न्यायाधीशले पैसा लिएर स्टे अडर दिएको कोशी प्रदेशका मन्त्रीको आरोप
वि.सं.२०८० असार १० आइतवार १४:१३
shares

काठमाडौं। कोशी प्रदेशका सामाजिक विकासमन्त्रीले विराटनगर उच्च अदालतका न्यायाधीस माथि गम्भीर आरोप लगाएका छन् । आइतबार बिहान विराटनगरको शिक्षादिप कलेजको कार्यक्रमलाई सम्बोधन गर्दै सामाजिक विकासमन्त्री बुद्धिकुमार राजभण्डारीले उच्च अदालत विराटनगरका न्यायाधीशले पैसा दिएर प्रदेश खेलकुद विकास बोर्डका सदस्यसचिवको पक्षमा आदेश गरेको भन्दै गम्भीर आरोप लगाएका हुन् । सदस्य सचिवलाई ‘स्टेअर्डर’ दिने न्यायाधीश फटाहा र जनताको नाममा कलंक भएको उनले टिप्पणी गरे । कोशी प्रदेश सरकारको गत जेठ ३ गते को मन्त्रिपरिषद् बैठकले खेलकुद बोर्डका सदस्यसचिव हंसराज वाग्लेलाई बर्खास्त गर्ने निर्णय गरेको थियो।
सरकारको निर्णय विरुद्ध वाग्लेले उच्च अदालत विराटनगरमा रिट दायर गरेका थिए। उच्च अदालतका न्यायाधीश कृष्णकमल अधिकारीको इजलासले प्रदेश सरकारको उक्त निर्णय कार्यान्वयन नगर्न जेठ ५ गते अन्तरिम आदेश दिएको थियो। प्रदेश खेलकुद बोर्डको सदस्यसचिवले प्रदेशको नाम ‘कोशी’ नै मेटेर फुटबल प्रतियोगिता गराएपछि आफूहरुले स्पष्टीकरण सोधेको उनको भनाइ छ । ‘स्पष्टीकरण चित्त बुझ्दो नभएर हामीले उहाँलाई पदबाट हटायौं । अनि पदबाट हटाएपछि उच्च अदालतमा मुद्दा दायर भयो । हिजो उच्च अदालतमा मुद्दा दिएका त्यही बोर्डका सदस्यसचिवको मुद्दा अहिलेसम्म हेर्न नसक्ने अदालतका न्यायाधीश आज त्यही पदका सदस्यसचिवले दिएको मुद्दामा स्टेअडर गर्न तयार छ । त्यो किन भने मेरो ठाडो भाषामा भन्न सक्छु, बद्नियत गरेकै हो न्यायाधीशले । त्यो न्यायाधीश फटाहा हो । त्यो न्यायाधीश जनताको नाममा कलंक हो । सदस्य सचिवलाई सरकारले कारबाही गर्दा पैसा लिएर स्टे अडर गर्ने न्यायाधीश खराब हो,’ उनले भने।
आफू जेल जान पनि तयार भएको भन्दै उनले प्रदेश खेलकुद बोर्डको अघिल्ला सदस्यसचिव कृष्ण बस्नेतको मुद्दा अहिलेसम्म हेर्न नभ्याउने न्यायाधीशले हालका सदस्यसचिव हंशराज वाग्लेको विषयमा भने चाँडो स्टे अर्डर दिनु पैसाको खेल भएको उनले बताएका छन् । ‘म यो उद्घोष गर्न चाहन्छु । म जेल जान पनि तयार छु । आपत्तिको कुरा भएन । यहीको कृष्ण बस्नेत भन्ने मान्छेको मुद्दा हेर्न नभ्याउने । फैसला गर्न नमिल्ने न्यायलयका न्यायमूर्तिहरु, अनि त्यही अर्को मुद्दामा फेरि हेर्ने र स्टे अर्डर गर्ने भनेको यो देश पैसाले बिग्रिएको हो, भ्रष्टाचारले बिग्रिएको हो,’ राजभण्डारीले भने, ‘त्यसो भएको हुनाले नेताले पनि भ्रष्टाचार गर्न पाइन्न, कर्मचारीले पनि भ्रष्टाचार गर्न पाइन्न, न्यायाधीशले पनि भ्रष्टाचार गर्न पाइन्न । यदि गर्ने हो भने तपाई न्यायालयबाट नमस्कार गरेर जानुहोस्, बिदा हुनुहोस् ।’




































