नेतत्वले लोकतन्त्रलाई मह दलेको मन्दविष बनाए
वि.सं.२०८१ मंसिर २ आइतवार ०९:१९
shares

राजन कार्की
मह दलेको विष रहेछ लोकतन्त्र, यो विषले लोक मार्ने काममात्र गरेको छ ।
यसकारण त यो लोकतन्त्रप्रति जनास्था छैन । यी नेताप्रति जनविश्वास छैन । नेता देश र जनताको शोषण गर्दै जाने, जनता मर्दै जाने । संसारका सामु देखाउनलाई लोकतन्त्रको ब्यानर देखाउने ।
जीवन पद्धति लोकतन्त्र हुनुपर्ने हो, नेतापद्धति बन्यो । जनताका लागि राहत, आडभरोसा हुनुपर्ने हो लोकतन्त्र, शोषण र भ्रष्टाचारतन्त्र बन्यो ।
यस्तो लोकतन्त्र हुनुभन्दा नहुनु बेश भन्छन् आमनागरिक ।
यसकारण त पार्टी छन् सिद्धान्त छैन । नेता छन् नीति छैन । घोषणापत्र छ, प्रतिवद्धता छैन । जवाफदेहीता छैन ।
संसद, संविधान, सरकार सबै छ, नियत ठिक छैन । प्रत्येक नेता जसरी पनि सत्ता, सम्पत्ति र शक्तिका लागि मरिहत्ते गरिरहेका छन् । त्याग र बलिदान, लोकलज्जा कसैमा केही पनि बाँकी छैन । १८ वर्षे लोकतन्त्र भ्रममा बित्यो ।
बीपी थिए, बीपीवाद थियो । मनमोहन थिए, जनताको बहुदलीय जनवाद थियो । मदन भण्डारी गए । कम्युनिष्ट ब्यापारी बने । राजनीतिमा माफियातन्त्र हावी हुनपुगेको छ । यसकारण कांग्रेस, एमाले, माओवादी, रास्वपा, राप्रपा हरेक पार्टीहरु देख्नाका डालमात्र छन् । हरेक पार्टीका नेता बदनाम छन्, भ्रष्टाचारबाट दागी छन् । छन त मोहनविक्रम सिंह, मोहनचन्द्र अधिकारी हामीबीच छन्, उनीहरूलाई यो लोकतन्त्र १८ वर्षमा किन असफल भयो, बोल्दैनन् । स्थापित पार्टीहरुले उनीहरुलाई किनारा लगाइदिएका छन् ।
आफू सबैभन्दा असफल छन् । ०१७ सालमा निरङ्कुशता लादेको राजतन्त्रप्रतिको कम्युनिष्ट, कांग्रेसी धारणा अझै नकारात्मक छ, तर राजतन्त्र र प्रजातन्त्र सँगै लानुपर्छ, मेरो घाँटी जोडिएको छ भन्ने बीपीका सच्चा अनुयायीहरू अहिलेको लोकतन्त्र र नेताहरूका बारेमा स्पष्ट बोल्दैनन् । बीपीलाई असान्दर्भिक प्रमाणित गर्ने उनकै अनुयायी हुन् । कांग्रेसका सभापति शेरबहादुर देउवा आफूलाई बीपीका सच्चा अनुयायी मान्छन् तर कम्युनिष्टका पुच्छर बनेर सत्ताको च्याँखे थापेर बसेका छन् ।
जनयुद्धका लडाकाहरुसँग पनि तीतो अनुभव छ । सर्वहारावादी, समानता र अग्रगमनकारी माओवादीप्रति १० वर्ष जनयुद्ध गरेका लडाकाहरूको लोकतन्त्रभन्दा पनि आफ्नै नेताप्रति तिक्त अनुभव हुनुपर्छ । किनकि परिवर्तनलाई कमाण्डरहरूले बेयरर चेक बनाएर साटिरहेका छन्, जो लडाका हुन्, तिनका परिवारजन आँसु पिएर बसेको देखिएको छ । उनीहरु आफ्नो पुर्पुरो आफैले समातेर समाय बिताइरहेका छन् ।
६ महिनामा गर्ने काम थियो, संक्रमणकालीन न्याय । १८ वर्षपछि पनि यो विषय राजनीतिक बहानाबाजी बनेको छ । संक्रमणकालीन न्याय, जनयुद्धका कमाण्डरहरूका लागि स्वार्थपूर्ति गर्ने बहाना बनेको छ । यहीकारण हो आमनागरिकका लागि त लोकतन्त्र कौवालाई बेल पाकेसरह न हो । पीडितका लागि पीडामात्र छ ।
