विश्वविद्यालयबाट उत्पादित जनशक्ति राष्ट्र र जनता प्रति उत्तरदायी र कर्तव्य पूरा गर्नसक्ने हुनु हुनुपर्छ : प्रधानमन्त्री प्रचण्ड
वि.सं.२०७९ चैत २६ आइतवार १६:३८
shares

कञ्चनपुर । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले विश्वविद्यालयबाट उत्पादित जनशक्ति राष्ट्र र जनताप्रति उत्तरदायी र कर्तव्य पूरा गर्नसक्ने हुनुपर्ने बताएका छन् । कञ्चनपुरको महेन्द्रनगरमा आइतबार आयोजित सुदूरपश्चिम विश्वविद्यालयको तेस्रो दीक्षान्त समारोहलाई सम्बोधन गर्दै कुलपति समेत रहेका प्रधानमन्त्री प्रचण्डले विश्वविद्यालयबाट उत्पादित जनशक्ति चरित्रवान् र अनुशासित हुनुका साथै राष्ट्र र जनताप्रति उत्तरदायी र कर्तब्य पूरा गर्नसक्ने हुनुपर्ने बताएका हुन् ।
लोकतान्त्रिक मान्यताका पक्षमा दह्रो ढंगले उभिने, नवीनतम खोज, अनुसन्धान र विकासको गतिलाई पक्रिँदै नेपाललाई सुहाउँदो विकासको मार्गचित्र, अर्थतन्त्रको ढाँचाको खोजी, समाज रूपान्तरणको कार्यदिशा निर्माणका लागि दक्ष जनशक्ति उत्पादन गर्नसक्नुपर्ने प्रधानमन्त्री प्रचण्डको भनाइ छ । यसका लागि विश्वविद्यालयको शिक्षा समेत सिर्जनात्मक, युग सुहाउँदो, वैज्ञानिक एवम् प्राविधिक जनशक्ति उत्पादन गर्ने किसिमको हुनुपर्ने बताउँदै उनले विश्वको शैक्षिक बजारमा प्रतिस्पर्धा गर्नसक्ने जनशक्ति उत्पादनका लागि विश्वविद्यालयले समयानुकूल शैक्षिक तथा व्यवस्थापकीय क्षेत्रमा सुधार गर्दै अघि बढ्नु जरूरी रहेको बताए ।





































