झकिदे गाँडभन्दा थपिदे गाँडजस्तो नहोस्
वि.सं.२०८३ वैशाख १० बिहीवार १२:२९
shares

जेनजी पुस्ताले परिवर्तन खोजे, जनताले परिवर्तन रोजे । जनताले खोजेको परिवर्तन आएको छ, यो परिवर्तन झिकिदे गाँडभन्दा थपिदे गाँडजस्तो नहोस् । अनुभव नहोला, कमजोरी देखिएला, समयले परिपक्व बन्ने अवसर दिएकै छ । अब पनि केटाकेटी आए–गुलेली खेलाए गए, मट्याङ्ग्राको सत्यानास भन्ने उखान जस्तो परिस्थिति आयो भने नेपालको अस्तित्व कसैले पनि बचाउन सक्नेछैन । नेपाल र नेपालीत्व बचाउने भार जेनजी पुस्ताले बोक्न खोजे, जनताले बोकाइदिए । जेनजी पुस्ताका सामु कि गर, कि मर ? को बाध्यकारी राजनीतिक परिस्थितिको सिर्जना भएको छ ।
पञ्चायत फालेर शान्ति, समृद्धि, सुशासन, समानता आउँछ, अँध्यारो हट्छ, झलमल्ल उज्यालो हुन्छ भन्ने नेताहरुको आश्वासनमा विश्वास गरेर ०४६ सालमा बहुदल ल्याइयो । केही प्राप्त भएन । बोल्ने हक पाइयो, खुब बोलियो, कतै सुनवाई भएन । काग कराउँदैछ, पिना सुक्दैछ भन्ने उखान चरितार्थ भयो ।
जनयुद्धकारी र प्रजातन्त्रवादीले हातमा हात मिलाए, काँधमा काँध मिलाएर भने समस्याको जड राजतन्त्र हो । राजतन्त्र फालेपछि शान्ति, समृद्धि, सुशासन, समानता सबै आउँछ भनेर फेरि गुलछर्रा उडाइयो । २०६५ सालमा राजतन्त्र फालियो, ८ वर्ष लगाएर लोकतान्त्रिक गणतान्त्रिक संविधान जारी गरियो । ०७४ र ०७९ मा दुईपल्ट आवधिक चुनाव भयो । दुबै चुनावले न शान्ति दियो, न समृद्धि ल्यायो, सुशासनको नाममा भ्रष्टाचार बढ्यो, समानताको नाममा बिभेद, निषेध र प्रतिषोध साधियो । जसले संविधान लेखे, संविधान जारी गरे, संविधानअनुसार धर्मनिरपेक्षता, संघीयता लागू गरे, तिनैले संविधान असफल पारिदिए ।
परिणाम, २०८२ भदौ २३ र २४ गते जेनजी पुस्ताले बिद्रोह गर्नुप¥यो । जेनजी जब सडकमा निस्किए लोकतान्त्रिक गणतन्त्रको सरकारले नरसंहार मच्चायो, बालबालिकाको रगत पियो । अझै अस्पतालहरुमा २९ जनाको शव छ, ती सव कसको हो, कहाँका लालाबाला हुन् ती पत्ता लगाउन सकिएको छै्रन । ७६ भन्दा बढीको ज्यान र सयौंको अंगभंगपछि असफल संविधान ढल्यो, असफल नेताहरु भागेर लुक्न बाध्य भए । जेनजी विद्रोहको कारणले बनेको अन्तरिम सरकारले फागुन २१ को चुनाव गरायो, चुनावमा जनताले मौन, मतपत्र बिद्रोह गरे, पुराना नेता र दलहरु सफाचट भए । जेनजी पुस्ताका एक से एक युवाहरुले चुनाव जितेर बालेन नेतृत्वमा सरकार बनाएका छन् ।
