मधेश प्रदेशका मुख्यमन्त्री कृष्णप्रसाद यादवले पदबाट राजीनामा दिए
वि.सं.२०८३ कात्तिक २८ शनिवार १५:०५
shares

जनकपुरधाम । मधेश प्रदेशका मुख्यमन्त्री कृष्णप्रसाद यादवले पदबाट राजीनामा दिएका छन् । विश्वासको मत लिन बोलाइएको प्रदेशसभामा सम्बोधन गर्दै मुख्यमन्त्री यादवले पदबाट राजीनामा दिएका हुन् । बहुमत विश्वासको मत नपाउने भएपछि उनले बाध्य भएर सदनमै राजीनामा घोषणा गरेका हुन् ।
पद भन्दा ठूलो जनताको सेवा र विश्वास रहेकाले पदबाट राजीनामा घोषणा गरेको बताए । उनले विश्वासको मत लिने भएपछि प्रदेशसभा बैठक आह्वान गरिएको थियो ।सत्ता साझेदार दल नेकपा एमाले असोज ३० गते चार मन्त्रीलाई फिर्ता बोलाउँदै सरकारबाट समर्थन फिर्ता लिएपछि ३० दिन भित्रै सदनमा विश्वासको मत परीक्षण गर्नु पर्ने बाध्यता थियो ।
सत्ता साझेदार एमाले पश्चात गत कात्तिक २० गते नेकपाकाले पनि सरकारको साथ छाडेको थियो । त्यसयता मुख्यमन्त्री यादव नेतृत्वको सरकार संकटमा थियो । यद्यपि उनले कानुनी सुविधा भएका कारण तत्काल राजीनामा भने दिएनन् । एक महिना पश्चात उनले विश्वासको मत नपाउने देखेपछि राजीनामा दिएका हुन् ।हाल कायम १०२ सदस्यीय मधेश प्रदेशसभामा विश्वासको मत प्राप्त गर्न उनलाई कम्तीमा ५२ सांसदको समर्थन आवश्यक थियो ।
प्रदेशसभामा जनता समाजवादी पार्टी नेपालका २७, नेकपा (एमाले)का २४, नेपाली कांग्रेसका २२, नेपाली कम्युनिस्ट पार्टीका १५ र जनमत पार्टीका १२ सांसद छन् । त्यस्तै, संघीय समाजवादी पार्टी र राष्ट्रिय प्रजातन्त्र पार्टीका एक–एक सांसद छन् ।गत कात्तिक २० गते जसपा, एमाले र नेकपाको समिकरण बनेको दाबी एमालेले गरेको थियो । जसपा नेपालको नेतृत्वमा सरकार बनाउने तयारी स्वरुप त्यसै दिन नेकपा पनि सरकारबाट बाहिरियो ।
तर, जसपा भित्र पनि मुख्यमन्त्री बन्ने विषयमा कलह रहेका कारण सत्ता समीकरण बन्न सकेको छैन । एमाले र नेकपा भने जसपा नेपालकै नेतृत्वमा सरकार बनाउन लचक छन् ।जनमत पार्टी भने अब बन्ने सरकारमा सहभागी नहुने जनमत अध्यक्ष डा. सिके राउतले घोषणा नै गरिसेका छन् । त्यसैले मधेशमा अन्योलता छ । अब प्रदेश प्रमुखले नयाँ सरकार गठनको लागि संविधानको धारा १६८ को २ बमोजिम दाबी पेश गर्न आह्वान गर्ने छन् ।
































