पाँच दलीय गठबन्धनको धेरै विरोध नगर्न एमालेका सांसदलाई कांग्रेसकी सांसद महेन्द्र कुमारीको चेतावनी
वि.सं.२०७९ साउन २४ मंगलवार १७:४९
shares

काठमाडौं ।नेपाली कांग्रेसकी सांसद महेन्द्र कुमारी लिम्बुले पाँच दलीय गठबन्धनको धेरै विरोध नगर्न नेकपा एमालेका सांसदलाई चेतावनी दिएकी छन् । विचार नमिल्ने पार्टीहरुका बीचमा चुनावी तालमेल गर्ने निर्णय भएको भनी नेकपा एमालेले पाँच दलीय गठबन्धन संविधानको मर्म विपरित रहेको भनी तर्क गरिरहेका बेला सांसद लिम्बुले यस्तो चेतावनी दिएकी हुन् ।
मंगलबार प्रतिनिधिसभामा प्रस्तुत ‘आगामी प्रदेश र प्रतिनिधिसभाको प्रत्यक्ष तर्फको सिटमा समानुपातिक समावेशी प्रतिनिधित्व हुनुपर्ने सम्बन्धी ध्यानाकर्षण प्रस्ताव र जरुरी सार्जजनिक महत्वको प्रस्ताव माथिको छलफलमा भाग लिँदै उनले आफूले गठबन्धन गर्दा ठीक, अरुले गर्दा बेठीक नभन्न आग्रह गरेकी हुन् । ‘यहाँ प्रस्तावको मागहरु भन्दा प्रतिपक्षी (नेकपा एमाले) का माननीयज्यूहरुले धेरै गठबन्धनको विरोध गर्नुभयो । गठबन्धन तपाईंहरुले गर्नुभएको हो पहिले । गठबन्धन गरेर मिलेर राष्ट्रपति विद्या भण्डारीलाई जिताउनुभयो, पछि पनि जिताउनुभयो । गठबन्धन गरेर निर्वाचन पनि लड्नुभयो’ सांसद लिम्बुले भनिन् ।
आफूले गठबन्धन गर्दा ठीक कांग्रेसले गठबन्धन गर्दा बेठकी नभन्न आग्रह गर्दै उनले दोहो¥याइन्, ‘यसकारण गठबन्धनको धेरै विरोध तपाईंहरु नगर्नुहोस् ।’ स्थानीय तहमा पाँच दलका बीचमा गठबन्धन हुँदा महिला पदाधिकारीहरु कम निर्वाचित भएको भनी एमालेले उठाएको प्रश्नमा उनको जवाफ छ, ‘स्थानीय तहको कुरा आयो । घरमा छोरैछोरा छ भने छोराले मात्रै अंश पायो नि त । पार्टीमा मिलाउँदा दियो भने त्यो कांग्रेसको दोष हो ? त्यसकारण तपाईं एमालेहरु गठाबन्धनको धेरै व्याख्या नगर्नुहोला । आफू ठीक हुनुहोला ।’




































