kumari
stcnepal

जसरी भएपनि सत्ता हत्याउने खेलमा सत्ता गठबन्धन

 

काठमाडौ । निर्वाचनको मिति नजिकिएसँगै राजनीतिक दलहरुले आ–आफ्नो सक्रियता बढाउँदै लगेका छन् । तर जनतामा भने त्यति उत्सुकता देखिएको छैन । त्यसको एउटै कारण हो दलहरुले निर्वाचन जित्न ठुला ठुला झुठका आश्वासन बाँड्ने र ती आश्वासनहरु पूरा नहुनु नै हो ।
निर्वाचनमा जनतासामु गएका उम्मेदवारहरु निर्वाचन जितेपछि आफ्नो निर्वाचन क्षेत्रमा फर्किएर नआउनु अर्को कारण हो । राजनीतिक दलहरुले आफूहरु मालिक र जनतालाई नोकर सम्झने प्रवृत्तिको अन्त्य नभएसम्म निर्वाचनको बेलामा पनि जनतामा उत्सकृता देख्न सकिने अवस्था रहँदैन ।
निर्वाचनको बेला राजनीतिक दलहरुले जनतासामू ल्याउने घोषणापत्रहरु र दलका नेताहरुले दिएका आश्वासनहरु जबसम्म पूरा गरिँदैन तबसम्म जनतामा कुनै उत्सुकता आउन सक्दैन । चुनावी घोषणापत्र जनतालाई देखाउने हात्तीको दाँत जस्तामात्र भएका छन् ।
विगतको निर्वाचनमा दलहरुले आ आफ्नो घोषणापत्रमा उल्लेख गरेका कति कुराहरु पुरा गरे र कति बाँकी रहेका छन् भन्ने कुनैपनि राजनीतिक दलहरुले समिक्षा नगरेका र असम्भव विषयहरु राखेर घोषणापत्रहरु जनतासामू ल्याइने परम्परा नै गलत रहेको छ ।
राजनीतिक विकासको लागि हुनपर्नेमा आ आफ्नो विकासको लागि राजनीतिलाई कमाई खाने भाँडोको रुपमा प्रयोग गरिएको र जनतालाई मत हाल्ने हतियारको रुपमा मात्र हेरिएकाले गर्दा जनतामा एक प्रकारको वितृष्णा बढ्दै गएको छ ।
मंसिर ४ गते सम्पन्न हुने संघीय संसद र प्रदेशसभाको निर्वाचन पनि एक किसिमको कर्मकाण्डी जस्तै भएको छ । सत्ता गठबन्धनमा रहेका दल र सत्ताको नेतृत्व गरिरहेका नेपाली कांग्रेसका सभापति समेत रहेका प्रधानमन्त्री शेरबहादुर देउवाले नै जसरी भएपनि सत्ता गठबन्धनले निर्वाचन जित्नै पर्दछ भन्ने उद्घोष चुनावी सभामा गरिरहेकाले गर्दा प्रष्ट हुन्छ सत्ता गठबन्धन फेरी सत्ता हत्याउनकै लागि मात्र उद्दत रहेको छ भनेर । सत्ता गठबन्धनमा रहेका दलहरु सँयम भएर निर्वाचनमा जानु पर्ने होइन र ?
प्रधानमन्त्री देउवाले निष्पक्ष भएर सरकारको नेतृत्व गर्नुपर्नेमा उनी आफैँ गठबन्धनलाई जिताउन जनतासँग अपिल गरिरहेका छन् । देउवा सरकारको गठन भएको १६ महिना पुगिसक्दा पनि जनताले झुठा आश्वासन बाहेक अन्य केही पाउन सकेका छैनन्, नेकपा एमालेका अध्यक्ष केपी ओलीलाई गाली गर्नु बाहेक सत्ता र सत्ता गठबन्धनले जनताको पक्षमा उदाहरणीय एउटा पनि काम गर्नसकेका छैनन् ।
मुलुकको अर्थतन्त्र डामाडोल अवस्थामा पुगेको छ । ओली सरकार हुँदा १३ महिनाका लागि आयात गर्न पुगने विदेशी मुद्रा सञ्चिती रहेकोमा अहिले ७ महिनासम्मका लागि आयात धान्न सक्ने अवस्थामा पुगेको छ ।
काठमाडौ उपत्यकामै खानेपानीको हाहाकार मच्चिएको भएपनि मेलम्चीको पानी कहिले आउँछ भन्ने टुँगो लागेको छैन ।
सरकारले समय सार्दै गएको छ । कोरोना र डेँगुका संक्रमितहरुले सहज रुपमा उपचार पाउन सकेका छैनन् । सरकारी अस्पतालहरुबाटै विरामीहरु लुटिएका छन् । मुलुक समस्या नै समस्यामा डुबेको बेला पाँच दलीय गठबन्धन ने खेलमै सक्रिय भएको छ ।
सत्ता हत्याउने खेलबाहेक सत्ता गठबन्धनको अर्को कुनै रणनीति नभएको र जसरी भएपनि सत्ता हत्याएर आफ्नो स्वार्थ पुरा गर्ने रणनीतिक उदेश्यले सत्ता गठबन्धन अघि बढेकाले प्रष्ट हुन्छ सत्ता गठबन्धन र देउवा सरकार पनि मुलुककै लागि घाँडो सावित भयो भनेर ।

footer