परमादेश सरकार कता हरायो ?
वि.सं.२०७८ भदौ १७ बिहीवार १६:४२
shares

राजन कार्की
सर्वोच्च अदालतको परमादेशबाट बनेको देउवा सरकार हुरीको चरो बनेर अन्यौलग्रस्त छ भनिदैछ । देशमा यतिबिघ्न राष्ट्रिय र आन्तरिक समस्या र संकटहरु छन् । जुध्नका लागि इमानदार सरकार चाहिनेमा सरकार बनाउने देउवा, माधव, प्रचण्ड, जसपा र राजमो आपसमा सत्ता साझेदारीको झगडामा रुमल्लिरहेका छन् ।यसकारण त विश्लेषकहरु भन्छन्– चटकजस्तो तरिकाले संसदले दिनुपर्ने सरकार सर्वोच्चले दियो । मन्त्रिपरिषदलाई पूर्णता दिन नसक्नेहरु ५२ दिनदेखि अकर्मण्य बनिरहेका छन् । जुन सरकारको जन्म नै अप्राकृतिक रुपमा भएको छ, त्यस्तो सरकारले कसरी प्राकृतिक रुपमा काम गर्न सक्थ्यो र ? फेरि पनि जनताका हातमा लाग्यो शून्य ।संसदबाट घोषणा गरेर संप्रभूता कायम हुने होइन रहेछ । जन–जनको माटोप्रतिको माया भयो भनेमात्र सम्प्रभूता कायम हुनेरहेछ । संक्रमण दिनदिनै सल्कदो र बढ्दो छ । देशमा संक्रमण घटेको छैन । सर्वोच्च अदालतमा न्यायाधीशसमेत भ्रष्ट छन् भन्ने रिपोर्टले देखाएको तस्वीर संक्रमण बढ्यो भन्ने नै हो । न्यायपूर्ण समाजको परिकल्पना गर्ने, अन्यायका अवस्थाहरु बढ्दै जानु भनेको भयानक संक्रमण हो ।
यो संक्रमणले प्रश्न उठाएको छ– संप्रभू भनेको के हो ? कसको संप्रभू ? कसले दिएको संप्रभू ? जनताको कुन र कति अभिमतको संप्रभू ? ठूला नेता वा दलको सहमतिमा मात्र संप्रभूता स्थापित हुनसक्छ ? परिवर्तनपछिका १५ वर्ष मुलुकमा राजनीति भष्मासूर अवतार लिइरहेछ । यो भष्मासूर राजनीतिक लोकले पत्याएको संप्रभू हो ?
चुनाव हारेका व्यक्तिले सरकार चलाए, अदालतका न्यायाधीशले सरकार हाँके, चुनाव जितेकाले सरकार चलाए, अदालतले बनाइदिएको सरकार चल्यो । यही हो सम्प्रभूता ? जस्तो जस्तो सरकार चल्दै आयो, चलिरहेछ– कस–कसका कति जनविश्वासमा उठेको संप्रभूता हो ? लालकिल्लाको मदारी र पश्चिमाको चकमादिने चटक अथवा उत्तरले सुमसुम्याएको साखुल्लेपनको भुलभुलैयामा भुल्ने संप्रभूता हो कि ? कुपात्रहरुको कुम्भमेलाजस्तो बन्यो नेपालको राजनीति । अनिश्चितताको प्रेत राजनीतिले नेपाललाई पिर्न थालेको छ । नागरिकको हालत उखान जस्तो छ– अघि राँडी जानिन, पछि राँडी मानिन, बाघ लाग्यो घिच्याउन, राँडी लागी चिच्याउन । विदेशीले जयसिंह धामीलाई तुइन चुँडालेर महाकालीमा हेलिदिएझैं हेलिदिए, विदेशपरस्त नेतृत्वबाट पार पाउन गाह्रो प¥यो ।
