भारत भ्रमण सार्थक र फलदायी भयो : प्रधानमन्त्री दाहाल
वि.सं.२०८० जेठ २१ आइतवार ०७:११
shares

काठमाडौं । भारतको चारदिने औपचारिक भ्रमण पूरा गरी स्वदेश फर्कनुभएका प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले आफ्नो भ्रमण फलदायी र सार्थक भएको बताएका छन् । भारत भ्रमण पुरा गरी शनिवार स्वदेश फर्किए लगतै त्रिभुवन विमानस्थलमा पत्रकार सम्मेलन गर्दै प्रचण्डले आफ्नो भ्रमण फलदायी र सार्थक भएको भन्दै भ्रमण बाट दुई पक्षीय सम्बन्ध थप प्रगाढ भएको बताए ।
उनले अहिलेको भ्रमण विगतको भ्रमण भन्दा फरक रहेको र परिणाममुखीका साथै भविष्यका निम्ति स्पष्ट मार्गदर्शन समेत गरेको बताए ।उनले भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीलाई नेपाल भ्रमणको निम्तो दिएको र उपयुक्त समयमा भ्रमण गर्ने बताएको जानकारी दिए ।उनले भ्रमणका क्रममा सीमा समस्या, तराईका क्षेत्र डुबानका विषय, ऊर्जा क्षेत्र लगायतमा महत्त्वपूर्ण छलफल भएको जानकारी दिए ।
प्रधानमन्त्री प्रचण्डले भ्रमणका क्रममा एक धार्मिक कार्यक्रममा सहभागी भएको विषयलाई अतिरञ्जीत गर्न खोजिएको गुनासो गरे । आफू कुनै पनि धर्म विरोधी नभएको र धर्मनिरपेक्षवादी भएको उनले बताए । भारत भ्रमणका क्रममा प्रधानमन्त्री प्रचण्डले भारतीय समकक्षी नरेन्द्र मोदीसँग ‘वान टु वान’ भेटवार्ता र प्रतिनिधिमण्डल स्तरीय छलफल गरेका थिए ।
उनले भारतको मध्यप्रदेश स्थित इन्दौर सहरमा पुगी त्यहाँको फोहर व्यवस्थापनको बारेमा जानकारी लिनुका साथै विज्ञान प्रविधि सम्बन्धी क्षेत्रको अवलोकन गरेका थिए । भ्रमणका क्रममा नेपाल–भारत बीच ऊर्जा व्यापार सम्झौता, पारवहन सन्धि नवीकरण, अन्तरदेशीय प्रसारण लाइन निर्माण लगायतका विभिन्न सम्झौता एवं समझदारी भएका छन् ।





































