सेना किन चाहिन्छ, सेनाविरोधीले बुझे होलान् नि ?
वि.सं.२०७८ जेठ ७ शुक्रवार १३:०७
shares

राजन कार्की
नेपाली सेना किन चाहिने रहेछ, कोरोनाको महाविपतमा सेनाको सक्रियताले स्पष्ट पारेको छ । हुन त अतिवर्षा, बाढी पहिरो, भूकम्प गएका बेलामा सेनाले ज्यान जोखिममा राखेर जनताको सेवा गर्ने गरेको छ । सेनलो जनपयोगी अनेक दैनिक कार्य गरिरहेकै बेलामा कोरोनाको महामारीसँग लड्न अग्रपंक्तिमा आफूलाई उभ्याएको छ ।
सेना उपचार गरिरहेको छ । सेना उपचारको प्रवन्ध मिलाउन दिनरात खटिरहेको छ । कोरोनाबाट मृत्यु भएकाहरुको शव व्यवस्थापनमा समेत सेना नै अग्रपंक्तिमा उभिएको छ । सेना छ र जनताले सेवा पाएका छन् । जनताले खोजेको यस्तै सेना हो । नेपालको सेना राजनीतिक होइन, व्यवसायिक सेना हो । राष्ट्र सेवा र जनसेवा नै नेपाली सेनाको एकमात्र उद्देश्य हो ।
लोकतान्त्रिक गणतन्त्र नेपाल लेखेको टिनको पाता झुण्ड्याउँदैमा लोकले सुरक्षा र स्वास्थ्य नपाउने रहेछन् । ९३ प्रतिशत बिपन्न, कमैया, कमलरी, सुकुम्बासी, बेरोजगार, असहायहरूलाई स्वदेशमा सपना देखाएर विदेशमा बेच्ने, सस्तो बजार बनेको छ देश । जयप्रकाश मल्लले वर्षको एकपल्ट गाईजात्रा देखाएर छोराको शोकमा परेकी महारानीलाई मनोरञ्जन दिने गर्थे, हाम्रा नेताहरूले राष्ट्रिय भ्रष्टाचारको लोकहँसाइ गर्न बाह्रैमास लोकतन्त्रे गाईजात्रा देखाइरहेछन् ।
संकट प¥यो भने दिल्लीको भिक्स वा बेइजिङ्को बाम दल्नु पनि लोकतन्त्र हो ?
भेटिकनदेखि भुटानसम्म, बंगलादेशदेखि बर्मासम्म विश्वसमुदायमा समान पहिचान छ । नेपालमात्र विदेशीका सामु मुख थुनेर नाकले सुघ्छ र मालिक ठानेर पुच्छर हल्लाइरहन्छ । आत्मशक्ति गुमाएर घ्राणशक्तिमा पुगेको छ नेपाल । अमेरिकामा रकफेलरदेखि बिल गेट्ससम्मका खर्बपतिहरू सत्तामा पुगेनन् । भारतमा लक्ष्मी मित्तलदेखि रतन टाटासम्म सत्तामा उक्लने इच्छा राख्दैनन् । नेपालमा राजनीति– मुनाफाको ग्यारेण्टी भएको भारतीय अनुदान र गरिब नेपालीले तिरेको करको सबसिडीसमेत पाइने साल्ट ट्रेडिङ्को नून व्यापार मात्र हो । संविधान हुँडार राजनीति नामका व्यापारीहरूले मुख लुकाउने सुरक्षित ओढार, अपराधीलाई चोख्याउने बाइसधारा बन्छ अनि पद्धति कुहिएको सिनो गनाएजसरी गनाउँछ ? फोहरमा जन्मने नै गुहे किरा हो । शासक किर्नाको योनि र शासन जुकाको जुनीमा चलिरहेको छ ।
