सरकारले अपवादका लागि पाएको सुविधालाई दुरुपयोग गर्दै जब नियमित बनाइन्छ त्यसले कति सम्म...

पुरा पढ्नुहाेस्

linktrix Long Ad
Salt Trading Long Ad

नेपालमा चीन र भारतको दबदबा किन सहने ?

455
shares
  • राजन कार्की

चिनिया राजदूत हाउ यान्छीको सक्रियता बढेको छ । यता भारत ओली सरकार ढाल्छु ढाल्छु भनेर लागेको छ । नेपालको सत्तामा भारत र चीनको दादागिरी, यो त अति भयो । नेपालको आन्तरिक मामिलामा भारत र चीनको हस्तक्षेप, नेपाली राजनीतिज्ञहरु दुबै मुलुकको आदेश पालकजस्तो बनेर आँखा चिम्लेर उनीहरुको अभियानमा लागेका छन् ।

नेपालको आवश्यकता के हो ? नेपालले के गर्नुपर्छ ? यसबारेमा राजनीतिक बहस नै हुन्न । बस सत्ताधारीभित्र ओली फालेर अर्को गुट आउनु छ, विपक्षी विदेशी चलखेलमा मौन समर्थन जनाइरहेको छ । नेपाल कहाँ छ, नेपालको नीति के हो ? जनादेशमाथि विदेश आदेशको दबदबाले नेपाल दुर्भाग्यको कृष्णभीरतिर उन्मुख छ ।

लोकतन्त्र सुन्तला खेती होइन रहेछ, सिस्नो रोपेको कसरी सुन्तला फलोस् । लोकतन्त्रे सिस्नोघारीले देशलाई, देशवासीलाई भतभती पोल्न थालेको छ । सिस्नो पानीले देश र जनता घाइते हुनथालेका छन् । एमाले र माओवादीको एकीकरण– नेकपा । कोदो रोप्दा लाएको पिरती छुट्यो तोरी फुल्ने बेलामा भन्ने उखान बन्नपुगेको छ यो एकता । मानसिक रुपमा पिरती दही फाटेजस्तो फाट्न पुगेको छ । टिकाउ भएन पिरती । आधुनिक समाजमा लिभिङ टुगेदर भएर बस्ने चलन छ । न बच्चा, न स्थायी घरजम ? जवानीको जोश मैनबत्ती पग्लेजसरी पग्लनेरहेछ, लिभिङ् टुगेदरमा । एमाले र एमाओवादीको ‘नेकपा’ ‘लिभिङ टुगेदर’ जात्राको दोहोरी, छाडा रत्यौलीमै सकियो ।

भारतले सरकार गिराउन खोजेको छ, भारतमा प्रचार र नेपालमा होटल होटलमा सरकारविरोधी मिटिङ्, शैली ठ्याक्कै कसरी मिल्यो ? प्रम केपी ओलीको प्रश्नमा अर्का अध्यक्ष प्रचण्डले छाती ठोकेर जवाफ दिए– भारतले होइन, तपाईको राजीनामा मैले माँगेको हुँ । प्रचण्डको हाँमा हाँ मिलाए– वामदेव गौतम, झलनाथ खनाल, माधवकुमार नेपालले । प्रधानमन्त्रीकै निर्देशनमा नेकपा एमाले दल दर्ता भएको प्रमाण मसँग छ, कुर्सी जोगाउन नेकपा एमाले नयाँ दल दर्ताको क्षेप्यास्त्र हान्ने ? यसरी वामदेवले मुड्की कसेपछि झलनाथ खनालले थपे– प्रधानमन्त्री ओली तानाशाह बने । चुनावमा उठ्दिन भन्नुहुन्छ, जिते पो उठ्नु । ओह्रालो लागेको मृगलाई लखेट्ने यही मौका हो भनेर माधवकुमार नेपालले दनक दिए– दम्भ, अहंकार र अरुलाई दास बनाउने प्रवृत्ति रहेको छ, त्यसले नै समस्या भएको हो । नयाँ मुसलमानले प्याज धेरै खान्छ भनेझैं रघुजी पन्त पनि कुर्लिए– पार्टी र सरकार चलाउन नसक्नेले दुवै पदबाट राजीनामा दिनुपर्छ । ओली अरिङ्गला र छौँडाको कुरा गर्ने, टोक्ने ओली इतरका नेकपाका नेताहरु ।

