दाहाल, देउवा र कोइरालाबीचको कबुलियतनामा रहस्य ?
वि.सं.२०८० कात्तिक १ बुधवार १७:४४
shares

काठमाडौँ । नेपाली कांग्रेस संघीय संसदको सबै भन्दा ठुलो पार्टी भएपनि उसले आफ्नो हैसियत गुमाउँदै गएको छ । त्यसको एउटै कारण हो सत्ता मोह र पार्टीभित्र रहेका गुट–उपगुटहरु । संस्थापन पक्षको नेतृत्व पार्टी सभापति शेरबहादुर देउवा लगायत उनका हनुमानहरुले गर्दै आएका छन् भने संस्थापन इतर पक्षको नेतृत्व शेखर कोइराला लगायतका नेताहरुले गर्दै आएका छन् ।
संस्थापन इतर पक्षलाई पेल्ने रणनीतिमा पार्टी सभापति नै लागेको हुनाले सभापतिले पार्टीको विधाननुसार पार्टी सञ्चालन गर्न नसकेको आरोप उनीमाथि लाग्दै आएको छ ।
कोशी प्रदेशमा कांग्रेसका २९ प्रदेश सांसद रहेका र सांसद उद्धव थापा दुई÷दुई पटक मुख्यमन्त्री बनेका भएपनि उनले विश्वासको मत लिँदा असम्वैधानिक प्रक्रिया अपनाएका हुनाले उनी पदमुक्त भएका भएपनि फेरी उनैलाई मुख्यमन्त्री बनाउन सभापति देउवा लागेका हुनाले शेखर कोइराला पक्षका हालका मुख्यमन्त्री केदार कार्की सहितका ८ सांसदले विद्रोह गरेका थिए ।
सभापति देउवाले आफ्नै पार्टीका उद्धव थापा बाहेक अरुलाई मुख्यमन्त्री बनाउनु भन्दा माओवादी केन्द्रका नेता इन्द्र आङ्बोलाई मुख्यमन्त्री बनाउने निर्णय सत्ता गठबन्धनबाट गराएपछि ८ सांसदले विद्रोह गरेका थिए ।
केदार कार्कीको नेतृत्वमा विद्रोह भएपछि एमालेले आफूँ प्रदेशसभाको ठुलो पार्टी भएपनि सरकार बनाउन आफूसँग प्रयाप्त सांसद नभएकोले गर्दा कांग्रेसका विद्रोही सांसद केदार कार्कीलाई मुख्यमन्त्री बनाउन समर्थन गरेका हुनाले कार्की मुख्यमन्त्री बन्न सफल भएका छन् भने उनले आफूसँगै विद्रोह गरेका कांग्रेसका शम्शेर राई र एमालेका रामबहादुर मगरलाई मन्त्रीमा नियुक्त गरेका छन् ।
कार्की मुख्यमन्त्री बनेपछि प्रधानमन्त्री पुष्पकमल दाहालले कोशी प्रदेशका मुख्यमन्त्री सत्ता गठबन्धनकै भएको भन्दै मुख्यमन्त्रीले गठबन्धनका सांसदहरुलाई नै मन्त्री बनाउने उद्घोष गरेका भएपनि मुख्यमन्त्रीले कांग्रेस विद्धोही सांसद र एमालेका सांसदलाई समेत मन्त्रीमा नियुक्त गरेर राजनीतिक इमान्दारिता देखाएका छन् । कांग्रेसका सभापति देउवा त्यस विषयमा मौन रहेका भएपनि प्रधानमन्त्री दाहाल भने आफ्नो पद गुम्ने डरले गर्दा कांग्रेसका सभापति देउवा र नेता शेखर कोइरालालाई गठबन्धनमा कुनै असर नपर्ने कबुलियत नामामा सही गराएर त्यही कबुलियत नामा बोकेर सत्ता गठबन्धन कुनै हालतमा नटुट्ने उद्घोष गर्दै हिँडेका छन् । तर नेपाली कांग्रेसकै नेताहरुले कबुलियत नामाको कुनै अर्थ नरहने भन्दै प्रधानमन्त्री दाहाललाई त्यसको जानकारी समेत दिइसकेको बताउँदै आएका छन् ।





