२०६३ सालतिर जनयुद्ध र जनआन्दोलनका संवाहकहरू नेपाली लिङ्कनजस्ता लाग्थे । आज लेण्डुपलाई बिर्साउँछन्, नरसंहारकर्ता मुसोलिनी पो हुन् कि भन्ने लाग्छ ।
पृथ्वीनारायण शाह, भक्ति थापा, बहादुर शाह, भीमसेन थापा, महेन्द्रको नाम उच्चारण ग¥यो भने प्रतिगामी भइन्छ । आँखा चिम्लेर लोकतन्त्र जिन्दावाद भने मात्र अग्रगामी भइन्छ । बिपन्नताको पहाडले थिचेका जनताको संगठित आवाज छैन । स्वराजमुखी बन्न नसकेका ३ प्रतिशतले सत्ताको घोडा दौडाइरहेका छन् । ९७ प्रतिशत संगठित कार्यकर्ता र असंगठित जनता यो घोडेजात्रा हेरिरहेका छन् । नेपाली एकता यसैगरी खेलिने फूटबल बनिरहेको छ ।
इतिहासको एउटा कालखण्डमा नजिबुल्लाहले काबुलमा सोभियत सेनालाई पालेर दास बनेझैं वर्तमान कालखण्डमा विदेशीले हाम्रा नेताहरूलाई भाडाका कूटनीतिक, राजनीतिक, प्रशासनिक, आइएनजीओ सेना बनाएका छन् । गणतन्त्रको नक्कली कल्की भिरेको लोकतन्त्रमा लोकलाई कुकुर मरेझैं मारिदैछ । इतिहासमा स्वाभिमानको गीत गाएर नेपाली ऊर्जा प्रदर्शन गर्ने वीरका लालहरू वर्तमानमा अस्वस्थकर रसायन मिसाइएको विदेशी ललीपप चुसेर विदेशीलाई सलाम ठोक्ने द्वारपाल बनेका छन् । यिनै द्वारपालेहरू लोकतन्त्रका महानायकको मुखुण्डो भिरेर नङ्गानाच देखाइरहेका छन् ।
ओलिभर नर्थ, इरान गेट काण्डमा सिनेटलाई झुक्याएको अपराध काण्डले ७ लाख डलर जरीवाना तिरेर ९ वर्षको कालकोठरीमा पुगे । नेपालमा त संसद, सरकार र संवैधानिक निकाय झुक्याउने बाहेक अर्को कर्मलाई धर्म नै सम्झदैन । ०४६ र ०६३ साल पछिका बहुदल र लोकतन्त्रमा झुक्याउनेहरूलाई जेलनेल हाल्ने कसले ?
नेपाली सेना भनेको नेपालको अन्तिम सुरक्षा कवच हो । नेपाली सेनाभित्रका ‘बहादुर शाह’ सतहमा आउनै पर्छ । सिमानादेखि सत्तासम्म, अदालतदेखि अक्सिजनसम्म किनलूट मच्चाइदैछ, सेनाले खोज्नैपर्छ । रौंचिरा विश्लेषण गर्नेहरूको निक्र्यौल छ– सेनाले संविधान मान्नुपर्छ । संविधान कागज बन्छ भने सेनाले फायरिङ् खोल्नुपर्छ ।
हिमालबाट पानी बगेझैं राष्ट्रियताका आधारहरू बग्न थालेका छन् । देशका लागि राजनीतिक नेतृत्व ढोडको तोक्मा हुनपुग्यो । नेपाल कहिलेसम्म हरिभक्त कटुवालको ‘बुद्धु’ बनिरहने ?