मैले भारतसँग आँखामा आँखा जुधाएर कुरा गरेँ, त्यो हिम्मत अरु कोसँग छ ? भन्ने प्रधानमन्त्री ओलीको प्रश्नमा ढोले गाउँ नै उल्टेजसरी प्रचण्ड कित्ताका स्थायी समिति सदस्यहरुले चर्को रुपमा आवाज उठाए– प्रम ओलीबाहेक नेपालमा अरु कोही पनि देशभक्त छैनन् भनेर, भारतले सरकार ढाल्न खोजेको अभिव्यक्ति दिएर नेपाली जनताको अपमान गर्न पाइन्न । राजीनामा दिनुपर्छ । ओली सरकार असफल भएकै हो, उल्टोबाटो समातेको पनि हो, राज्यलूट बढाएको हो, अपराधी काखी च्यापेको पनि हो । जनता निराश छन्, जनताले नेकपालाई विश्वास गर्न छाडेका पनि हुन् । यति हुँदा पनि देशभक्ति जगाएको त हो नि । फाल्नै पर्ने भए गाईजात्रा किन देखाउनु, संसदीय दलबाटै ओलीलाई हटाइदिए भइहाल्यो नि । नेकपाको छाडा राजनीति महाभारतजस्तै चर्किदैछ ।

प्रधानमन्त्री ओलीले म राजीनामा दिन्छु, प्रचण्ड, झलनाथ, माधव नेपाल कोही पनि प्रधानमन्त्री नबनौं, युवा पुस्तालाई नेतृत्व हस्तान्तरण गरौं भन्दा कसैले मानेनन् । थोत्रो पुस्ता बिदा गर्न नेकपाका युवापुस्ता जुर्मुराउन पनि सकेनन् । गजब गर्न सत्ताका पुराना गँजडीहरु पटक्कै मान्दैनन् । यति भएपछि कुरा बुझिएन र ? लोकको काम चुनावमा भोट हाल्ने, अव राम राम भनेर तमासा हेर्नेमा सिमित भयो । नेकपाभित्र युवाहरु उठेनन् । बुढो गोरुले दाइँ गर्ने नाटक जारी छ ।

खराव शासन सहने कि भारतको अतिक्रमण, भारतको इसारामा चल्ने कि केपी ओलीको समर्थनमा उभिने, ५ वर्षका लागि स्थिर शासन गर्ने जनादेश पाएको नेकपाले गाईजात्रा देखायो । महाधिवेशनबाट निर्वाचित अध्यक्षबाट समेत राजीनामा माँग्दैछन् प्रचण्ड कित्ता । त्यो हैसियत कताबाट आयो होला ? संशय बाक्लैछ ।

राजतन्त्रकालमा जनयुद्धका नाम र चाइनिज मुखुण्डो लगाएर भारतीय दाह्रा नङ्ग्रा नेपाल पसेको थियो, सीमा अतिक्रमणदेखि प्रधानमन्त्री फेर्ने अभियानमा पनि चाइनिज खोलमा भारतीय एजेण्डा पसिसकेको छ । त्यही एजेण्डाका नाइके भारत भनेको मै हुँ भनेर उफ्रन थालेको छ । सत्य खुला छ र दिल्ली प्रधानमन्त्री फेर्न टुँडिखेलमै उत्रिएको देखिन्छ । योभन्दा ठूलो राजनीतिक बेश्यागिरी के हुन्छ ?

