सरकारले अपवादका लागि पाएको सुविधालाई दुरुपयोग गर्दै जब नियमित बनाइन्छ त्यसले कति सम्म...

पुरा पढ्नुहाेस्

linktrix Long Ad
Salt Trading Long Ad

झकिदे गाँडभन्दा थपिदे गाँडजस्तो नहोस्

585
shares

जेनजी पुस्ताले परिवर्तन खोजे, जनताले परिवर्तन रोजे । जनताले खोजेको परिवर्तन आएको छ, यो परिवर्तन झिकिदे गाँडभन्दा थपिदे गाँडजस्तो नहोस् । अनुभव नहोला, कमजोरी देखिएला, समयले परिपक्व बन्ने अवसर दिएकै छ । अब पनि केटाकेटी आए–गुलेली खेलाए गए, मट्याङ्ग्राको सत्यानास भन्ने उखान जस्तो परिस्थिति आयो भने नेपालको अस्तित्व कसैले पनि बचाउन सक्नेछैन । नेपाल र नेपालीत्व बचाउने भार जेनजी पुस्ताले बोक्न खोजे, जनताले बोकाइदिए । जेनजी पुस्ताका सामु कि गर, कि मर ? को बाध्यकारी राजनीतिक परिस्थितिको सिर्जना भएको छ ।
पञ्चायत फालेर शान्ति, समृद्धि, सुशासन, समानता आउँछ, अँध्यारो हट्छ, झलमल्ल उज्यालो हुन्छ भन्ने नेताहरुको आश्वासनमा विश्वास गरेर ०४६ सालमा बहुदल ल्याइयो । केही प्राप्त भएन । बोल्ने हक पाइयो, खुब बोलियो, कतै सुनवाई भएन । काग कराउँदैछ, पिना सुक्दैछ भन्ने उखान चरितार्थ भयो ।
जनयुद्धकारी र प्रजातन्त्रवादीले हातमा हात मिलाए, काँधमा काँध मिलाएर भने समस्याको जड राजतन्त्र हो । राजतन्त्र फालेपछि शान्ति, समृद्धि, सुशासन, समानता सबै आउँछ भनेर फेरि गुलछर्रा उडाइयो । २०६५ सालमा राजतन्त्र फालियो, ८ वर्ष लगाएर लोकतान्त्रिक गणतान्त्रिक संविधान जारी गरियो । ०७४ र ०७९ मा दुईपल्ट आवधिक चुनाव भयो । दुबै चुनावले न शान्ति दियो, न समृद्धि ल्यायो, सुशासनको नाममा भ्रष्टाचार बढ्यो, समानताको नाममा बिभेद, निषेध र प्रतिषोध साधियो । जसले संविधान लेखे, संविधान जारी गरे, संविधानअनुसार धर्मनिरपेक्षता, संघीयता लागू गरे, तिनैले संविधान असफल पारिदिए ।
परिणाम, २०८२ भदौ २३ र २४ गते जेनजी पुस्ताले बिद्रोह गर्नुप¥यो । जेनजी जब सडकमा निस्किए लोकतान्त्रिक गणतन्त्रको सरकारले नरसंहार मच्चायो, बालबालिकाको रगत पियो । अझै अस्पतालहरुमा २९ जनाको शव छ, ती सव कसको हो, कहाँका लालाबाला हुन् ती पत्ता लगाउन सकिएको छै्रन । ७६ भन्दा बढीको ज्यान र सयौंको अंगभंगपछि असफल संविधान ढल्यो, असफल नेताहरु भागेर लुक्न बाध्य भए । जेनजी विद्रोहको कारणले बनेको अन्तरिम सरकारले फागुन २१ को चुनाव गरायो, चुनावमा जनताले मौन, मतपत्र बिद्रोह गरे, पुराना नेता र दलहरु सफाचट भए । जेनजी पुस्ताका एक से एक युवाहरुले चुनाव जितेर बालेन नेतृत्वमा सरकार बनाएका छन् ।
