linktrix Long Ad
Salt Trading Long Ad

लिटरमा कम्तीमा २० देखि बढीमा ३० रुपैयाँ सम्म तेलको मूल्य घट्यो

676
shares

काठमाडौं ।सरकारले खाने तेल आयातमा भन्सार शुल्क घटाए पछि खाने तेलको मूल्यमा ठूलो गिरावट आएको छ । नेपाल खुद्रा व्यापार संघकाअुनसार एक महिनाको तुलनामा तेलको मूल्य लिटरमै ३० रुपैयाँले घटेको छ । सूर्यमुखी, भटमास र तोरीको तेलको मूल्यमा ठूलो गिरावट आएको टोखा चेम्बर अफ कमर्शका अध्यक्ष सञ्जय फुँयालले बताए ।

‘सरकारले तेलको कच्चा पदार्थ आयातमा भन्सार महसुल घटाउने निर्णय गरेपछि बजारमा तेलको मूल्य घटेको छ,’ फुँयालले भने, ‘लिटरमा कम्तीमा २० देखि बढीमा ३० रुपैयाँ सम्म तेलको मूल्य घटेको छ ।’ अमृत, डाइमण्ड लगायतका ब्राण्डका तेलको मूल्य घटेको फुँयालले बताए । एक महिना अघि प्रतिलिटर २९५ रुपैयाँ रहेको सूर्यमुखी तेलको मूल्य थोकमा २४६ रुपैयाँमा झरेको छ । २८० रुपैयाँ रहेको तोरीको तेलको मूल्य २५० रुपैयाँमा झरेको छ । यस्तै २९३ रुपैयाँ पर्ने भटमासको तेलको मूल्य न्यूनतम् २१८ रुपैयाँ सम्म झरेको छ ।

नेपाल वनस्पति घ्यु तेल उत्पादक संघका अनुसार अन्तर्राष्ट्रिय बजारमा तेलको मूल्यमा आएको गिरावटका कारण खाने तलेको मूल्यमा उच्च गिरावट देखिन थालेको छ । संघका अध्यक्ष सन्दीप अग्रवालका अनुसार जेठयता मात्रै खाने तेलको मूल्य लिटरमा ७० रुपैयाँ सम्मले घटेको छ । तेलको मूल्य अन्तर्राष्ट्रिय बजारमै घटेका कारण नेपाली बजार पनि घटेको अध्यक्ष अग्रवालले बताए । ‘औसत बजारमा तेल उद्योगीले तोकेको मूल्य ३०० रुपैयाँ लिटर थियो तर भन्सार घटेको र अन्तर्राष्ट्रिय मूल्य पनि घटेका कारण २१० रुपैयाँ सम्म पनि झरेको छ ।’ अन्तर्राष्ट्रिय बजारमा मूल्य घटेको बेला प्यानिक भएर केही उद्योगीहरुले आफैं सस्तोमा तेल बिक्री गरिरहेको पनि संघले जनाएको छ ।

तर, नेपाल खुद्रा व्यापार संघले भने खानेतेलको मूल्य पुरानै सार्वजनिक गरेको छ । संघले शुक्रबार पठाएको विवरण अनुसार तोरीको तेलको मूल्य प्रतिलिटर मूल्य ३७०, भटमासको तेलको मूल्य २५५ रुपैयाँ र सूर्यमुखी तेलको मूल्य २९५ रुपैयाँ रहेको उल्लेख छ । सरकारले २३ भदौमा राजपत्र जारी गर्दै पाम, सूर्यमुखी र भटमासको कच्चा तेल आयात गर्दा भन्सार महसुलमा ९० प्रतिशत छुट दिइएको थियो । सूर्यमुखी, भटमास, तोरी, रायो, सर्स्युं लगायतका वस्तुको गेडा नै आयात गर्दा यस अघि ५० प्रतिशत रहेको भन्सार छुटलाई पनि बढाएर सरकारले ९० प्रतिशत पुर्‍याइदिएको थियो ।

sapta chakra spa
below next and prev inner page
below international hompage
below entertainmnet insurance
napali patro below sports