बालेन साहले नेपोटिजममा शिर झुकाएका मन्त्री दीपक साहलाई १३ दिनमा हटाइदिए । गृहमन्त्री सुधन गुरुङमाथि सम्पत्ति लुकाएको र भ्रष्टहरुसँग जोडिएको आरोपमा प्रतिपक्षीले प्रश्न उठाएपछि २६ दिनमै हटाइदिएका छन् । मेयर हुँदा वा प्रधानमन्त्रीमा पुग्दा बालेन साह कुनै पनि भ्रष्टाचारको मुद्दामा मुछिएका छैनन् । कम बोल्ने वा बोल्दै नबोली काममात्र गर्ने कारणले नै बालेन साह विश्वका प्रभावशाली नेताहरुको सूचीमा दर्ज भएका छन् । अब महिनाको एक दिन एक घण्टा प्रधानमन्त्रीसँग सांसदले प्रश्न सोध्न सक्ने र संसदमा प्रम बालेन साहले जवाफ दिनुपर्ने नीति तय गरिएको छ । अब भने महिनाको एकदिन प्रम बालेन साह बोलेको सुन्न पाइने भएको छ ।
बालेनभित्र सन्तोष छ कि असन्तोष अनुमान गर्न कठिन छ । इतिहास भन्छ– के थिएन, बेलायतकी राजकुमारी डायनाको जीवन दुःखमै बित्यो । बैज्ञानिक आइन्स्टाइन यहुदी भएकै कारण लखेटिनुप¥यो । नेपालका राजा महेन्द्रले षडयन्त्रपूर्वक मारिनुप¥यो । २०५८ सालमा देशभक्त भएकै कारण राजा वीरेन्द्रको बंश विनाश भयो । बालेन साह देशको अनुहार फेर्छु, जनतालाई समानताको सुख दिन्छु भनेर सत्तामा पुगेका छन् । निर्वाचनमा रवि र बालेनको अंकमालको आँधीले न कांग्रेस कांग्रेसको हैसियतमा रह्यो, न एमाले वा नेकपाले हैसियत बचाउन सके । बालेन र रविको अंकमालका सामु होचा पुड्का समूहजस्ता देखिन पुगे ३७ वर्षदेखि राज गरेका नेता, पार्टीहरु ।
राजनीतिक हावा विपरित दिशामा बहेको छ, प्रतिकूल परिवेशलाई अनुकूल बनाएर जमिन टेक्न, अडिन र उभिन सक्नु राजनीतिको सफलता हो । तर कांग्रेसभित्र नेतृत्वको झगडा सुल्झिएको छैन । एमालेका अध्यक्ष केपी ओलीलाई पार्टीबाट पन्छाउने झगडा सुरु भएको छ । नेकपाका अध्यक्ष प्रचण्डले नेतृत्वप्रति आलोचना गर्नेहरुलाई पार्टी छोडेर गए हुन्छ भन्ने फर्मान जारी गरिसके । राप्रपा, मधेसी दलहरु मरीच चाउरिएझैं निभ्न लागेको दियो जस्तो बनेका छन् ।
समस्या विश्वभरि नै छ । विश्वयुद्ध हुन्छ कि भन्ने तनावमा छ विश्वसमुदाय । नेपाल त गरीब छ, साधनस्रोतको अभाव छ, जुन पद्धति चलेको थियो, चलाउनेहरु विदेशपरस्त भइदिनाले अस्तित्वको संकटमा गुज्रनु परेको छ । यही स्वराज बचाउन, अस्तित्व टिकाउन र वीरभूमिको गौरवगाथा टिकाउन राजनीतिक परिवर्तन भएको छ । मान्छे विवेकशील हुनाले नै बाँदर होइन । मान्छेले सभ्यता बनायो, हुनसम्मको आविष्कार भएका छन् । तथापि कतिपय मान्छे जो निर्णायक छन्, संचेतन छन्, विचारक छन्, तिनीहरुले विवेक गुमाउनाले नेपाल प्रकृति, धर्मसंष्कृति, परम्पराको धनी भए पनि राजनीति अपराधशाला बनाइँदा नेपाल र नेपाली दुर्गतिको दलदलमा भासिन पुगेका छन् ।