ओली सरकारले ओम्नी समूहसँग मिलेर भ्रष्टाचार गरेर देखायो । नेपाली सेनालाई समेत बदनाम ग¥यो । पूर्वराजाका सम्पत्ति कौडीका दाममा यति समूहलाई दियो । संवैधानिक पदहरु व्यभिचारमा बेच्यो । हत्या, हिंसा, बलात्कार, भ्रष्टाचार, तस्करीमा कारवाही नै नहुने वातावरण सिर्जना गरेर अराजकतालाई उत्साहित पारिदियो । हाच्छिउँ गरेर, बेसारपानी खाएर, अमेरिकी गीत बजाएर कोरोना र सलह भगाउने हावादारी कुरा ग¥यो । त्यसो त २०५२ सालतिर माधवकुमार नेपाल सेटेलाइटबाट महाकालीको विजुली निर्यात गर्ने कुरा गर्थे, पश्चिमबाट सूर्य उदाउँछ भन्ने केपी ओली प्रधानमन्त्री भएपछि चुलो चुलोमा ग्याँसका पाइप जोड्ने, पानीजहाज चलाउने, हावाबाट बिजुली निकाल्ने, विजुली बस चलाउने भाषण गरेर निकै हँसाएका हुन् । नेकपा हाँसो बन्यो ।

संसदमा एण्टी कोरोना कार्ड भनेर एउटी सांसदकै छोराले सबै सांसदको घाँटीमा निलो कार्ड झुण्ड्याइदियो र मजाले कमायो । अर्का ठेकेदारले प्रधानमन्त्री निवासमा हुने नेकपाको बैठकमा सहभागीलाई निलो जुत्ता अनिवार्य गराएर कमायो । मन्त्रीले स्वास्थ्य सामग्री खरिदमा सेटिङ मिलाएर कमाए । राष्ट्रपति तीजमा राष्ट्रपति निवासमै नाचगान, भोजभत्तेर गर्ने, प्रधानमन्त्री सरकारी निवासलाई पार्टी बैठक र बंश भेला गराएर मजा लिने । नेकपा कथैकथा बनेको छ ।

अमेरिकी सहयोग एमसीसी संसदमा छ, प्रधानमन्त्री र विपक्षी पास गर्नुपर्छ भन्छन्, ओलीविरोधी नेकपा यथास्थितिमा पास हुन्न भन्छन् । प्रस्ताव न रोक्न सक्छन्, न बोक्न ? अमेरिका ओलीतिर छ, चीन प्रचण्डतिर । चीनलाई रोक्नुछ, भारतलाई ओली फेर्नुछ, अमेरिकालाई पास गराउनु छ । चुरो कुरो तिब्बत हो, कालापानी हो, नेपाली भूमिको दुरुपयोग हो । नेपाली जनता मतदान गरेर सरकार बनाउने, फाल्ने कि राख्ने विदेशीले खेल्ने ? राजनीतिभित्र ज्वारभाटा उठ्दैछ ।

प्रधानमन्त्री दिनमै दुईपल्टसम्म राष्ट्रपति भेटिरहेका छन् । राष्ट्रपतिले पार्टी अध्यक्ष प्रचण्डको फोनसमेत उठाउन छाडेको चर्चा बाक्लै छ । आखिर प्रधानमन्त्री ओली र उनका पक्षधर मानिनु भएकी राष्ट्रपति विद्यादेवी भण्डारीवीच के खिचडी पाकिरहेको छ ? कतै मध्यावधि चुनाव त होइन ?

दामरेड भइसकेका, सर्वहारा कमरेडहरु एकदोस्राप्रति किन पाखुरा सुर्कासुर्की चर्कै रुपमा गरिरहेछन् । कानेखुशी संवादले नै सल्टिने झगडालाई बेइजिङ, दिल्लीदेखि वाशिङ्टनसम्म देखाउनै पर्ने बाध्यता बुझिनसक्नुको छ ।

वर्षा लागिसक्यो । बाढीपहिरोमा सीमाक्षेत्र डुबानमा परेका छन्, दुःख जनतालाई छ । कोरोनासँग कसरी भिड्ने, बिधिको शासन कायम गर्न र भ्रष्टाचार निर्मूल पार्ने विषयमा छलफल गर्न छाडेर प्रधानमन्त्री फेर्ने खेलो ? लोकको, सीमाको भन्दा सत्ताको चिन्ता धेरै देखियो ।

