डलरको सञ्चिती घट्ने क्रम जारी रहे नेपालको अवस्था श्रीलंकाको जस्तो हुनसक्ने पूर्वअर्थमन्त्री सुरेन्द्र पाण्डेको चेतावनी
वि.सं.२०७९ जेठ १८ बुधवार १२:१२
shares

काठमाडौं ।नेकपा एमालेका उपाध्यक्ष एवम् पूर्वअर्थमन्त्री सुरेन्द्र पाण्डेले डलरको सञ्चिती घट्ने क्रम जारी रहे नेपालको अवस्था श्रीलंकाको जस्तो हुनसक्ने चेतावनी दिएका छन् । हरेक महिना १२ देखि १५ करोड डलर घट्दै गएको भन्दै उनले यस्तै अवस्था रहे बजेटको लक्ष्य पूरा हुन नसक्ने बताए ।
आर्थिक वर्ष २०७९/८० को बजेट माथिको छलफलमा बुधबार भाग लिंदै पूर्वअर्थमन्त्री पाण्डेले भने, ‘यस वर्षको हाम्रो ९ करोड ६१ अरब डलर रिजर्भ छ । २ अर्ब ७० करोड डलरको साउन देखि अहिले सम्म डिपोजिट घटेको छ, हरेक महिना १२ देखि १५ करोड डलर घट्दै छ । डलरको डिपोजिट घटिरह्यो भने हाम्रो आयात घट्ने छ । हामीले फरेन करेन्सी दिन सक्दैनौं । तपाईंले फरेन करेन्सी दिन सक्नु भएन भने १२ खर्ब ४० अर्ब रेभिन्यू कसरी कलेक्ट गर्न सक्नुहुन्छ ?’
उनले थपे, ‘१२ खर्ब ४० अर्ब रेभिन्यू कलेक्ट गर्नको लागि जति भए पनि इम्पोर्ट गर भनेर छोड्दिनुपर्छ कि पर्दैन प्राइभेट सेक्टरलाई ? अनि तपाईं डलर कहाँ बाट दिनुहुन्छ ? पर्सि देखि राष्ट्र बैंकले म डलर दिन सक्दिनँ भन्ने वित्तिकै आयात कटौती हुनेछ । राजश्व पनि टाइँटाइँ फिस हुन्छ । यो पैसा उठेन पनि सक्दैन । त्यसो हुने वित्तिकै तपाईंको बजेटको लक्ष्य कहिँ भेट हुँदैन ।’
यो अवस्थाले अर्थतन्त्र धरासायी हुने संकेत देखिएको उनको टिप्पणी छ । उनले भने, ‘तपाईंले केही पैसा त बाँड्ने कुरा गरौंला, केही कुरा गरेर चुनावमा प्रभाव पारौंला भन्नुभाछ, तर अर्को सालमा जाँदा टाउकोमा हात लाएर बस्नुपर्ने र अर्थतन्त्र धरासायी भयो भनेर श्रीलंकाको जस्तो दसा हामीले देख्न नपरोस् ।’






