मान्छे विवेकशील प्राणी भए पनि उसमा सत्ता, शक्तिले मताउँदा घमण्ड बढ्छ । घमण्ड भनेको सुन्निएर मोटाउनुजस्तै हो । घमण्डले कुनै न कुनै मोडमा नोज डाइभ गराउँछ । यो स्थिति भनेको मान्छे जतिसुकै शक्तिशाली भए पनि दरिद्रपन हो । घमण्डले औंसीको रात चिरेर उज्यालो दिन सक्दैन । प्रकृति हो, विहान त हुन्छ, तर घमण्डी घमण्डकै अँध्यारोमा हराउँछ । समयमै जो सजग छ, ऊ अमर हुन्छ, जो घमण्डमा छ, ऊ कलंकित हुन्छ । पानी पोखिनु र घमण्डीको शेखी पोखिनु उस्तै हो, उठाउन सकिदैन । खोटा सिक्का बन्नेहरु नेपाली राजनीतिमा उदाउँदै अस्ताउँदै गए । खोटा सिक्काहरु बदनाम पात्र हुन्, घृणित भएर बाँच्छन्, मर्छन र घृणित भइरहन्छन् ।
राजनीति त घामजस्तो हुनुपर्छ । प्रकृति विभेदकारी छैन । सबैका लागि समान । राजनीति धमिलिदा समाज, देश धमिलिने हो । नेपालले भोगेको धमिलोपन र नेपालीको मनको अमिलोपन धमिलो राजनीतिको दोष हो । सूर्य पूर्वबाटै उदाउँछ, राजनीति गर्नेले पूर्वको कुरा गर्छन्, स्वार्थमा लुटपुटिन्छन् । राजनीतिको अपराधिकरणकै कारण धेरै नेता सखाप भएका छन्, कैयौं देश समाप्त भएका छन् ।
नेपालको राजनीतिक इतिहास खुकुरीको इतिहास हो । खुकुरीले निर्माण पछि सत्ता राजनीतिका अनेक उतारचढाव छन्, रक्तपातका कथाहरु छन् । २००७ सालको राणा शासनको अन्त, २०१७ सालको घटना, ०३६ सालको जनमत संग्रहपछि २०४६ सालमा बहुदलको पुनस्र्थापनापछि वास्तवमा प्रजातान्त्रिक नेपालको नयाँ श्रृङ्खला सुरु भएको हो । यसमा पनि १० वर्षे जनयुद्धले १७ हजारको ज्यानको खली खायो । अन्ततः २०६३ साल आयो, राजतन्त्र फालियो र लोकतान्त्रिक गणतन्त्र सुरु भयो । यति ठूलो परिवर्तनले पनि प्रजातान्त्रिक संस्कार र संस्कृति, संसदीय सभ्यता स्थापित गर्न सकेन । रक्तपात भइरह्यो र गतवर्षको भदौ २३ र २४ गते लोकतान्त्रिक गणतन्त्र आवरणको घमण्डी स्वार्थी, अपराधिक र भ्रष्ट सत्ताले ७६ बढी जेनजी पुस्ताको ज्यान लियो । यसपछि फैलिएको जनआक्रोशले फेरि परिवर्तन ल्यायो । यही परिवर्तनको नाम हो– रास्वपाको लहर र बालेन नेतृत्वको सरकार ।
जनताको आशा र अपेक्षा छ– शान्ति, समृद्धि, सुशासन, समानता । अब रक्तपातपूर्ण सत्ताको प्रतिस्पर्धाको अन्त्य हुनुपर्छ, संसदीय सभ्यताको अँध्यारो हट्नुपर्छ । युवा पुस्ताले नगरे कसले गर्ने ? बुढापुरानाले सकेनन्, गरेनन् भनेर जनताले जेनजी पुस्ता रोजेका हुन्, परिवर्तनको उज्यालो नयाँ पुस्ताले पनि दिन सकेनन् भने कसले दिन्छ ?
झिकिदे गाँड भन्दा थपिदे गाँड नबनोस् यो परिवर्तन । जेनजी पुस्ताका सबैलाई हेक्का रहोस् ।































