भू–राजनीतिको भूमरीमा नेपाल
वि.सं.२०८१ फागुन १ बिहीवार १३:५७
shares

राजन कार्की
विश्वशक्तिको नेपाल प्रवेशसँगै नेपाल भूराजनीतिको भूमरीमा फस्न पुगेको छ । त्यसै पनि नेपाल चीन र भारतजस्ता ठूला दुई ढुङ्गाको तरुलजस्तो थियो । त्यसमाथि पश्चिमा, युरोपियन र रुसले समेत नेपालको अर्थपूर्ण रणनीतिक भूमिमा आफ्नो चासो र चाख देखाएपछि नेपाल भूराजनीतिको जञ्जालमा फस्न पुगेको हो ।
नेपालको नीति थियो– असंलग्न परराष्ट्रनीति । पञ्चशीलको सिद्धान्तमा अडेको । विश्वशक्ति र छिमेकी शक्तिका वीच सन्तुलन कायम गर्न नसक्दा नेपालको परम्परागत नीति पानीजहाजको जस्तो ढलपल ढलपल अवस्थामा पुगिसकेको छ ।
खासगरी नेपालको राष्ट्रिय नीति छैन, राष्ट्रिय पार्टीहरुवीच मतैक्य छैन । जब राष्ट्रिय नीतिमा एकमत हुँदैन, राष्ट्र एक ढिक्का रहनसक्दैन । त्यसैको प्रतिफल साइड इफेक्टको मारमा राष्ट्र पर्न पुग्छ । यतिबेला नेपालको अवस्था क्रोनिक बन्दै गएको छ ।
नेपाल भूराजनीतिको भूमरीमा फस्दै गएको छ ।
नेपाललाई यो भूमरीबाट बचाउन परिपक्व राजनीति र कूटनीतिको आवश्यक पर्छ । जो थिङ्क टेंक छन्, तिनीहरु दोधारे बनेका छन् । सही र विवेकपूर्ण आवाज उठाइरहेका छैनन् । यसको कारण नेपाल थप समस्यामा जेलिन पुगेको हो ।
चीन जति शक्तिशाली बन्दै गयो, भारत जति ठूलो बजार बनेको छ, यसैको कारण विश्वशक्तिहरु नेपालको भूमिलाई रणनीतिक रुपमा हेर्न थालेका छन् । नेपालले बुद्धि नपु¥याउँदा नेपालनीति खजमजिएको छ । नेपालको कूटनीति अन्यौलपूर्ण बन्दै गएको छ । त्यसै पनि राजनीति अपराधिकरण भएको र प्रशासन भ्रष्ट बनेका कारणले अराजकता बढेको राष्ट्रमा विश्वशक्तिको प्रवेश र चलखेलले भूराजनीतिको चेपोमा राष्ट्र सकसमा पर्नु स्वभाविक हो । यो अवस्थाबाट सकुसल निस्कनका लागि नेपालले कूटनीतिक चतुरता देखाउनु पर्ने छ । त्यस्तो चतुरताको सम्भाबना तत्काललाई गाह्रो पर्दै गएको छ । राजनीतिक व्यक्तित्वले कूटनीतिक विज्ञहरुसँग सुझाव लिएर नचल्नु र कूटनीतिक तथा बुद्धिजीवीहरुलाई राजनीतिको पिछलग्गु बनाउने चरित्र विकास भएकाले पनि देशको अस्तित्व जोखिममा पर्दै गएको अनुभूति सबैले गरेका छन् ।
विश्वमा पटक पटक देखिएको छ, जसले भू–राजनीतिमा सन्तुलन कायम गर्न सक्दैन, त्यो राष्ट्र भयावह समस्यमा पर्ने गरेको छ । रुसविरुद्ध युक्रेन खडा भयो र सन्तुलन गुमायो, युक्रेनी जनताले त्यसको महगो मूल्य चुकाइरहेका छन् । युक्रेन टुक्रिने र भूभाग समेत गुमाउने अवस्थामा छ । यो हुनसम्मको पीडा युक्रेनी जनताले भोगिरहेका छन् ।