बालेन साहले नेपोटिजममा शिर झुकाएका मन्त्री दीपक साहलाई १३ दिनमा हटाइदिए । गृहमन्त्री सुधन गुरुङमाथि सम्पत्ति लुकाएको र भ्रष्टहरुसँग जोडिएको आरोपमा प्रतिपक्षीले प्रश्न उठाएपछि २६ दिनमै हटाइदिएका छन् । मेयर हुँदा वा प्रधानमन्त्रीमा पुग्दा बालेन साह कुनै पनि भ्रष्टाचारको मुद्दामा मुछिएका छैनन् । कम बोल्ने वा बोल्दै नबोली काममात्र गर्ने कारणले नै बालेन साह विश्वका प्रभावशाली नेताहरुको सूचीमा दर्ज भएका छन् । अब महिनाको एक दिन एक घण्टा प्रधानमन्त्रीसँग सांसदले प्रश्न सोध्न सक्ने र संसदमा प्रम बालेन साहले जवाफ दिनुपर्ने नीति तय गरिएको छ । अब भने महिनाको एकदिन प्रम बालेन साह बोलेको सुन्न पाइने भएको छ ।
बालेनभित्र सन्तोष छ कि असन्तोष अनुमान गर्न कठिन छ । इतिहास भन्छ– के थिएन, बेलायतकी राजकुमारी डायनाको जीवन दुःखमै बित्यो । बैज्ञानिक आइन्स्टाइन यहुदी भएकै कारण लखेटिनुप¥यो । नेपालका राजा महेन्द्रले षडयन्त्रपूर्वक मारिनुप¥यो । २०५८ सालमा देशभक्त भएकै कारण राजा वीरेन्द्रको बंश विनाश भयो । बालेन साह देशको अनुहार फेर्छु, जनतालाई समानताको सुख दिन्छु भनेर सत्तामा पुगेका छन् । निर्वाचनमा रवि र बालेनको अंकमालको आँधीले न कांग्रेस कांग्रेसको हैसियतमा रह्यो, न एमाले वा नेकपाले हैसियत बचाउन सके । बालेन र रविको अंकमालका सामु होचा पुड्का समूहजस्ता देखिन पुगे ३७ वर्षदेखि राज गरेका नेता, पार्टीहरु ।
राजनीतिक हावा विपरित दिशामा बहेको छ, प्रतिकूल परिवेशलाई अनुकूल बनाएर जमिन टेक्न, अडिन र उभिन सक्नु राजनीतिको सफलता हो । तर कांग्रेसभित्र नेतृत्वको झगडा सुल्झिएको छैन । एमालेका अध्यक्ष केपी ओलीलाई पार्टीबाट पन्छाउने झगडा सुरु भएको छ । नेकपाका अध्यक्ष प्रचण्डले नेतृत्वप्रति आलोचना गर्नेहरुलाई पार्टी छोडेर गए हुन्छ भन्ने फर्मान जारी गरिसके । राप्रपा, मधेसी दलहरु मरीच चाउरिएझैं निभ्न लागेको दियो जस्तो बनेका छन् ।
समस्या विश्वभरि नै छ । विश्वयुद्ध हुन्छ कि भन्ने तनावमा छ विश्वसमुदाय । नेपाल त गरीब छ, साधनस्रोतको अभाव छ, जुन पद्धति चलेको थियो, चलाउनेहरु विदेशपरस्त भइदिनाले अस्तित्वको संकटमा गुज्रनु परेको छ । यही स्वराज बचाउन, अस्तित्व टिकाउन र वीरभूमिको गौरवगाथा टिकाउन राजनीतिक परिवर्तन भएको छ । मान्छे विवेकशील हुनाले नै बाँदर होइन । मान्छेले सभ्यता बनायो, हुनसम्मको आविष्कार भएका छन् । तथापि कतिपय मान्छे जो निर्णायक छन्, संचेतन छन्, विचारक छन्, तिनीहरुले विवेक गुमाउनाले नेपाल प्रकृति, धर्मसंष्कृति, परम्पराको धनी भए पनि राजनीति अपराधशाला बनाइँदा नेपाल र नेपाली दुर्गतिको दलदलमा भासिन पुगेका छन् ।
