजनीतिक दलहरूसँग अहिलेसम्म कुनैपनि संवाद नगरी निषेधको व्यवहार देखाउँदै निर्वाचन कार्यतालिका ल्याएको छ । यो हास्यास्पद कुरा हो, सरकार नगर्ने चुनावको धेरै चर्चा गरिरहेको छ ।’
उनले यो सरकार लोकतन्त्र, संविधानप्रति प्रतिबद्ध हो भने तत्काल दलहरूलाई विश्वासमा लिएर निर्वाचनको वातावरण बनाउन लाग्नुपर्ने बताए । उनले निर्वाचनको वातावरण बनाउने हो भने पहिलो देशमा शान्ति सुरक्षा बहाल गर्नुपनृए बताउँदै उनले सबै दलहरूको सुझावका आधारमा सरकार अगाडि बढ्ने विश्वास सिर्जना गर्नुपर्ने बताए । त्यसो भएन भने राजनीतिक दलहरूले आफ्ना विचार धारणा प्रस्तुत गर्ने र तदअनुरूप अघि बढ्न स्वतन्त्र रहेको उनको भनाइ छ ।




