१९७५ फेब्रुअरी २५ मा राजा वीरेन्द्रले नेपाललाई शान्ति क्षेत्र बनाइयोस् भनेर राखेको प्रस्तावमा ११६ राष्ट्रले समर्थन गरे । यो समर्थनको ओजनलाई यिनै नेताहरूले कपासभन्दा हलुको बनाएर पन्छाइदिए । बेल्जियमले झैं अन्तर्राष्ट्रिय सहमति अनुसारको समुद्रसम्मको पहुँचको पारवहनको हक लिन नसक्ने नेपाल– चाटुकारिताकै कारण राष्ट्र हक र हितको रक्षा गर्न असमर्थ बन्दै गएको छ । छिमेकी फस्ट भन्ने भारत बंगलादेश पुग्ने मात्र २६ किलोमिटरको फूलवारी मार्ग दिन नेपालको सुरक्षानीति माग्छ । परराष्ट्रनीति भारतलाई दिनुपर्छ भन्छ । यस्तो छ भारतसँगको नेपालको सुमधुर सम्बन्ध ।
२०६४ सालमा धर्मनिरपेक्ष राष्ट्र घोषणा भएपछि नेपालमा ३३ हजार चर्चले अनुमति पाए । नेपालमा जति सहकारी खुलेका छन्, त्योभन्दा बढी संख्यामा चर्चको खेती मौलाएको छ । झापादेखि महाकालीसम्मका तराईबेल्टमा केही मुसाइकरण भए पनि ७ प्रदेश, ७७ जिल्ला, ६ महानगर, ११ उपमहानगर, २७६ नगर र ४६० गाउँपालिकामा इसाईकरणले महामारीको रुप धारण गरिसकेको छ । एकातिर मधेसीकरण, सुरक्षा निकाय लगायतका राज्यसञ्जालमा राजनीतिकरण, विधि उल्लंघन गरेर मौलाएको अपराधिकरण र जाति, भाषा, क्षेत्रका आधारमा खडा हुनलागेको स्वायत्ततासहितको संघीयकरण । नेताहरूको यो कालीदास प्रवृत्तिको बन्चरोले राष्ट्रियता चिर्पट बन्दैछ । शान्ति क्षेत्र गुमाएपछि सार्क सम्मेलन गर्न पनि असमर्थ बनेको यो अवस्थामा नेपाल अर्काको हाटबजार र तातो ओछ्यान बन्दै गएको छ । राष्ट्रिय गौरव र गरिमाको यस्तो बिचल्लीबाट विदेशी चङ्गुलमा पर्नु बाहेक नेपाल उम्कने कसरी ? ढुङ्गाहरू बोल्दैनन् ।
नेपाल आफ्नो स्थापित नीतिमा अड्न सक्दैन । विश्वशक्ति नेपाललाई चीन तोड्ने र तिब्बतलाई फोड्ने भारो–पश्चिमाको रणनीतिक मोर्चाक्षेत्र बनाउन कस्सिएको छ । लोकतान्त्रिक बाजा बजाएर लोकतन्त्रको गीत गाउनेहरूको अर्काको मिसाइल बोक्ने काँध बन्ने कतिपय निर्णय हाम्रा लागि आत्मघात बाहेक केही होइन ।
कोरोना, बाढीपहिरो, प्रकोप, असमान वितरण, स्वास्थ्यशिक्षा, बेरोजगारी र भ्रष्टाचारजन्य अन्याय रोक्न नसकेर धरापमा परेको आफ्नै राष्ट्रलाई बचाउन महाभारतको पाञ्चजन्य बजाउने बेलामा विदेशीको दुन्दुभि बजाउनु भनेको कुकर्म हो । हाम्रो प्राथमिकता देश हुनुपर्छ, विदेशी एजेण्डा होइन । आफ्नो स्वाभिमानमाथि बलात्कार भएको नदेख्ने नेता र नीतिकारहरू मेची, महाकाली जान्दैनन् । ऋग्वेदका ऋचा र धर्मका सूत्र नमानेर नैतिकतामा मात्र अडेको भए पनि यिनले राष्ट्राधिकारलाई महत्व दिनैपथ्र्यो ।
आमनागरिकको अपेक्षा नेपाली सेनाले विश्लेषण गर्नैपर्छ– सेनाले संविधान मान्नुपर्छ । संविधान कागज बन्छ भने सेनाले फायरिङ् खोल्नुपर्छ । नेपाली जनताको नमकको सोझो गर्न पनि अत्याचारको पराकाष्ठा चिर्न सेनाले फायरिङ्ग खोल्नैपर्छ ।































