पुरानालाई गाली गरेर, प्रतिषोध साधेर नयाँ पुस्ता गनाउँछ मात्र ?
वि.सं.२०८३ वैशाख २४ बिहीवार १०:४९
shares

परजीवी अर्थतन्त्र बोकेर लोकतन्त्र अजम्मरी बन्न सक्दैन । स्वाधीन देश र स्वतन्त्र अर्थतन्त्रको जग हाल्ने हो भने बन्द भएर मरेका उद्योगधन्दामा प्राण हालौं, नयाँ उद्योगधन्दा चलाउन सुविधा दिउँ । कर ठगीमाथि नियन्त्रण त हुनैपर्छ, नयाँ उद्योग स्थापना गर्नेलाई १० वर्षे कर छुट दिउँ । पुराना उद्योगधन्दा चलाउँदा आत्मनिर्भरता हुनजान्छ, जसले गर्दा रोजगारीको बृद्धिमात्र होइन, स्वाभिमान पनि उँचो हुन्छ ।
कपास खेती छ, कपडा उद्योग छ । स्कूल, कलेज, कर्मचारी, सेना, प्रहरी जता पनि युनिफर्म आवश्यक छ । टायर कारखाना छ, व्यक्ति र राज्यका सवारी साधन कति छन् कति, रवर उत्पादन हुनसक्ने सम्भाव्यता पनि छन् ।
लोकतन्त्र आउनुपूर्वसम्म बालाजु यन्त्रशालाले निर्माण गरेका जलविद्युत् टर्बाइनहरूको वैदेशिक माग थियो । नेपालमै जलविद्युतको प्रचूर सम्भाबना छ । जुत्ता कारखाना, कागज कारखाना, चुरोट, चिनी, औजार सबै कारखाना बन्द गरेर आयातमुखी भएका छौं । कृषि प्रधान देशमा अरौं, अरवको खाद्यान्न आयात हुन्छ । ९४ प्रतिशत ॐकार परिवार छन्, तिनले लगाउने जनैसुपारी, जे पनि आयात हुन्छ । नेपालका काठ कुहिएर माटो हुँदैछन्, भारतमा रातारात तस्करी भइरहेका छन्, नेपालमा मलेसियाबाट काठ आयात गरिन्छ । पर्यटनको आधार हिमाल, प्रकृति, वन्यजन्तु, धर्म, संस्कार, सम्पदा, संस्कृति सबै नष्ट गरिरहेका छौं । पश्चिमा सभ्यताले नेपालपन ढाक्दै गएको छ ।
नयाँ पुस्ता आयो । पुरानालाई गाली गरेर, प्रतिषोध साधेर नयाँ पुस्ता गनाउँछ मात्र । निराशा थियो, आशा जगाएको नयाँ पुस्ताले हो, आशा देखेको आमनागरिकले हो । त्यो आशा उजिल्याउने स्वराज, स्वावलम्बनको उत्खनन् गरेर हो । त्यसका लागि भएका तर बन्द रहेका उद्योग चलाइहालौ । नयाँ उद्यमलाई सुविधा र सुरक्षा दिएर आकर्षित गरिहालौं । उद्योगको जग नबसी रेमिटान्स अर्थतन्त्रले धान्दैन, अघि बढ्न सकिन्न । रेमिान्सले अर्थतन्त्र बलियो हुने भए लामो समय कोरिया रेमिट्यान्समा चल्यो, विकास भएन । त्यसपछि कोरियाले आत्मनिर्भरतामा बल दियो, उद्यम व्यवसायलाई महत्व दियो । त्यही कोरियामा नेपालका सवालाख युवा रोजगारीमा छन् । तिनले सिकेको सिपले देशमा कायकल्प गराउन सक्छ । विदेशमा भएको ८० लाखभन्दा बढी युवाहरुले अनेक सिप सिकेका छन् । तिनलाई देशमा आकर्षित गर्न सकियो भने अहिले आएको नयाँ पुस्ताले आत्मनिर्भरतामा बेग हान्न सक्छ । त्यो बेग रोकिनु हुन्न ।
