अब निवेदन दिने बित्तिकै परिक्षण, पास हुने बितिकै लाईसेन्स हातमा
वि.सं.२०७९ वैशाख ९ शुक्रवार २०:३५
shares

काठमाडौं ।चालक अनुमतिपत्रको पर्खाइमा रहेका सर्वसाधारणले पास हुने बित्तिकै लाइसेन्स पाउने भएका छन् । श्रम, रोजगार तथा यातायात मन्त्रालय बागमती प्रदेशले यातायात क्षेत्रमा रहेको विकृति सुधार्ने भन्दै निवेदन दिने बित्तिकै परीक्षण र पास लगत्तै लाइसेन्स दिने व्यवस्था गरेको हो ।
प्रदेशले यातायात क्षेत्रको सुधारका लागि गरेको प्रयत्नको परिणाम प्राप्त हुन थालेको जनाएको छ । ठूलो भर्याङ स्थित यातायात कार्यालयले वैशाख २५ गतेभित्र २०८१ सम्मको लाइनमा रहेका सबैको परीक्षण सक्ने गरी व्यवस्था मिलाइसकेको छ । २०७९ चैत्र ५ देखि २०८१ असार ३१ गतेसम्म भिजिट मिति भएका सेवाग्राहीको तोकिएको मिति अगावै बायोमेट्रिक दर्ता गर्ने व्यवस्था मिलाइएको मन्त्रालयले जनाएको छ ।सोअनुसार २०७९ चैत ५ देखि वैशाख २० गतेसम्म भिजिट मिति भएका सेवाग्राहीलाई आगामी बैशाख १२ गते कार्यालयमा उपस्थित हुन भनिएको छ ।
त्यसैगरी, २०८० को वैशाख देखि असार सम्म मिति भएकालाई आगामी १३ गते, असार देखि भाद्र सम्म भएकालाई १४ गते कार्यालयमा सम्पर्क गर्न मन्त्रालयले सुचित गरेको छ ।भदौ देखि कात्तिक सम्म भिजिटिङ मिति तोकिएकाहरुलाई वैशाख १९ गते कार्यालय बोलाइएको छ । त्यस्तै, मंसिर ३ गते देखि मंसिर २७ गते सम्म भएकालाई वैशाख २० गतेका लागि सारिएको हो । पुस देखि फागुन सम्म मिति भएकालाई आगामी २१ गते भित्र र २०८० चैत ४ गते देखि ३१ असार २०८१ मा पालो भएकालाई वैशाख २५ गतेका दिन कार्यालयमा सम्पर्म राख्न भनिएको छ ।




