मान्छे विवेकशील प्राणी भए पनि उसमा सत्ता, शक्तिले मताउँदा घमण्ड बढ्छ । घमण्ड भनेको सुन्निएर मोटाउनुजस्तै हो । घमण्डले कुनै न कुनै मोडमा नोज डाइभ गराउँछ । यो स्थिति भनेको मान्छे जतिसुकै शक्तिशाली भए पनि दरिद्रपन हो । घमण्डले औंसीको रात चिरेर उज्यालो दिन सक्दैन । प्रकृति हो, विहान त हुन्छ, तर घमण्डी घमण्डकै अँध्यारोमा हराउँछ । समयमै जो सजग छ, ऊ अमर हुन्छ, जो घमण्डमा छ, ऊ कलंकित हुन्छ । पानी पोखिनु र घमण्डीको शेखी पोखिनु उस्तै हो, उठाउन सकिदैन । खोटा सिक्का बन्नेहरु नेपाली राजनीतिमा उदाउँदै अस्ताउँदै गए । खोटा सिक्काहरु बदनाम पात्र हुन्, घृणित भएर बाँच्छन्, मर्छन र घृणित भइरहन्छन् ।
राजनीति त घामजस्तो हुनुपर्छ । प्रकृति विभेदकारी छैन । सबैका लागि समान । राजनीति धमिलिदा समाज, देश धमिलिने हो । नेपालले भोगेको धमिलोपन र नेपालीको मनको अमिलोपन धमिलो राजनीतिको दोष हो । सूर्य पूर्वबाटै उदाउँछ, राजनीति गर्नेले पूर्वको कुरा गर्छन्, स्वार्थमा लुटपुटिन्छन् । राजनीतिको अपराधिकरणकै कारण धेरै नेता सखाप भएका छन्, कैयौं देश समाप्त भएका छन् ।
नेपालको राजनीतिक इतिहास खुकुरीको इतिहास हो । खुकुरीले निर्माण पछि सत्ता राजनीतिका अनेक उतारचढाव छन्, रक्तपातका कथाहरु छन् । २००७ सालको राणा शासनको अन्त, २०१७ सालको घटना, ०३६ सालको जनमत संग्रहपछि २०४६ सालमा बहुदलको पुनस्र्थापनापछि वास्तवमा प्रजातान्त्रिक नेपालको नयाँ श्रृङ्खला सुरु भएको हो । यसमा पनि १० वर्षे जनयुद्धले १७ हजारको ज्यानको खली खायो । अन्ततः २०६३ साल आयो, राजतन्त्र फालियो र लोकतान्त्रिक गणतन्त्र सुरु भयो । यति ठूलो परिवर्तनले पनि प्रजातान्त्रिक संस्कार र संस्कृति, संसदीय सभ्यता स्थापित गर्न सकेन । रक्तपात भइरह्यो र गतवर्षको भदौ २३ र २४ गते लोकतान्त्रिक गणतन्त्र आवरणको घमण्डी स्वार्थी, अपराधिक र भ्रष्ट सत्ताले ७६ बढी जेनजी पुस्ताको ज्यान लियो । यसपछि फैलिएको जनआक्रोशले फेरि परिवर्तन ल्यायो । यही परिवर्तनको नाम हो– रास्वपाको लहर र बालेन नेतृत्वको सरकार ।
जनताको आशा र अपेक्षा छ– शान्ति, समृद्धि, सुशासन, समानता । अब रक्तपातपूर्ण सत्ताको प्रतिस्पर्धाको अन्त्य हुनुपर्छ, संसदीय सभ्यताको अँध्यारो हट्नुपर्छ । युवा पुस्ताले नगरे कसले गर्ने ? बुढापुरानाले सकेनन्, गरेनन् भनेर जनताले जेनजी पुस्ता रोजेका हुन्, परिवर्तनको उज्यालो नयाँ पुस्ताले पनि दिन सकेनन् भने कसले दिन्छ ?
झिकिदे गाँड भन्दा थपिदे गाँड नबनोस् यो परिवर्तन । जेनजी पुस्ताका सबैलाई हेक्का रहोस् ।

sapta chakra spa
below next and prev inner page
below international hompage
below entertainmnet insurance
napali patro below sports