पूर्वराजा अभिभावकका रुपमा बोलिरहेका छन् । तर उनको आवाज नेताहरु सुन्नै चाहदैनन् । यही सबै देखेर होला, पूर्वराजाले नेपालजस्तो मुलुकमा राजतन्त्र र प्रजातन्त्र सँगै लैजानुपर्छ भनेर बोल्दा हिजो भाते पाठशालाको भात खाएर पढेका प्रजातन्त्रवादी बाहुन यसरी रिसाए कि उनले प्वाक्क भनिहाले– प्रजातन्त्रमा राजाले ज्ञान दिन थाले । यसो भन्ने बाहुन यतिबेला राष्ट्रपति बनेका छन् । राष्ट्रपति बन्दा उनी यति बदनाम छन् कि लोकतन्त्रको चरित्र उनमा देखिएन, देखाउन सकेनन् । हरेकलाई राज्यकोषको दोहन गर्नुपरेको छ, परिवारलाई पोस्नु परेको छ । देश र जनता टुहुरा बनेका छन् ।
इतिहास शिक्षा थियो, कसले पढ्ने ? नेपाल निर्माण र निर्माताको इतिहास नपढ्ने वा बुझेर पनि बुझ पचाउने यस्ता बाहुनका लागि पद ठूलो हो तर यिनको जीवनमा कहिले भुइँमान्छेको सम्मान आर्जन गर्न सक्लान् ? किनकि जो यति धेरै अहं पाल्छ, त्यो व्यक्ति ‘मान्छे’ बन्न मुस्किल हुन्छ । ठूलो पदमा पुग्नु असल मान्छे बन्नु होइन ।
लोकतन्त्र व्यापार बनेकै कारण युवाहरू विदेशीन बाध्य छन् । अमेरिकामा बिल गेट्स वा नासामा सहकर्मी नेपाली छन् । बेलायतको हाइकमाण्डमा सेना छ, सिंगापुरको बाक्लो ट्राफिक सिस्टम नेपालीले सञ्चालन गरेका छन्, कोरियामा ठूला पानीजहाज नेपालीले निर्माण गर्छन्, अष्ट्रेलियाको समाज कल्याण नेपालीको हातमा छ, कतारलगायतका खाडी मुलुकहरू नेपालीले बनाए, उत्तर कोरिया र अमेरिकाका राष्ट्राध्यक्षको वार्तास्थलोको सुरक्षा नेपालीले गरिदिए, बेलायतका राजकुमारले गोर्खा छन् भने म आरामले निदाउन सक्छु भनेको सबैले सुनेकै हो तर लोकतन्त्रले होनहार युवाशक्तिलाई निर्यात गरेर सत्ता चलाइरहेका छन्, तिनैमध्येका रामचन्द्र पौडेल भन्छन्– प्रजातन्त्रमा राजाले उपदेश दिने ? राजाले उपदेश दिंदा जनताले जिन्दावाद भन्छन्, राष्ट्रपतिले बोल्दा कसले सुन्छ ? राजाजसरी जनताको माझमा जाने हिम्मत राष्ट्रपति अथवा कुनै पनि पदधारण गरेकाहरूमा । लोकतन्त्रमा कोही लोकप्रिय छ भने किनारा लगाइएका राजा छन्, यो विश्वलाई थाहा छ । तर जनता बिद्रोह गर्न सक्दैनन्, पूर्वराजा हक जमाउन अग्रसर हुँदैनन्, पार्टीहरु लुट्नमै ब्यस्त छन् । नेपाल लथालिङ्ग देशको भताभुङ्ग चालामा छ ।
सुगौली सन्धिमा देशमाथि जालझेल गर्ने गजराज मिश्र र चन्द्रशेखरका आधुनिक अवतार यत्रतत्र सर्वत्र सलबलाइरहेका छन् ।
२०६५ साल जेठ १५ पछि राजा भीष्म बने र विदेशी वाण काँध थापेर स्वदेशी हातहरूले घोपेका वाणको शैयामा सुतेको राजसंस्थाले यतिबेला दिनसक्ने उपदेश नै हो र गर्नसक्ने ‘खबरदारी’ नै । पूर्वराजाले एक इन्ची पनि प्रजातन्त्रका सीमा नाघेका छैनन्, नागरिकको हैसियतमा रहेका छन् र बोलेका छन् । त्यत्ति पनि सहन गर्न नसक्ने डा.बाबुराम, माधव नेपाल र रामचन्द्र पौडेलहरू राजालाई चूपचाप बस्न आदेश दिन्छन् । पहिले देश निकाला गर्छु भन्थे, अहिले तर्साउन खोज्छन् । जबकि यिनीहरू आफै न सिद्धान्त, न नीति, न निष्ठा, न नैतिकताको सीमाभित्र छन् । यी आफै समय नाघेको ओखती नेता हुन्, यिनीहरू आफै प्रजातान्त्रिक जरिबुटीबाट विषबृक्ष बनिसकेका छन्, यिनले नागरिकमाथि बोल्न पाइन्न भनेर निरङ्कूशता लाद्ने ? अचम्म छ, नेपालको हुकुमी प्रजातन्त्र ?
