आज उच्चस्तरीय राजनितिक संयन्त्रको बैठक बस्दै
वि.सं.२०७९ माघ २६ बिहीवार ०८:०४
shares

काठमाडौं ।सत्ता साझेदार नेकपा एमाले अध्यक्ष केपी शर्मा ओली नेतृत्वको उच्चस्तरीय राजनीतिक संयन्त्रको बैठक बस्दैछ । बुधवार अध्यक्ष ओलीको बालकोट स्थित निवासमा प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड र ओली बीच भएको भेटवार्तापछि आज संयन्त्रको बैठक बस्न लागेको हो ।
दुई महिना नपुग्दै रवि लामिछाने नेतृत्वको राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) प्रचण्ड सरकार बाट बाहिरिएको स्थिति र माओवादी केन्द्रले ‘सहमतीय राष्ट्रपति’को अडान लिए पछि सत्तारुढ दलमा खटपट सुरु भएको अवस्थामा यो बैठक बस्न लागेको हो । बैठकमा मुख्यतः प्रचण्ड सरकारको पूर्णता, राष्ट्रपतिको निर्वाचन लगायतको विषयमा छलफल हुनेछ ।
प्रधानमन्त्री निवास बालुवाटारमा हुने संयन्त्रको बैठकमा एमाले सहित नेकपा माओवादी केन्द्र, राष्ट्रिय प्रजातन्त्र पार्टी, जनता समाजवादी पार्टी, जनमत पार्टी, नागरिक उन्मुक्ति पार्टी लगायत सत्ता साझेदारका प्रतिनिधि नेताहरूको उपस्थिति रहनेछ ।





