यस्तै अवस्था छ इजरायल र प्यालेस्टाइनको । इरानले समेत सन्तुलन गुमाउन थालेको छ । यथार्थमा अहंकारले कहीँको पनि छोड्नेवाला छैन । नेपालका नेताहरुमा सत्ताको अहंकार र विदेशीको लहैलहैमा लागेर आफ्नो स्थापित मान्यता र नीतिमा अडिन नसक्दा नेपाल भूराजनीतिको भूमरीमा परेको हो ।
१९९० मा जस्तो विश्वपरिस्थिति छैन अहिले । त्यो दशकपछि चीन असंलग्न रहेन । चीन आफ्नो व्यापार र प्रभाव बिस्तार गर्न बीआरआई नीति च्यापेको मात्र छैन, अमेरिका विरुद्धको मोर्चामा रुस र नर्थ कोरिया, पाकिस्तानसँग उभिएको छ । अमेरिकामा राष्ट्रपति ट्रम्पको दोस्रो कार्यकाल सुरुभएपछि व्यापार युद्ध नै सुरु भइसकेको छ । यो युद्ध समाप्तिको दिशामा गएन, सहमति हुनसकेन भने पर्यवेक्षकहरु तेस्रो विश्वयुद्धको खतरा देखिन थालेको समेत बताइरहेका छन् । भारत अमेरिकातिर छ कि रुसतिर स्पष्ट छैन । रुस र अमेरिकाजस्तै आफ्नो अलग नीति र अस्तित्व छ भनेर सन्तुलनकारी भूमिका निर्वाह गरिरहेको देखिन्छ । यद्यपि भारत रुस र अमेरिकासँग टाढिन सक्दैन । हालै फ्रान्समा भएको ए आई शिखर सम्मेलनमा फ्रान्सका राष्ट्रपतिले मोदीसँग हात मिलाएनन्, किन ? यसको चर्चाले सिङ्गो भारत डोलायमान भएको छ भने अमेरिका र चीनसम्म यसको कम्पन सुनियो ।
केही समय अघि भारतका प्रधानमन्त्रीले मस्को भ्रमण गरेका थिए भने मोदी फ्रान्सपछि अमेरिका भ्रमणमा गए । मोदी आउनुअघि अमेरिकाले आयात हुने स्टिलमा २५ प्रतिशत शुल्कमात्र लगायन, यसअघि अमेरिकामा इलिगल बसेका भारतीयलाई नेल कसेर भारत फिर्ता पनि गराइदिए । यसका अर्थ मोदी नीति दक्षिण एसियामा कडा हुँदैछ भने स्वतन्त्र तिब्बत नीतिमा अझ बलवतीका साथ अग्रसर हुने संकेत दिएको छ ।
अमेरिका विश्वको नम्बर वान राष्ट्रबाट नहट्ने संकेत हो यो । राष्ट्रपति ट्रम्पले विश्व स्वास्थ्य संगठन, बिमिस्टेक सबैतिरबाट हात झिक्दै छन् भने युएसआईडीलाई खारेज गरेर नयाँ नीति ल्याउँदैछन् । अमेरिकाको पैसा खाएर अमेरिकाको अहित गर्नेहरुको ओठमुख सुकाइदिएका छन् ट्रम्पले ।
नेपालको असंलग्न नीति र परिपक्व कूटनीतिकै कारण २०१७ सालको परिवर्तन सम्भव भयो, राजतन्त्र जाज्वल्यमान भयो । राजा महेन्द्रले महेन्द्र राजमार्ग र धेरै उद्योगकहरुमा रुस, चीन, भारत, अमेरिकाजस्ता शक्तिहरुलाई नेपालको हितमा उतारेकै हुन् । भ्रष्टाचार र असंलग्नताबाट तलबितल भएकै कारण दुई तिहाईको कांग्रेसको सरकार त्यतिबेला राजाबाट अपदस्त हुनपुगेका मात्र होइन, आमनागरिकले राजाकै जयजयकार गर्न पुगेका थिए ।