लोकतन्त्रवादी हुँ भन्नेहरुले बुझ्नुपर्छ वा तिनलाई जनताले बुझाउनु पर्छ– सिक्किम गयो, फर्किएन । अफगानिस्तान बारुदमाथि पड्किरहेछ । अस्तित्व र सतित्व गएपछि फर्कदैन ।सन्यासी समाजमा ‘आतूर भोज’ को चलन छ । आफ्नो अन्तिम घडी आउन लाग्यो भनेपछि सन्यासीले ‘आतूर भोजन’ खान्छ अर्थात् आफ्नो पिण्ड आफै खान्छ । राजनीतिमा भोरजूवा र सत्ता भोज चलिरहेछ । गैरजिम्मेवार राजनीतिले ‘आतूर भोज’ त खाइरहेको छैन । भोजभट्ट राजनीतिमा ‘हिमालको यति’ र ‘नेताको नैतिकता’ दुबै दुर्लभ हुनपुग्यो । जननेता हुँ भन्नेहरुले जन हित र राष्ट्रको स्वाधीनता आलुभन्दा सस्तो बनाए ।
१९७९ अप्रिल ४ का दिन । पाकिस्तानका शासक जियाउल हकबा झुण्ड्याउन आदेश पाए जुल्फीकर अली भुट्टोले आकाशतिर फर्केर ‘या खुदा, मै बेगुनाह हँु’ भनेर चिच्याउँदा कसैले सुनेनन् । नेपालमा न्यायको स्थिति ठिक त्यस्तै हुनपुगेको छ ।
कालाजातिको हकका लागि मार्टिन लुथर किङ लडे, नेपाली हितका लागि लड्ने कोही छैनन् । कालिगडको काम कारीगरी हो, राजनीतिको काम सेवा हो । नेपालमा न कालिगड छन्, न कारीगरी ? जो छन्, हास्यव्यङ्गका ‘भोकलाग्यो’ मात्र छन् र खानामात्र खोज्छन् ।
सुखी नेपाली, समृद्ध नेपाल नेताहरुको हात्ती र हात्तीछापे चप्पलजस्तो लोकतान्त्रिक निरङ्कूशताको चिसो छिंढीमा सुन्निएर मोटाएको छ । लोकतन्त्र केही नेताहरुको खेलौना बनेको छ । नेपाली छाती बिदेशी स्वार्थ उमार्ने मलिलो माटो बनेको छ । कमिशनका लागि ‘मुत्यु बेच्ने’ साउदी दलाल अदानन खसोगी वा सुपारी लिएर मान्छे मार्ने दाउदभन्दा डरलाग्दा नेताहरुले हरेक दिन नेपाल र नेपालीलाई चुसिरहेका छन् ।
नेपालीत्व खतरामा छ । टिस्टा काँगडा भन्न पाइएन । मेची–महाकाली पनि भन्न पाइएला नपाइएला ? सगरमाथा हाम्रो शीर भन्थ्यौं, टोपी हाम्रो गौरव भन्थ्यौं, संस्कृति–परम्परा–धर्म केही पनि सुरक्षित भएन । नेपाली रहनसहन, शैली–संस्कार रहला नरहला ? राजनीति नाङ्गिएपछि राष्ट्र परतन्त्रको जुत्तामुनी पुग्छ । राष्ट्रको स्वाधीनता कतिञ्जेल रहला ? आज छौं, हाम्रो भोलि संकटग्रस्ता देखिन्छ ।
सन १९५९ मा आफ्नो भूमि त्यागेर र सम्पत्ति कुम्ल्याएर भारतको धर्मशालातिर भागेका दलाई लामाले समेत नेपालमा स्वतन्त्र तिब्बतको युद्धमोर्चा खोलेका छन् । फिलिपिन्समा रहेको अमेरिकी युद्धक बिमानहरुको विश्रामस्थल र इन्धन आपूर्ति केन्द्र नेपालमा सार्ने भित्री योजना बन्दैछ । एमसीसीको आधारभूमि चीनका लागि संवेदनशील क्षेत्र मानिएको नेपालको अपरमुस्ताङ्लाई बनाउन नेपालले