अमेरिकामा ४ घण्टादेखि हवाई उडान रोकिएन, १५ लाख भन्दा बढी यात्रु प्रभावित
वि.सं.२०८३ कात्तिक २८ शनिवार ११:२७
shares
काठमाडौं । अमेरिकामा हवाई ट्राफिक नियन्त्रण सञ्चार प्रणालीमा आएको खराबीका कारण शुक्रबार पछिल्लो चार घण्टा बढी समयदेखि उडानहरू अस्थायी रूपमा रोकिएको छ ।
अमेरिकाको संघीय उड्डयन प्रशासन (एफएए)ले सुरक्षाको कारणले गर्दा देशभरका विमानस्थलहरूमा उडानहरू रोक्न आदेश दिएको थियो । जसकारण यस अवधिमा ८ हजार भन्दा बढी उडानहरू रद्द गरिएको छ भने यसबाट करिब १५ लाख बढी यात्रुहरू प्रभावित भएका छन् ।अमेरिकी यातायातमन्त्री सीन डफीले सामाजिक सञ्जाल एक्समार्फत सबै एयर रुट ट्राफिक कन्ट्रोल सेन्टरको सञ्चार प्रणालीमा समस्या देखिएपछि एफएएले देशव्यापी उडान रोक्ने निर्णय गरेको जानकारी दिएका छन् ।
उनका अनुसार एफएका प्राविधिक टोलीले समस्या समाधानका लागि काम गरिरहेको छ ।एफएएका अनुसार यो अवरोध अस्थायी दूरसञ्चार प्रणाली विफलताका कारण भएको हो । सावधानीका रूपमा सबै उडान रोकिएको र हवाई क्षेत्रमा रहेका सबै विमानको अवस्था पहिचान गरिएको प्रशासनले जनाएको छ ।अन्तर्राष्ट्रिय उडानलाई भने अवस्थाअनुसार छुट्टाछुट्टै निर्णय गरेर व्यवस्थापन गरिने बताइएको छ ।
अमेरिकाका २२ वटै एयर रुट ट्राफिक कन्ट्रोल सेन्टरमा सञ्चार समस्या देखिएको थियो । ती केन्द्रहरूले आ–आफ्नो क्षेत्रको हवाई यातायात व्यवस्थापन गर्नुका साथै विशेषगरी विमानस्थलतर्फ आइरहेका विमानलाई मार्गनिर्देशन गर्ने जिम्मेवारी सम्हाल्छ ।अमेरिकामा सन् २००१ को सेप्टेम्बर ११ (९/११)को आक्रमणयता यस्तो घटना घटेको यो दोस्रोपटक हो । यसअघि, सन् २०२३ को जनवरीमा एफएएको मुख्य कम्प्युटर प्रणालीमा खराबी आउँदा उडानहरू रोकिएको थियो ।

































