संसदीय विशेष समितिले अर्थ मन्त्रालयको सीसीटीभी सँग सम्बन्धित इन्जिनियर सँग सोधपुछ
वि.सं.२०७९ साउन १ आइतवार १६:५४
shares

काठमाडौं ।बजेट निर्माणमा अनधिकृत व्यक्तिको प्रवेश बारे छानबिन गर्न गठित संसदीय विशेष समितिले अर्थ मन्त्रालयको सीसीटीभी सँग सम्बन्धित इन्जिनियर सँग सोधपुछ गरेको छ । आइतबार सिंहदरबारमा बसेको समितिको बैठकमा अर्थ मन्त्रालयका उच्च तह तथा अन्य विभिन्न तहका पदाधिकारीहरु सँग पनि सोधपुछ सक्ने तयारी रहेको छानबिन समितिका सचिव सुरेन्द्र अर्यालले बताए ।
आइतबार नै अर्थ मन्त्रालयका प्रशासन महाशाखा प्रमुख, सीसीटीभी सँग सम्बन्धित काम गर्ने आईटी इन्जिनियर र बजेट महाशाखा प्रमुख सँग पनि सोधपुछ गरेको उनले जानकारी दिए ।उनले भने, ‘शनिबार पनि भन्सार विभाग र आन्तरिक राजश्व विभागका महानिर्देशहरु र अर्थ मन्त्रालयमा राजश्व व्यवस्थापन महाशाखाका प्रमुख र उपसचिवहरु सँग सोधपुछ गर्ने काम भयो ।
आइतबार त्यसैको निरन्तरताको रुपमा अर्थ मन्त्रालयका प्रशासन महाशाखा प्रमुख र अर्थ मन्त्रालयको सीसीटीभी सँग सम्बन्धित काम गर्ने आईटीको इन्जिनियर सँग ८ बजेको बैठकमा छलफल भयो । त्यसपछि बजेट महाशाखा प्रमुख सँग पनि छलफल भयो । अब राजश्व सचिव सँग छलफल तथा सोधपुछ गर्ने कार्यक्रम छ । सचिव सँगको सोधपुछ पछि अर्थमन्त्रालयका सचिव सँग छलफल गरेर अर्थ मन्त्रालयका पदाधिकारीहरु सँग छलफल सक्ने तयारी छ ।’
सचिव अर्यालले आइतबार नै नै अर्थ मन्त्रालय सँग सम्बन्धित विषयका प्रमाण र कागजका लागि आवश्यक सबै अधिकारीहरु सँग छलफल तथा सोधपुछ सकेर समिति अगाडि बढ्ने तयारी रहेको बताए । तत्कालीन अर्थमन्त्री जनार्दन शर्माले २०७९/०८० को बजेट बनाउने क्रममा अनधिकृत व्यक्ति मध्ये रातमा अर्थ मन्त्रालय बोलाएर करका दर हेरफेर गरेको आरोप लागेपछि ११ सदस्यीय संसदीय विशेष छानबिन समिति बनेको थियो । पूर्व अर्थमन्त्री शर्माले संसदीय छानबिन समिति बनेपछि राजीनामा दिएका थिए ।




