राजा महेन्द्र भारतभन्दा अगाडि बढ्यो भनेर भारतले राजामाथि षडयन्त्र गर्न थाल्यो, जनकपुरमा बम हान्यो । चीनका तत्कालीन रक्षामन्त्ती चेङ यी नेपाल आएर भारतलाई चेतावनी नै दिएको घटना पनि देखियो । नेपालमाथिको कुनै पनि हमला चीनविरुद्ध गरिएको ठानिने छ समेत उनले भने । उत्तर र दक्षिणको तत्कालीन अवस्थामा नेपालको सन्तुलनको राजनीतिको नमूना थियो त्यो ।
तर आज २०१५ मे १५ मा चीन र भारतले बेइजिङमा नेपालको लिपुलेकबाट व्यापार अघि बढाउने सम्झौता गरे । भारतले २०१९ मा नेपालको कालापानी, लिपुलेक, लिम्पियाधुरा भारतको नक्सामा मिलाए । नेपालले गरेको जनगणनामा समेत ती क्षेत्रमा नेपालले गणना गर्न सकेन । हालै भारत र चीनले लिपुलेकबाट भारतले बनाएको राजमार्गबाट चीनको कैलास मानसरोवरको यात्रा खोलिएको छ ।
अर्थात चीन बढी व्यापारी बनेर गएको छ । नेपालसँग पहिलेजस्तो सम्बन्ध राख्न चाहेन चीनले । २०५८ सालमा दरवार हत्याकाण्ड हुँदा समेत चीनले बोलेन । २०६५ सालमा राजतन्त्र हटाएर गणतन्त्र घोषणा गर्दासमेत चीन बोलेन । राजतन्त्रको अन्तिम दिनहरुमा चीनले आफ्ना राजदूतलाई तत्कालीन प्रधानमन्त्री गिरिजाप्रसाद कोइरालालाई ओहदाको प्रमाणपत्र बुझाउन लगायो ।
यो सबैको कारण नेपालको अपरिपक्व कूटनीति हो । परम्परागत असंलग्न परराष्ट्रनीति छोड्नु र शक्तिराष्ट्रका सामु राजनीतिक शक्तिहरुले त्वम्शरणम गर्नु पनि हो ।
राजतन्त्र भारतकै शक्तिमा जनयुद्ध चलाउने माओवादीसमेतलाई हतियार बनाएर जनआन्दोलन गर्न लगाउनु र १२ बुँदे दिल्ली सम्झौता गराएर बिस्थापित गराएकोमा कसैलाई शंका छैन । अवैधानिक रुपमा राजतन्त्र हटाउँदासमेत चीन बोलेन, भारत खुशी भयो । पश्चिमा शक्तिहरु इसाइकरण गर्न ढोका खुल्यो भनेर दङ्ग परे ।
जसरी कम्बोडियामा राजतन्त्र हटाइयो, नेपालमा पनि त्यसैगरी बलात् हटाइएको हो । त्यसपछि चीनले नरोदम सिंहानुकलाई साथ दियो र पुनस्र्थापित गराइदियो । १८ वर्षदेखि नेपालमा अपरिपक्व र अराजनीतिक अवस्था छ तर भारत, चीन, अमेरिका र अन्य विश्वशक्तिहरु दण्डहीन नेपालको परिदृश्य हेरिरहेका छन् ।
भित्रभित्रै नेपाल असफल राष्ट्र भएको र सुरक्षा अवस्था बिग्रेकोमा सबैका चिन्ता छ तर नेपालमा राजतन्त्र पुनस्र्थापना गरेर फेल भएको लोकतन्त्रलाई जिवन्त पार्न कसैको मौनता तोडिएको छैन । यसको कारण पनि नेपालका विवेकशीलहरुको उदासिनताले हो ।
