kumari
stcnepal

राजतन्त्र र हिन्दुवाद फर्काउने दुई मार्ग, तेश्रो मार्ग छैन

राजन कार्की
नेताले चुनाव हारे अर्को चुनाव जित्न सक्छ । नेताले सत्ता गुमाए, चुनाव जितेर सत्तामा पुग्न सक्छ । तर राजतन्त्र समाप्त भएपछि पुनस्र्थापना गर्न दुई मार्गमात्र रहन्छ ।एक– विद्रोह । दोस्रो– जनमत । तेश्रो मार्ग छैन ।राजतन्त्र र हिन्दुवादसँग जनमत छ, जनबल पनि छ तर चुनावबाट आउने हिम्मत गर्दैन । अथवा जुन जनमत छ, त्यो मत गणतन्त्रवादीलाई, धर्मनिरपेक्षता वादीलाई दिने गर्छन् । कोठामा अथवा कहिले कहिलेको सडक भेलामा राजतन्त्र जिन्दावाद, राजा आउ देश बचाउ भन्छन्, साँझ घर फर्केपछि पार्टीवालासँग आन्द्रा जोड्न पुग्छन् । राजतन्त्र र हिन्दुवादीहरू चरम अवसरवादी बनेका छन् । त्यसैले एकता छैन, ५ दर्जनभन्दा बढी समूह छन्, एकढिक्का हुनसक्दैनन् । अर्थात शशरीर, विचारले विभाजित छन्, सबैलाई देखाउनैका लागि राजावादी र हिन्दुवादी नेता बन्नुपरेको छ । तन, मन र धनले कति जना होलान् राजतन्त्र र हिन्दुवादी ? ९४ प्रतिशत ॐकार परिवारलाई पार्टीवाला नेताहरूले ‘फुटाउ र राज गर’ नीति राम्रैसँग उपयोग गरेका छन् ।
राजावादी र हिन्दुवादी विद्रोह गर्न सक्दैनन् ।

न चुनावबाट जनबल लिएर परिवर्तनको शंखघोष गर्न सक्छन् । यो बर्ग पराधीन हुन्, त्यसैले राजाको क्रान्तिकारी सन्देश पढ्छन्, दङ्ग पर्छन् र पार्टीलाई मतदान गर्ने तैयारीमा जुट्छन् । विवेकको यस्तो स्खलन २०६३ सालदेखि निरन्तर जारी छ ।राजतन्त्र र हिन्दुवाद राष्ट्रिय मुद्दा हो । यो मुद्दामा जननिर्णय गराउने साहस, उत्साह र हिम्मत यो बर्गमा छैन । कायरहरूको हालत जेजस्तो हुने हो, यो बर्गको जीवनलीला त्यस्तै छ ।संसारले देखेको हो– मान्छे मारेर, गोली ठोकेर, ढुङ्गामुढा र भ्रमपूर्ण प्रचार गरेर हिन्दुधर्म पनि फालिदिए, राजतन्त्र पनि किनारा लगाइदिए । पन्द्रौवर्षदेखि हिन्दुवादी र राजतन्त्रवादी हिन्दु धर्म र राजतन्त्र चाहियो भनेर ‘दयाको भीख’ माँगिरहेछन् । जसले फाले, दिने भए फाल्थे, फालेपछि किन दिनु ? दिनैपर्ने वाध्यकारी वातावरण बनेको पनि त छैन ।