नयाँ पुस्ताको सरकारका सामु कुनै अल्झन छैन । ५ वर्षका लागि जनादेश मिलेको छ । त्यो जनादेशको भरपुर लाभ उठाउन सक्ने हो भने नयाँ पुस्तामा जुन जनविश्वास देखियो, त्यो सार्थक हुनसक्छ ।
निराशा यथावत राख्ने छुट नयाँ पुस्तालाई छैन ।
हुनसम्मको विध्वंश भयो । हुनै नहुने नरसंहार पनि भयो । अव सिर्जना हुनुपर्छ । जीर्णतामा देश अडिन सक्दैन । जनयुद्ध, जनक्रान्ति सकियो । विद्रोह र आन्दोलन पनि सकियो । अब औद्योगिक क्रान्ति हुनुपर्छ । जसले प्रत्येक नेपालीको नाना, खाना र छानाको बन्दोबस्त गर्नसक्छ । सुकुम्वासी र हुकुमवासीको गफ होइन, सबैलाई व्यवस्थापन गर्ने निर्णय तत्काल हुनुपर्छ । २०४६ सालदेखि जे भयो, त्यो कालरात्रि फारिनुपर्छ । शुभ दिन सुरु हुनुपर्छ । जनताको पक्षमा, राष्ट्रको पक्षमा भएका कुनै पनि निर्णयमा नेपाल एकहुनुपर्छ । यसका लागि सत्तारुढा दलले सबै राजनीतिक शक्तिहरुसँग संवाद, सहमति र सहकाय गर्नुपर्छ । जसले यो काममा बाधा हाल्नेछ, त्यसलाई जनताले नै किनारा लगाउनेछन् ।
यो समय राजनीतिक स्थिरता, समृद्धि, शान्ति, सुशासन र विकास गर्ने समय हो ।
राजनीति मृत थियो, ब्यूँझियो । जनता मौन थिए, बिद्रोह गरे । अर्थतन्त्र मृत छ, जगाउनु पर्छ । युद्धले थिलथिलो भएका कैयौं मुलुक सम्पन्नतामा उक्लिएका छन् । गरे के हुँदैन । विश्वभरि फैलिएर नेपालीले शान्तिदेखि निर्माणसम्म गरेका छन् । तिनै नेपाली हातले अवसर पायो भने आफ्नै जन्मभूमि नबनाउने कारण के छ र ? यहाँ त प्रत्येक युवामा रानीतिले गरिखान दिएन, गरिखानै पाइदैन, अवसर दिएन, विभेद र निषेधको नीति छ, योग्यताको कदर छैन, आफन्तवादले सिध्यायो देश भन्ने भाष्य स्थापित छ । त्यो भाष्य बदल्ने नयाँ पुस्ताको सरकारले हो ।
सरकारले विज्ञ, विशेषज्ञहरुसँग अब के के गर्ने भनेर सुझाव लिँनु उचित हुनेछ । हुन त जनतासँग गरेको करार र बाचापत्र छन् । ती करार र बाचापत्रमा थप सुझाव लिएर अघि बढ्दा सरकार सानो हुँदैन । सरकारको सम्मान नै बढ्नेछ । अनेक काविलियत भएकाहरु राजनीतिक हाहा हुहुबाट परै चूपचाप बसेका छन् । तिनको खोजी गरेर सरकारले देशहित, जनहितमा प्रयोग गर्ने क्षमता देखाउनुपर्छ । जसरी राजा महेन्द्रले देशविदेश, अमेरिका–दार्जीलिङदेखि योग्य व्यक्तिहरु खोजी खोजी देशको भाषा, साहित्य, अर्थतन्त्र, राजनीति, संस्कृति, सम्पदा विकासमा लगाएका थिए । देश बनाउने सोच चाहिन्छ, उत्साह र जाँगर भए देश निर्माणले गति लिनसक्छ ।
स्मरणीय छ, कोरिया, सिंगापुर र भियतनामको मोडल नेपालले सिक्नसक्छ । भोकमरी, गरिबी, हिंसा र अराजकतालाई ती मुलुकले परास्त गर्न सफल भए । राज्यले पूर्वाधारमा सघाउने, निजी क्षेत्रलाई व्यवस्थापन, सञ्चालन गर्न दिने हो भने ती मोडलले नेपालमै गरिखान पाइन्छ भन्ने वातावरण बनाउन सक्छ ।
