linktrix Long Ad
Salt Trading Long Ad

राजनीतिक दलहरुप्रति जनताको विश्वास घट्दै

923
shares

 

पछिल्लो समयमा राजनीतिक दलहरु प्रति क्रमश जनताको विश्वास घट्दै गएको छ । मुलुकका पुराना दल र केही नयाँ दलहरुले समेत जनताको विश्वास जित्न सकेको देखिएन । पुराना दलहरु नेपाली कांग्रेस र नेकपा एमालेप्रति जनताले ठुलो विश्वास गरेर पटक÷पटक सत्तामा पु¥याएका थिए । २०४६ सालको राजनीतिक परिवर्तन पछि यिनै दलले सरकारको नेतृत्व गरेको भएपनि दलगत स्वार्थ र व्यक्तिगत स्वार्थले गर्दा जनताले सोचे अनुसारका काम कारबाही हुन सकेको देखिएन । पटक÷पटक सत्तामा पुगेका दलका नेताहरु भ्रष्टाचारको मामिलामा मुछिँदै आएका र राजनीतिक स्वार्थ र राजनीतिक दाउपेचले गर्दा त्यस्ता भ्रष्ट नेताहरुमाथि (अपवादलाई छोडेर) कानूनी कारबाही हुन नसकेकोले गर्दा जनतामा चरम असन्तुष्टि देखिँदै गएको भएपनि दलहरु सच्चिने अवस्थामा देखिएका छैनन् ।
पूराना दलहरु प्रति असन्तुष्टि जनाउँदै विकास र सुशासनलाई मुख्य मुद्दा बनाएर गठन भएको राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने आफैँ सहकारी ठगी काण्डमा मुछिएका हुनाले पुराना मात्र होइन नयाँ दलका नेताहरु पनि पुरानै दलको पथमा हिँडेका हुनाले जनताले भन्न थालेका छन्, ‘जुन जोगी आएपनि कानै चिरेको’ भनेर । अहिले राष्ट्रिय स्वतन्त्र पार्टी आफ्ना सभापति ठगी प्रकरणमा मुछिएर प्रहरी अनुसन्धानको लागि प्रहरी हिरासतमा रहेकाले रास्वपाले आफ्ना सभापति लामिछानेलाई सरकारले प्रतिशोध लिएको भन्दै सडक आन्दोलनमा गएको छ । रास्वपाको जन्म, विकाश र सुशासन भन्दै भएकाले गर्दा आफ्नो पार्टीका सिद्धान्त विपरित सडक आन्दोलन गरेर आफ्ना सभापतिलाई छुटाउन खोज्नु आफैँमा हास्यास्पद रहेको छ । भिडतन्त्र जम्मा गरेर कानुनलाई हातमा लिन खोज्नु कसैको लागि हितकर हुन सक्दैन । पूराना दलहरुलाई गाली गर्दा पाएको तालीलाई अहिले रास्वपाले राम्ररी नै प्रयोग गरिरहेको छ ।
पूराना भनिएका दलहरु अहिले कांग्रेस र एमाले एकारित र माओवादी केन्द्र दुईवर्ष अघि एमालेबाट अलग भएको एकीकृत समाजवादी र रास्वपा एकातिर रहेका छन् । पूराना दलहरुले गल्ती गरे भन्ने उद्घोष गर्ने एकीकृत समाजवादीको अध्यक्ष माधव नेपाल एमालेको नेतृत्वमा १४ वर्ष रहेका थिए भने उनी प्रधानमन्त्री समेत बनेका थिए । त्यसैगरी माअ‍ोवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल विगत ४० वर्षदेखि पार्टी अध्यक्ष रहेका र पटक पटक प्रधानमन्त्री समेत बसिसकेका व्यक्तिले कांग्रेस एमालेलाई गाली गर्नु उनको पार्टी स्वार्थ बाहेक अन्य केही हुन सक्दैन ।
२०७९ मंसिर ४ गते भएको संघीय संसदको निर्वाचनपछि पनि दाहाल २०८१ असार ३० गतेसम्म प्रधानमन्त्री रहेका थिए । करिब १७ महिना प्रधानमन्त्री रहँदा उनले जनताको हितका लागि के गरे ? अब त्यसको लेखाजोखा हुनुपर्ने बेला आएको छ । आफ्नो पार्टीभित्र नेतृत्व विकास गर्न नदिने र राजनीतिक र व्यक्तिगत स्वार्थ पूरा गर्न पटक÷पटक गठबन्धन गर्दै तोड्न माहिर रहेका दाहालले आफ्नो स्वार्थ अनुसार रास्वपालाई चलाएका थिए । जब रास्वपाका सभापति रवि लामिछाने सहकारी ठगी प्रकरणमा पक्राउ परे अनि त्यसबेला मात्र दाहालले भने रवि लामिछानेमाथि सरकारले प्रतिशोध लियो भनेर । माओवादी केन्द्रका अध्यक्ष दाहाल सघीय संसदको प्रमुख विपक्षी दलका नेता समेत रहेकाले उनले रवि माथि सरकारले प्रतिशोध लिएको हो भने किन उनी त्यसको प्रमाण दिन सक्दैनन त ?
गणतन्त्र आईसकेपछि पनि सत्ता र व्यावसायिक क्रियाकलापमा पुराना पात्र एवं पुरानै प्रवृत्तिको निरन्तरता र नयाँ भनिएका दलहरु पनि तिनै पुराना पात्र र प्रवृत्तिको कार्यमा रमाउन थालेका हुनाले दलहरुप्रति जनताको विश्वास घट्दै गएको हो । राज्यको लगाम लगाएर केही कुलिन वर्गले कुत असुल्ने र आफूँ शक्तिवान हुने प्रवृत्ति अहिले सतहमै देखिन थालेको छ । राजनीतिक दल र राजनीतिज्ञहरुको भ्रष्ट चरित्रले गर्दा विकास, सुशासन र समृद्धिको आशामा तुषारापात भएको छ । एकले अर्कोलाई गाली गर्दै यसरी नै राजनीतिक दलहरु अघि बढ्ने हो भने अहिलेका राजनीतिज्ञहरुको कुनै भविष्य देखिँदैन । सत्ताको नेतृत्व गर्ने र सत्तालाई कमाई खाने भाँडोको रुपमा प्रयोग गरिएको हुनाले मुलुकमा विकास हुन सकेको छैन भने समृद्धिको नारा त परै जाओस् ।
पुराना र नयाँ दलहरुबीचमा खासै अन्तर देखिएन ? नयाँ दलका नेतृत्वहरु पार्टी जन्मँदै गर्दा भ्रष्टाचारमा जोडिन थालेका र प्रहरीको अनुसन्धानमा रहेका हुनाले अब नयाँ वा पुराना भन्नुभन्दा पनि जनताको हित, विकास, सुशासन र समृद्धिको सम्वाहक बन्न सक्ने नेताको खाँचो नेपाली जनताको चासो हुनुपर्दछ भन्ने हामीले ठानेका छौँ ।

sapta chakra spa
below next and prev inner page
below international hompage
below entertainmnet insurance
napali patro below sports