kumari
stcnepal

सन्दीप लामिछानेलाई थुनामा पठाउने आदेश

काठमाडौं ।राष्ट्रिय क्रिकेट टोलीका निलम्बित कप्तान सन्दीप लामिछानेलाई पुर्पक्षका लागि थुनामा पठाउन अदालतले आदेश दिएको छ । जिल्ला अदालत, काठमाडौंका न्यायाधीश माधवप्रसाद घिमिरेको इजलासले उनलाई पुर्पक्षका लागि थुनामा पठाउने आदेश दिएको जिल्ला सरकारी वकिलको कार्यालय, काठमाडौंका सहन्यायाधिवक्ता अच्युतमणि नेउपानेले  बताए ।

जिल्ला प्रहरी परिसर, काठमाडौंले गरेको अनुसन्धानका आधारमा सरकारी वकिलको कार्यालय, काठमाडौंले १४ कात्तिकमा करणी सम्बन्धी कसूरमा १० देखि १२ वर्ष जेल सजाय माग दाबी गर्दै अभियोग पत्र दर्ता गराएको थियो । त्यसमाथि मंगलबार देखि भएको थुनछेक बहसपछि लामिछानेलाई पुर्पक्षका लागि थुनामा पठाउने आदेश भएको हो । अदालतको आदेश अनुसार उनलाई केन्द्रीय कारागार, सुन्धारा चलान गर्ने तयारी भइरहेको जिल्ला प्रहरी परिसर, काठमाडौंका एसपी दिनेशराज मैनालीले बताए । थुनछेक बयानका क्रममा लामिछानेले जाहेरीकर्ताले ‘अरु कसैको उक्साहटमा आरोप लगाएको’ दाबी गरेका थिए ।

उनका पक्षका वकिलहरुले बलात्कार आरोप भन्दा पनि पीडित नाबालिग हुन् वा होइनन् भन्ने विषयमा बहस गरेका थिए । सन्दीपका वकिलहरुले पीडितले जन्ममिति सच्याएको र उनी नाबालिका नभएको जिकिर गरेका थिए । तर सरकारी वकिलहरुले उमेरको कुरा सहायक विषय भएको बताउँदै मुख्य कुरा बलात्कार भएको प्रमाणहरुले स्थापित हुने जिकिर गरेका थिए । लामिछाने स्वयम्ले बयानमा पीडित भनिएकी किशोरी सँग भक्तपुर घुम्न गएर पिंगलास्थान स्थित होटल काठमाडौं इनमा बसेको स्वीकारेका छन् ।

होटलको क्लोज सर्किट (सीसी) क्यामरा फुटेज बाट पनि यो पुष्टि भएको बताउँदै सरकारी वकिलले बलात्कार पुष्टि हुने दाबी गरेको थियो । लामिछानेले कोठामा सँगै बसे पनि कुर्सीमा निदाएको र बलात्कार नगरेको दाबी गरेका थिए । तर पीडितले राति दुई पटक आफूलाई लामिछानेले जबरजस्ती करणी गरेको दाबी गरेकी छन् । दोस्रो पटक रुँदै कराउन थालेपछि लामिछानेले कुटपिट पनि गरेको उनको भनाइ छ । लामिछाने विरुद्ध प्रहरी वृत्त, गौशालामा २१ भदौमा १७ वर्षकी किशोरीले जबरजस्ती करणीको कसूरमा किटानी जाहेरी दिएकी थिइन् । जाहेरी परेको दुईदिन पछि जिल्ला अदालत, काठमाडौंले उनलाई पक्राउ गर्न प्रहरीलाई अनुमति दिएको थियो ।

पक्राउ पूर्जी जारी भएपछि नेपाल क्रिकेट संघ (क्यान) ले उनलाई राष्ट्रिय टोलीको कप्तान बाट निलम्बन गरेको थियो । निलम्बित भएपछि उनले नेपालको कानून मान्ने बताउँदै स्ट्याटस लेखेका थिए । तर क्यारेबियन प्रिमियर लिग (सीपीएल) खेल्ने क्रममा जमैका रहेका उनी एक महिना सम्म सम्पर्कविहीन रहे । इन्टरपोलमा डिफ्यूजन नोटिस जारी भएपछि उनी २० असोजमा नेपाल आए र विमानस्थल बाटै पक्राउ परे ।

footer