मकवानपुरमा जिप दुर्घटना : घाइते १ महिलाको निधन
वि.सं.२०८३ भदौ २ मंगलवार १३:३०
shares

काठमाडौं । मकवानपुरको भीमफेदी गाउँपालिका ६ जुरिखेतमा आज बिहान भएको जिप दुर्घटनामा घाइते भएकी एक महिलाको उपचारको क्रममा मृत्यु भएको छ ।
मृत्यु हुनेमा लक्ष्मी बडु रहेको प्रहरीले जनाएको छ । उनी रजिष्ट्रार तारादत्त बडुकी श्रीमती हुन् ।उनको वीरेन्द्र सैनिक अस्पताल छाउनीमा उपचारको क्रममा मृत्यु भएको प्रहरीले जनाएको छ ।काठमाडौंबाट वीरगञ्जतर्फ आउँदै गरेको प्रदेश ३–०१–००२ झ ५१८३ नम्बरको स्कार्पियो जिप आज मंगलबार बिहान करिब ७ बजे जुरीखेतमा अनियन्त्रित भई खोल्सामा खसेको थियो ।
दुर्घटनामा दाङको तुलसीपुर उपमहानगरपालिका-९ घर भएका उच्च अदालत वीरगञ्जका मुख्य न्यायाधीश ५७ वर्षीय गोकर्ण डाँगी, ५७ वर्षकै रजिष्ट्रार तारादत्त बडु, उनकी श्रीमती ४९ वर्षीया लक्ष्मी, छोरा २५ वर्षीय रितेन्द्र र ३१ वर्षीया रिता घाइते भएका थिए । दाङको राप्ती नगरपालिका-८ का करिब ३२ वर्षीय जिप चालक छुनिलाल चौधरी समेत घाइते भएका छन् ।
मुख्य न्यायाधीश डाँगी र चालक चौधरीको मकवानपुरमै उपचार भइरहे पनि बडु परिवारका सदस्यहरुलाई सेनाको हेलिकप्टरबाट छाउनी अस्पताल ल्याइएको थियो ।बिहान करिब सवा १० बजे छाउनी अस्पताल ल्याइएकोमा चिकित्सकले करिब साढे १० बजे लक्ष्मीलाई मृत घोषणा गरेका थिए ।





