स्वीकृति दिएछ । नेपाल पानी, पेट्रोलियम र उच्चस्तरीय युरेनियमको खनिज खानीका कारणले पनि सामरिक स्थल हो । जो नेपालको पक्षमा बोल्छ, ती सबैलाई ‘प्रतिगामी’ को ठप्पा लगाईदिए पछि अर्को सुनामी किन चाहियो ? शान्ति र समृद्धिका नाममा षडयन्त्र हुँदैछ । नेपाल शक्तिराष्ट्रहरुको अखडा बन्यो । यही उकुसमुकुसमा नेपाल सरकार, नीति निसास्सिदै छ ।
के थाहा, को भन्नसक्छ भोली के हुन्छ ? नयाँ नेपाल बनाउनेले नेपाललाई विदेशी छातामुनी पु¥याउन सक्छन्, टुक्रा–टुक्रा पारेर बाइसे, चौबिसे पनि बनाउन सक्छन् । बाबुराम भट्टराईले भनेझैं देश आधा भारत र आधा चीन पनि बन्न सक्छ । प्रदीप गिरीले संसदमै बोलेझैं भारतले सकेका बेलामा नेपाललाई भारतमा मिलाउन सक्छ । चौतर्फी अतिक्रमण बढेको गौरवपूर्ण नेपाल च्यातियो भने अकर्मण्य नेताहरुकै कारण च्यातिन्छ र त्यतिबेला नेपालीले पश्चाताप मात्र गर्नुपर्नेछ । यसकारण प्रत्येक नेपालीले सोचौं ।
लोकतन्त्र लोकलज्जाको लक्ष्मणरेखाभित्र मात्र बाँच्छ । अपराध गर्ने कुनै पनि जापानिज बदनाम हुने भो भनेर डराउँछ र आफूले आफ्नै पेटमा तरवार घोचेर ‘हाराकिरी’ गर्छ । नेपालमा निर्धनले तिरेको राजश्व र गरिबको गर्धन रेटेर पनि शिर उठाएर हिड्छन् । शोषणको सिकार बनेका नेपाली कंश र औरंगजेवहरुको पूजा–आराधना गर्दागर्दै जुग जुग बिताइरहेछन् । न जनतामा होस् छ, न नेतामा नैतिकता ? महाकवि लक्ष्मीप्रसाद देवकोटाले यस्तै प्रवृत्ति देखेर लेखेका होलान्– ‘प्रभूजी मलाई भेडो बनाउ ।’अर्थात् पशुहरुको भीडमा मानिस भएर बाँच्न कठिन छ ।
नेपाली कांग्रेस, राप्रपा, अन्य दलीय नेताहरुको राष्ट्रवाद देखेर २१औं शताब्दीका सोसलिष्ट इन्टरनेशनलका जो वाइडेन, मोमार गद्दाफी, रोड्रिगो डुटेर्टे, सी चीनफिङ, डिमिट्री मेडभेडेभ, एन्टोनिस समारास, नरेन्द्र मोदी, तोमिसलाभ निाकोलिक, भिक्टर अरवान, भ्लादिमिर पुटिन, किमजोङ उन, निकोलास मुडुरो, लियोनेल ब्रिजोला, प्रायुट चानोचा, सिन्जो आबे, ओमार अल बसिरहरु गिज्याउँदा हुन् । नेपालका कम्युनिजम देखेर माओको सुरक्षित मृत शरीर अथवा चारु मजुमदारको आत्मा समेत रुदो हो । किनभने नेताहरुले लोकतान्त्रिक जामा त लगाए, जामाले मुख छोप्दा यौनाङ् नाङ्गै भएको चालै पाएनन् । माटो असुरक्षित छ, माटोवादी कोही निस्किएनन् । तरवारमुनी सुत्ने जुनसुकै बेला तरवार खसेर काटिन सक्छ । हामी नेपाली अफगानिस्तानमा जस्तै काटिने, मारिने जोखिममा छौं ।



