जहिले जहिले पूर्वराजा निर्मल निवासबाट निस्कन्छन्, देख्नासाथ हामी राजा आउ देश बचाउ भनेर नारा लगाउँछौं । जब राजा निर्मल निवास छिर्छन्, यो आवाज पहाडमा ठक्कर खाएर हराएको प्रतिध्वनीजस्तो भएर सकिन्छ । हामीले यसरी पनि हिन्दुधर्म र राजतन्त्रको पुनस्र्थापना गर्न सकौंला ? कहिले ? फेरि पूर्वराजालाई भारतीय हिन्दु समुदायबाट निम्तो आएको छ, यो तीर्थाटन हो, तीर्थाटन यसअघि पनि दर्जनौंपल्ट भए, त्यसमा एकपल्ट थपिनेछ । पूर्वराजा नववर्षको सन्देश दिएपछि भारत जाने कार्यक्रम रहेछ । हिन्दुराजा हिन्दुधार्मिक मेलामा सहभागी हुनु स्वभाविक हो । यो परम्पराको निर्वाह भइरहेको छ । तर प्रश्न के हो भने राजा भारत जाँदैमा नेपालमा राजतन्त्र आइहाल्ने होइन । भारतले दिने राजतन्त्र नेपालीले खोजेका पनि होइनन् । नेपालीलाई नेपालीले ल्याउने राजतन्त्र र हिन्दुधर्म चाहिन्छ ।
हो, भारतका हिन्दुहरू पूर्वराजालाई विष्णुका अवतार मान्छन्, खुट्टा ढोग्छन्, पाउको धूलोको टीका लगाउँछन् । यो हिन्दुहरूको आस्था हो । भारतका पूर्व प्रधानमन्त्री अटलविहारी बाजपेयीसमेत राजाको खुट्टा ढोग्थे । आस्था र राष्ट्रिय कूटनीति तथा राजनीति अलग अलग विषय हुन् । मोदीजस्ता हिन्दुवादी को छन् ? तर मोदीकै पालमा नेपालका कालापानी भारतको नक्सामा हाले त ? यसकारण राजा तीर्थाटनमा जाँदैमा राजतन्त्र आउने भयो भनेर खुशीयाली मनाउनु आत्मरतीमात्र हो । राजतन्त्र र हिन्दुधर्म चाहिन्छ भने हामी सबै हिन्दुवादी र राजतन्त्रवादी सकडमा निस्कनै पर्छ, निरन्तर रुपमा विद्रोही आवाज निकाल्नैपर्छ । अन्यथा मागेर न हिन्दुधर्म आउँछ, न राजतन्त्र नै ।

संविधान बनाउनुपूर्व ९३ प्रतिशत जनताले हिन्दुधर्म चाहिन्छ भनेर सुझाव दिएका थिए । ती सुझावको पोको यिनले आजसम्म खोलेनन्, संसदको एउटा कोठामा छ । इसाईको दबाबमा धर्मनिरपेक्ष संविधान लेखिदिए । हामी किन बुझ्दैनौं ?पूर्वराष्ट्रध्यक्ष, हिन्दुराजाको भारत भ्रमणले नेपाल–भारत सम्बन्धमा, हिन्दुत्वको जगेर्नामा मद्दत पुग्छ । राजतन्त्र नेपालीलाई चाहिन्छ कि चाहिन्न, यो नेपालीको विषय हो । हिन्दुराष्ट्रको गौरव कायम राख्ने कि नराख्ने यो नेपालीको मुद्दा हो । २०६३ सालमा हिन्दुधर्म फालियो, २०७२ को संविधानमा धर्मनिरपेक्षता लेखियो, ९५ प्रतिशत ॐकार परिवार के हेरिरहेका छन् ? २०६५ साल जेठ १५ गते गणतन्त्र कार्यान्वयन गरियो, राजाले राजदरवार छाडेर नागार्जुनको वनवास गए, राजावादीहरू १५ वर्षसम्म किन बिद्रोह गर्न सकिरहेका छैनन् ? हिन्दुवादी र राजतन्त्रवादी कहाँ लुकेका छौं ? किन मौसमी नारामात्र लगाउँछौं ? विद्रोह अथवा जनमतवाहेक अर्को उपाय छैन पुनस्र्थापना गर्नका लागि, हिन्दु र राजशक्ति किन ती उपाय अपनाइरहेका छैनन् ? राजा भारत गए, चीन गए, सार्कका महासचिवले भेटे, युरोपियन राजदूतहरूले भेट माँगेका छन्, चीन र भारत हजारौं नवराजाहरूलाई मनाउनु भन्दा एउटै राजासँग वार्ता गर्दा सुरक्षाको प्रत्याभूति हुनेरहेछ भन्ने सहमति गरेजस्ता हल्ला पिटाएर राजतन्त्र र हिन्दुराष्ट्रको सपनामा आमनागरिक भुलिरहेका छन् । हामीले आफैलाई नियाल्नुपर्ने यक्ष प्रश्न हो यो ।