नरसंहारले ध्वस्त र असफल मुलुक थियो रुवाण्डा । बिस्तारै औद्योगिक क्रान्ति थाल्यो । चिया र कफीलाई ब्राण्डिङ गरेर रुवाण्डा सुशासनयुक्त मुलुक बन्न सकेको छ । यो मोडल नेपालका लागि अझ उपयोगी हुनेछ किनकि नेपालमा कृषिको प्रचूर सम्भाबना छ ।
विभिन्न कारणले विश्वशक्ति नै नेपालप्रति आकर्षित छन् । नेपालका लागि क्षमता प्रदर्शन गर्नसके भूराजनीतिक यो खेल अवसर पनि हुनेछ । सबैले नेपाललाई सघाउन तैयार छन्, सघाउ लिने र उपयोग गर्ने नेपालको कुशल कूटनीतिको आवश्यकता छ ।
पानी र विद्युतको नेपाल भण्डार नै हो । प्रकृति र सगरमाथा, बुद्ध र वन्यजन्तु, सम्पदा र संस्कृति त विश्वको आकर्षण नै हो । जडिबुटीको त भण्डार नै हो नेपाल । यत्ति उपयोग गर्न सक्ने हो भने नेपालमा न रोजागारीको खाँचो हुनेछ, न आर्थिक संकट नै । अर्थतन्त्रको विकासमा त गजबैको तरङ्ग उठ्न सक्छ । खाका सार्वजनिक हुनुपर्छ, नेपाली एकता चाहिन्छ, इच्छाशक्ति प्रदर्शन भयो भने नेपाल विश्वकै पर्यटन केन्द्र बन्नसक्छ । उद्यमले छलाङ् हान्नेछ ।
नदी छन्, हाइड्रोजन उत्पादन गर्न सकिन्छ । पहाड छन्, सिमेन्टको हब बन्नसक्छ । युरेनियमको त खानी नै छ । मात्र राजनीतिमा सत्तास्वार्थ छ । देश बनाउने हुटहुटी छैन । नेपाल हरेक दृष्टिले धनी छ तर नेपालीलाई राजनीतिले गरीब बनाएको छ । नेपाल कसरी बनाउने भन्ने विषयमा राष्ट्रिय बहस गरेर राष्ट्रिय एकताका साथ ब्लूप्रिन्ट निकाल्ने र काम थाल्ने हो भने नयाँ पुस्ताले आउने पुस्तालाई सम्पन्न नेपाल सुम्पन सक्नेछन् ।
एकपल्टको नेपाली, सधैंको नेपाली । नेपाल फस्ट । नयाँ पुस्ताको सरकारको नीति हो । यही नीतिअनुसार विदेशमा रहे बसेका नेपालीको सिप र धन नेपालमा लगानी गर्न आकर्षित गर्नुपर्छ । विदेश बनाउनेले नेपाल बनाउन सक्छन् । तिनको सिप नेपालका लागि सञ्जिवनी नै हुनसक्छ । लुटलाट, चाटचुटमा ध्यान पु¥याउने र उद्योग व्यवसायमा सुविधा दिने हो भने नेपाल आत्मनिर्भरतातिर लाग्ने पाँच वर्ष नै काफी हुनेछ । जब सिस्टम बस्छ, त्यसपछि जुनसुकै पार्टीको सरकार आए पनि फरक पर्दैन ।
पाँच पाँच वर्षमा सरकार आउँछ जान्छ । नीति, नैतिकता, आचरण र निष्ठालाई अटल बनाउन सकियो भने हरेक पार्टी यही लक्ष्मण रेखाबाट बाँधिनेछन् । त्यसपछि राजनीति आफ्नो तरिकाले चलिरहन्छ, युवाले देशमा गरिखान पाइएन भन्नुपर्ने छैन । नेपाल अहिलेजस्तो परजीवी पनि हुनेछैन ।


































