गण्डकी प्रदेशकै उत्कृष्ट स्थानीय तह बन्यो कालिगण्डकी
वि.सं.२०८१ फागुन १ बिहीवार १३:५५
shares

काठमाडौ । स्याङजाको कालिगण्डकी गाउँपालिका कार्यसम्पादनको मुल्यांकनको आधारमा गण्डकी प्रदेशमा पहिलो र देशभरिमै उत्कृष्ट चौथो हुन सफल भएको छ । यस्तै स्याङ्जाका ३ गाउँपालिका गण्डकी प्रदेशकै उत्कृष्ट भएका छन् । कालिगण्डकी गाउँपालिका, आँधीखोला गाउपालिका र फेँदीखोला गाउपालिका क्रमशः पहिलो, दोश्रो र तेश्रो बन्न सफल भएका छन । ११ स्थानीय तह रहेको जिल्लाको ३ वटा गाउँपालिका गण्डकी प्रदेशका ८५ स्थानीय तह मध्येबाट प्रथम, द्धितिय र तृतिय भएका हुन् ।
राष्ट्रिय प्राकृतिक श्रोत तथा बित्त आयोगले गरेको कार्य सम्पादन कार्यविधि २०७८ दफा ८ को अधिनमा रही कार्य सम्पादनको आधारमा मूल्यांकन गरी अंक प्रदान गर्दा यहाँको कालीगण्डकी गाउँपालिका ७८.२ प्रतिशत अंक सहित गण्डकी प्रदेशकै प्रथम, आँधीखोला गाउँपालिका ७८ प्रतिशत अंक प्राप्त गर्दै द्धितिय र फेदिखोला गाउँपालिका ७७.९ अंक प्राप्त गर्दै तृतिय भएका हुन् । कालीगण्डकी गाउँपालिकाका अध्यक्ष खिम बहादुर थापाको यो दोश्रो कार्यकाल हो । पहिलो र दोस्रो दुवै कार्यकालमा अध्यक्ष थापाले गाउपालिकामा गरेका कामको निकै चर्चा हुँदै आएको छ ।
स्याङ्जामा ५ नगरपालिका र ६ गाउँपालिका रहेका छन ! ५ नगरपालिका मध्ये वालिङले ७३.७ अंक प्राप्त गरेको छ भने भीरकोटले ६५.७, पुतलीबजारले ७१.७ गल्याङ ले ६६.१ र चापाकोटले ६२.६ अंक प्राप्त गरेको छ । त्यस्तै गाउँपालिकातर्फ विरुवाले ७४.३, हरिनासले ५४.२, अर्जुनचौपारीले ६४.९ अंक प्राप्त गरेका छन् । गण्डकी प्रदेशमै पहिलो बनेको कालीगण्डकी गाउँपालिका देशभरीका ७५३ वटा स्थानीय तहमध्ये चौँथो स्थानमा रहँदा दोस्रो बनेको आँधीखोला गाउँपालिका देशभरीबाट पाचौँ बनेको छ ।



