भारतलाई राजतन्त्र बिनास गरेर विश्वमञ्चमा नेपालको फैलदो पखेटा काट्नु थियो, नेपाललाई भारतको बजार बनाउनु थियो, नेपालमा उद्योगधन्दा समाप्त पारेर भारतमुखी बनाइदिनु थियो । राजा वीरेन्द्रको वंश नाश र राजा ज्ञानेन्द्रको राजतन्त्र समाप्ति पार्न यहाँका राजनीतिक शक्ति अग्रसर भए, विदेशीले सहायता दिए । त्यसपछि गणतन्त्र आएको हो ।
गणतन्त्र आयो, अर्काको बलमा आयो । गणतन्त्र हाँक्नेहरुले नयाँ नेपाल बनाउने आशा देखाए, भएको नेपाललाई फूपुको धनजसरी लुटे । लोकतन्त्रलाई लुटतन्त्रमा परिणत गरे । पश्चिमा र दक्षिणा भिरङ्गी र फिरङ्गीले गणतन्त्रलाई सघाए, उत्तरले मौनता साध्यो । यसपछि नेपाल बाह्य शक्तिको बाहुबली अखडा बन्नपुगेको हो ।
राजनीतिले विवेक हरायो । व्यापार बढायो । कूटनीतिले विवेक गुमायो, उदासिन भयो । यसैको प्रतिफल मुलुकमा दल दलको दलदल छ, उत्तर–दक्षिण–पश्चिमको कित्ताकाट हुनपुगेको छ । यी कित्ताहरुमा नेपाली कित्ता छैन । यसबाट नेपाल भूराजनीतिक अवस्था डरलाग्दो धरापमा परिसकेको अनुमान गर्न सकिन्छ । यसको ज्वलन्त नमूना ठूला पार्टी, प्रभावशाली नेता कसको स्वार्थका बोलिरहेका छन्, बुझ्न सकिन्छ । कुनै नेता नेपाल र नेपालीको स्वार्थमा बोल्दैनन् । देशको भूमि गुम्दा समेत विदेशीको खर्चमा संसदमै खाजा खानेहरु बोल्दैनन् । यी जनप्रतिनिधि हुन् कि विदेशी प्रतिनिधि ? यसबाट बुझ्न सकिन्छ, नेपालको सकस बढ्दै गएको छ ।
एमसीसी मागियो, बिरोध गरियो र स्वागत भयो । अहिले दाताले नै एमसीसी रोकेको छ । यो खारेज हुन्छ कि निकास खोलिन्छ, अन्यौल छ । बीआरआई २०१७ मै स्वीकार गरियो, २०२४ मा सम्झौता पनि भयो, तर कार्यान्वयन भइसकेको छैन । नेपालमा युक्रेनका पक्षधर छन्, ताइवानका समर्थक र बिरोधी पनि छन् । दलाई लामालाई भेट्ने र उनको जन्मदिनको भोज खाने पनि नेपाली नेता पनि छन् । यो सबैको दुस्परिणामले नेपाललाई कुन किनारमा लछार्ला, पछार्ला, चिन्ता बढ्दै गएको छ ।
नेपालमा राजनीति र कूटनीतिक अराजकताले असमान्य स्थिति र प्रवृत्ति बढेको छ । यस्तो पद्धति, राजनीति र नेतृत्वाबट नेपाल सुरक्षित हुनसक्दैन । नेतृत्व देशका लागि भन्दा परदेशका लागि प्रयोग हुने खतरा बढी छ ।
नयाँ पुस्ता सचेत छ, यो सचेत र विवेकी पुस्ता अग्रसर हुनैपर्छ । तवमात्र भूराजनीतिक भूमरीमा पर्दै गएको मुलुक सुरक्षित हुन सक्ला ।
