मन्त्री पनि कस्ता कस्ता ? अर्थमन्त्री अघिल्लो दिन स्वदेशमै रोजगारी सिर्जना गरिन्छ भन्दै थिए, २ जना मेनपावरवालाले के भेटे, भोलिपल्टै वैदेशिक रोजगारीमा जान प्रोत्साहित गरिन्छ, रेमिटेन्स घट्दैन पो भन्छन् । कृषकको तरकारी खेतमै कुहियो, भारतबाट ६ अर्वको तरकारी आयो । सडकमा हुँदा यो कम्युनिष्ट सरकार नै होइन भन्दै थिए, कृषिमन्त्री बन्नासाथ कृषि क्रान्ति पो बगार्न थालेका छन् । अरु मन्त्री पनि गजबका छन् । सरकार असफल भयो भनेर राजीनामा माँग्न थालेपछि अधिकांश मन्त्री असफलताको जिम्मेवारी प्रधानमन्त्रीको थाप्लोमा हालेर चोखो बन्दै पार्टीभित्रका प्रतिपक्षीसँग कुम जोड्न पुगेका छन् । कमरेडका लागि सत्ता ठूलो रहेछ, नैतिकता स्यालको सिङ भयो ।

नेपाली कम्युनिष्ट आन्दोलनका भीष्मपितामह मानिने मोहनविक्रम सिंहको ताजा निष्कर्ष छ– भारतको चाहना केपी ओलीको वहिर्गमन र लम्पसरबादी सरकारको आगमन हो ।

कठै लोकतन्त्र ? हुन त सत्ताको माद चढेर भ्रष्टाचार र नालायकीमा डुबेको ओलीसरकार घुँडा टेक्ने स्थितिमा पुगिसकेको छ । तैपनि रस्सी जल गई बल नही गया उखान बनेका छन् ओली । यो सातिर खेलाडी प्रचण्डको रणनीतिको कारण सम्भव भएको हो । कसैलाई प्रचण्ड मन नपर्नसक्छ, तर प्रचण्ड ०६३ सालदेखि राजनीतिको किङपिन बनेका हुन् । ओलीको साँढे दुईवर्षे कार्यकालमा प्रचण्डलाई थचार्न सफल भएका ओलीलाई अहिले प्रचण्डले पाखामा बजार्न खोजिरहेका छन् । जनयुद्ध बुझ्नेहरु, प्रचण्डका परिवारवाद र नियतमा खोट देख्नेहरु नैतिकताको प्रश्न उठाउलान् तर नेपालीलाई बिर्सने रोग छ, प्रचण्ड फेरि नायक नै बनेका छन् । ओलीले जनताको अपेक्षा पूरा गरेनन्, अव आउने पनि उही ¥यापिड टेस्टेड अविश्वसनीय नै हुन्, तिनले बोक्ने विदेशीकै एजेण्डा न हो ।

नेकपाले पक्ष विपक्ष, देशी विदेशी सबै प्रतिनिधित्व गरिरहेका छन्, कांग्रेस मजाले सुते हुन्छ । नङ्गानाच जारीछ । नेकपामा महाभारत युद्ध सुरु भएपछि पूर्व माओवादी डा.बाबुराम भट्टराई पनि बोल्न चुकेनन् । उनले दुईटुक बोलेका छन्– प्रधानमन्त्री फेर्ने षडयन्त्रमा लागेका राजदूतलाई देश निकाला किन नगरेको ? बुढापाका भन्थे– थुतुनो र मुतुनो बचाउनु । भारत सरकार ढाल्न लागेको अभिव्यक्ति प्रम ओलीलाई निकै महँगो भयो । पहिला नेकपाको कलह अनि भारतबाट पस्यो सलह । यो सलहले केके सिध्याउने हो, खतरा बढ्यो ।