जे त पर्ला भनेर यी भीष्मरूपी पूर्वराजा सुम्पिएको नासो फिर्ता लिन यिनका विदेशी वाणको शैयाबाट जुरूक्कै उठिदिए भने आउने कम्पन यिनले थाम्न सक्छन् ? जो आफ्नै चरित्रहीनताको भार थाम्न सकिरहेका छैनन्, तिनीहरू देश र जनताको भारबाट थिचिने किचिने छन् । त्यस्तो भूकम्पको आहट सुनिदैछ ।
१८ वर्षदेखि जुन वाणको शैयामा राजसंस्था घायल छ, यी नेपाली भीष्मलाई थाहा छ, यो अर्जुनको वाण होइन । १२ बुँदे दिल्ली सम्झौताको वाण हो, इसाइकरणको वाण हो । जसले वाण चलाए, ती नेपाली नेता थिए । नेता कम विदेशीको सातु सामल खाएका शिखण्डी थिए, तिनै शिखण्डी यतिबेला सत्ता र शक्तिमा छन् र राजालाई तर्साइरहेका छन् । यिनको कर्कश आवाज र धम्की यिनको पराइमन्त्र हो । ‘विदेशीले चावी भरेपछि चल्ने पुतला र यिनमा कति नै फरक छ र ?’ यिनमा विवेक थियो भने, आत्मसम्मान थियो भने परिवर्तनको १८ वर्षमा जुटेको देश र जनताको धैर्य यसरी टुट्ने थिएन । ०४६ सालमा पुनस्र्थापित बहुदल र ०६५ सालमा आएको गणतन्त्रले दिएको अनैतिकता र भ्रष्टाचारमात्र हो । कुनै पनि क्षेत्र र नेता यस्ता छैनन्, जहाँ भ्रष्टाचार नभएको होस् । संविधान त माइतीघर मण्डलामा रोइरहेको छ, न्यायदिने अदालत नै बिबादमा असरल्ल बनेको छ ।
०४६ सालमा भारतीय नेताहरू डीपी त्रिपाठी, हरकिसन सिंह, डा.फारूकी, एमजे अकवर, सुब्रमण्यम स्वामीहरूको लस्कर गणेशमान सिंहको चाक्सीवासीमा आएर राजतन्त्रमात्र होइन, नेपालै सिध्याउने चर्को भाषण समेत गरेका थिए । प्रजातन्त्रवादीले ताली पिटे । अहिले रंजित राय हिट छन् । उनले प्बतजmबलमग म्ष्झिmबस् च्भकभततष्लन क्ष्लमष्ब(ल्भउब ित्ष्भक पुस्तक लेखेछन्, जुन नेपालको स्वाधीताविरोधी छ, बोर्डरमा पर्खाल लगाइनु हुन्न भनेर वकालत गर्छ, त्यस्तो पुस्तक र लेखकलाई सत्तासीन दलका नेताहरूले ठूलै महत्व दिएका छन् । अचम्म छन्, ठूला पार्टी र ठूला नेता गोर्खाभूमिमा उभिएका छन् कि गोरखपुरमा ?
प्रजातन्त्र छ, प्रजामा सन्तोष छैन । संसद, सरकार, शितल निवास, पार्टीहरू महानगरले महिनौंदेखि नउठाएको फोहरका कन्टेनरजस्ता देखिन्छन् । यिनीहरूप्रति जनताको आस्था र आशा मर्दै गएको छ । जनताको निराशाले भन्छ– यिनै चरित्रहीन नेता शासक भइरहने हो भने यिनलाई जनताको घृणामात्र छ । यी घृणा पात्र हुन् । विदेशीले खोज्ने खेताला हुन्, खेतालालाई चाहिने ज्याला हो । स्वार्थको पछि लाग्ने विवेकहीनहरू भनेका अवसरवादी हुन् । नेपाली शासन व्यवस्थामा अवसरवादीहरूलाइन लागेर अवसर खोजिरहेका छन् । यिनीहरू स्वार्थ पूरा हुन्छ भने आफू, आफ्नो पुस्ता र बिगतको गौरवलाई पनि मार्न तैयार देखिन्छन् । राजनीतिक अराजकता र अस्वस्थ गालीगलौज जुन देखिएको छ, यो सबै नेतृत्वमा हावी स्वार्थ हो ।
१८१५ डिसेम्बर २ मा गिर्वाणविक्रमलाई धोका दिने गजराज मिश्र र चन्द्रशेखर उपाध्याय बृटिश इण्डियाको दलाल बनेका थिए । वर्तमान नेपालमा लोकतन्त्र भन्ने नेताहरु विदेशीकै दलाली खाइरहेका छन् । देश अस्तित्वको संकटमा फस्न पुगेको छ । सबैमा चेतना भया ।


