परिवर्तनपछि नेता र पार्टीहरूले देश र जनतामाथि अत्याचार गरेकै हुन्, लोकतन्त्रका नाममा अलोकतान्त्रिक चरित्र देखाएकै हुन्, धर्मनिरपेक्षताका नाममा हिन्दुधर्म, अन्य धर्ममाथि अतिक्रमण गरेकै हुन् । विधिमाथिको बलात्कार रोक्न, नीति र निष्ठामा नेतालाई अडाउन, भ्रष्टाचारको अन्त र सुशासनका लागि नेतृत्वलाई बाध्य पार्नका लागि राजा भारत गएर होइन, नागरिकमा सही र गलत छुट्याउने विवेक र विवेकपूर्ण विद्रोहको खाँचो छ । अभिभावकविहीन भयो देश भन्नेले अभिभावक खोज्न उत्तरप्रदेशका योगीले हिन्दुधर्म ल्याइदिन्छन्, दिल्ली र बेइजिङ्ले राजतन्त्र ल्याइदिन्छन् भनेर परजीवी हुनु भनेको नीतिकथामा शोम शर्माको सपना जस्तो । सपनामा बाँच्नेहरूका लागि विपना दुःखदायी, पीडादायी नै हुनेगर्छ ।आसन्न भ्रमणका बेलामा पूर्व राजा र प्रधानमन्त्री मोदीको भेटघाट आचार्य महामण्डलेश्वरमार्फत हुनसक्छ । भारतीय पत्रपत्रिकामा यस्तै प्रचार भइरहेका छन् । भारतमा हिन्दुराजाको भव्य स्वागत हुनेछ । चैत्र ११ गते झापा पुगेका राजा उतैबाट तीर्थाटन जानेछन् । यो शुभ समाचार नै हो । यही समाचारको भरमा नेपालमा हिन्दुराष्ट्र र राजतन्त्र पुनस्र्थापित हुने भयो भन्ने जुन हल्लाखल्ला भइरहेको छ, त्यो मिथ्यो हो ।

जबसम्म नेपाली जनता, हिन्दुवादी र राजतन्त्रवादी सडकमा सुत्न तैयार हुँदैनन्, संसद घेर्न वा चुनावमा यो मुद्दा बोक्नेलाई जिताउन तैयार हुनेछैनन्, तबसम्म कुनै राजनीतिक परिवर्तन हुनैसक्देन । विद्रोह पनि नगर्ने, जनमत र जनबल पनि चुनावबाट आर्जन नगर्ने हो भने यिनै भ्रष्टहरूले भ्रम बेचिरहनेछन्, सिंहदरवारको भ्रष्टाचार गाउँ गाउँसम्म पु¥याइरहनेछन् । जनताले विकासका लागि विकेन्द्रीकरण खोजेका हुन्, भ्रष्टाचारको होइन । नेताले त बुझेनन् बुझेनन्, मताधिकार दिनेले बुझेर किन बुझ पचाइरहेछन्, यो आश्चर्य हो ।

परिवर्तन खोजेको हो भने जनविद्रोह अथवा चुनावमा जनएजेण्डा बोकेकालाई जिताउनु पर्छ । जनता के चाहन्छन् ? वैशाख ३० देखि सुरु हुने स्थानीय, त्यसपछि प्रदेश र संघीय चुनावमा स्पष्ट हुनेछ । यही चुनावले नेपालको राजनीतिक स्थिरता, परिवर्तन, नेतृत्वको छनौट गर्ने हो, पूर्वराजाको कुम्भमेलामा सहभागिताले धर्मको प्रचार हुनेछ, नेपाल भारतबीच जनस्तरको सम्बन्धमा पनि विकास हुनेछ, नेपालमा राजनीतिक परिवर्तन ल्याउने छैन ।सबैलाई स्पष्ट होस्, राजालाई देख्यो कि जयजयकार गर्ने र त्यसपछि कोठापस्ने हिन्दुवादी र राजतन्त्रवादीको पलायनवादी चरित्रले न त राजतन्त्र र न हिन्दुराष्ट्र नै पुनस्र्थापना हुनेछ ।राम्रो खेतीपाति, उब्जाउ गर्न बेलैमा बीउ छर्नुपर्छ, गोडमेल गर्नुपर्छ, घामपानी मिलाउनुपर्छ । तबमात्र असारे धान मंसिरमा भित्र्याउन पाइन्छ । राजाका सामु राजा आउ, हिन्दुधर्म चाहियो भनेर क्षणिक नाराबाजी गरेर राजतन्त्र र हिन्दुराष्ट्र आउनेवाला छैन । चेतना भया ।

footer