संसदको दोस्रो बैठक पनि स्थगित
वि.सं.२०८३ वैशाख ३० बुधवार १६:१४
shares

काठमाडौं । प्रतिनिधिसभाको दोस्रो बैठकमा पनि विपक्षीले अवरोध राखेपछि स्थगित भएको छ । प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले सदनमा प्रधानमन्त्रीको उपस्थिति र जवाफ माग गर्दै जवाफका लागि रुलिङ गर्न माग गर्दै अवरोध गरेको हो ।
अवरोध जारी भएपछि सभामुखले १५ मिनेटका लागि बैठक स्थगित गरे । यसअघि पनि विपक्षीले सोही माग राखेर अवरोध गरेपछि १५ मिनेटका लागि स्थगित गरिएको थियो ।आजको बैठकमा प्रधानमन्त्री बालेन शाहले आर्थिक वर्ष ०८३/०८४ को नीति तथा कार्यक्रम प्रस्तुत गर्ने कार्यसूची थियो । प्रधानमन्त्रीले अर्थमन्त्रीलाई उक्त प्रस्ताव पेस गर्न अर्थमन्त्री डा स्वर्णिम वाग्लेलाई तोकेर पठाएको जानकारी सभामुखले गरेर वाग्लेलाई रोस्ट्रममा बोलाएलगत्तै विपक्षीहरूले अवरोध सुरु गरेका थिए ।
यसविषयमा सभामुख डीपी अर्यालले प्रतिपक्षी दलका प्रमुख सचेतकहरूसँग छलफल गरेलगत्तै संसद् बैठक सुरु भएको थियो । छलफलअनुसार अर्थमन्त्री वाग्लेले नीति तथा कार्यक्रममाथिको छलफलको प्रस्ताव पेस गरे । तर प्रमुख प्रतिपक्षी दलले फेरि उठेर विरोध जारी राखे ।
कांग्रेस संसदीय दलका नेता भीष्मराज आङ्देम्बेले प्रधानमन्त्रीलाई सदनमा आउन जवाफ दिनका लागि रुलिङको माग गरे । तर सभामुखले आफूले अहिले रुलिङ नगर्ने र आज प्रधानमन्त्रीसँग छलफल तय भएकोले संवादपछि मात्रै भोलिको कार्यसूचीअघि विपक्षी दलसँग छलफल गर्ने बताए ।




