डा.बाबुरामले ओलीलाई अरुलाई शत्रु मान्छन्, दास बनाउने अहंकार पाल्छन् भनेका थिए, प्रचण्ड, माधव, झलनाथ, बामदेव र नारायणकाजीले पनि ठ्याक्कै त्यस्तै प्रतिक्रिया दिएका छन् । प्रश्न छ, छिमेकी रुष्ट भएका बेलामा सरकारको नेतृत्व फेर्नुले फेर्नेहरु नै कलंकित हुनेछन् । केपी ओलीको पद खुस्किदा १०–२० जनालाई समस्या होला, देशको एकता कमजोर हुनसक्छ । त्यसै पनि भारत लेआजकल नेपाललाई चीनका नयाँ गुलाम भनिरहेको छ । नेपाल न कसैको गुलाम हो, न चाकडीदार । त्यसो हो भने भारत अमेरिका र रुसको गुलाम हो कि होइन ? गल्ती प्रम ओलीको पनि छ, उनले भ्रष्टको पक्षमा उखान नहालेको भए, अपराधीलाई संरक्षण नगरेको भए, तस्कर नच्यापेको भए, संवैधानिक पदहरु बिक्री नगरेको भए, यति र ओम्नीजस्ता भ्रष्टहरुसँग आशक्ति नदेखाएको भए, जहाज काण्ड नगरेको भए, अध्यादेशमार्फत अधिनायकी नदेखाएको भए, कसैले उनीमाथि औंलो उठाउन सक्थे ? विवेक र इमान ओलीले गुमाए, ओ्ली फेर्नुपर्छ भन्नेहरुले पनि विवेक गुमाउन थालेका छन् । प्रचण्ड, माधव, भलनाथ अथवा शेरबहादुरमात्र कहाँ सफल हुन् र ? नेपाली एक कम्युनिष्टको नजरमा अर्को कम्युनिष्ट दलाल, आत्मसमर्पणवादी र संशोधनवादी नै हो । अव बन्ने अर्को गुटले पनि के नै लछारपाटो लगाउला र ?

राष्ट्रपतिलाई १७ करोडका गाडी, अर्वौंको हेलिकोप्टर, २ करोडको कार्पेट, स्वीमिङपुल, हेल्थ क्लव, मन्त्रीहरुलाई पनि यस्तै सुविधा हेर्दा लाग्छ, राष्ट्रिय ढुकुटीमा लखनौ लूट चलिरहेको छ । कोरानासँग लड्न व्यापक परीक्षण गर्न गराउन र राहत दिन नसक्ने सरकार र सांसदहरुमा सेवाभाव पटक्कै देखिन्न । सिमान्तकृत, दलित, विपन्न बर्गमाथि अत्याचार बढेको छ, त्यता कसैको ध्यान छैन । बरु उद्धारका नाममा समेत कमिशनको खेलो चलिरहेको छ । धनुषाका १६ वर्षे किशोर उपचार नपाएर छटपटिएर मर्नुप¥यो, कसैले लज्जाबोधसम्म गरेनन् । कोरोनाभन्दा डरलाग्दो बनेको छ लोकतन्त्र । रेमिटान्स पठाउने युवाहरु विदेशमा असरल्ल छन् । प्रतिदिन ७ भन्दा बढी शवहरु आइरहेका छन् । यो दुर्भाग्यको बहीखाता कसले राख्ने, कहिले खुल्ने ?

३ ओटा नागरिकता बोक्ने गोपाल पराजुली प्रधानन्यायाधीश, ल्हारक्याल लामा अर्थ राज्यमन्त्री हुने देशमा नागरिकताको विवाद चरमचुलीमा छ । पार्टीका महासचिवदेखि पूर्वप्रधानमन्त्रीहरु बालुवाटारकै जग्गा कमिशन खाने, कानुन नलाग्ने, यत्रतत्र सर्वत्र भ्रष्टाचार र व्यभिचार । जर्ज अर्वेलले भनेजस्तो एनिमल आर इक्वेल, बट सम एनिमल आर मोर इक्वेल । कस्तो बेसारे राजनीति चल्यो नि ?

sapta chakra spa
below next and prev inner page
below international hompage
below entertainmnet insurance
napali patro below sports