काठमाडौं महानगरपालिकाको मनोरञ्जन शुल्क डिजिटल प्रणालीमा ल्याउन हलहरुलाई निर्देशन
वि.सं.२०८० असार १९ मंगलवार १६:२४
shares

काठमाडौं । काठमाडौं महानगरपालिकाले महानगर क्षेत्रभित्र सञ्चालनमा रहेका १७ वटा फिल्म हललाई मनोरञ्जन शुल्क समावेश गरेर ३० दिनभित्र डिजिटल प्रणाली सञ्चालनमा ल्याउन निर्देशन दिँदै पत्र काटेको छ ।
फिल्म हलको टिकट डिजिटल प्रणालीमा लैजान र महानगरपालिकालाई पनि पहुँच दिन महानगरले भनेको हो । मनोरञ्जन करका करदाताले डिजिटल प्रणालीबाट प्रवेश शुल्क संकलन गरेको भए ३ दिनभित्र त्यसमा महानगरलाई पनि पहुँच दिन भनिएको छ ।
यस्तै डिजिटल प्रणालीमा कर सञ्चालन नगरेकाहरुले भने पत्र प्राप्त भएको मितिले ३० दिनभित्र प्रवेश शुल्क डिजिटल प्रणालीमा ल्याइ उक्त प्रणालीमा महानगरको राजस्व विभागलाई पहुँच दिलाउन पत्रमा भनिएको छ । १७ हलसहित भृकुटीमण्डपको फनपार्कलाई समेत पत्र काटिएको छ ।




































