सरकारले अपवादका लागि पाएको सुविधालाई दुरुपयोग गर्दै जब नियमित बनाइन्छ त्यसले कति सम्म...

पुरा पढ्नुहाेस्

linktrix Long Ad
Salt Trading Long Ad

भू–राजनीतिको भूमरीमा नेपाल

559
shares

 

राजन कार्की
विश्वशक्तिको नेपाल प्रवेशसँगै नेपाल भूराजनीतिको भूमरीमा फस्न पुगेको छ । त्यसै पनि नेपाल चीन र भारतजस्ता ठूला दुई ढुङ्गाको तरुलजस्तो थियो । त्यसमाथि पश्चिमा, युरोपियन र रुसले समेत नेपालको अर्थपूर्ण रणनीतिक भूमिमा आफ्नो चासो र चाख देखाएपछि नेपाल भूराजनीतिको जञ्जालमा फस्न पुगेको हो ।
नेपालको नीति थियो– असंलग्न परराष्ट्रनीति । पञ्चशीलको सिद्धान्तमा अडेको । विश्वशक्ति र छिमेकी शक्तिका वीच सन्तुलन कायम गर्न नसक्दा नेपालको परम्परागत नीति पानीजहाजको जस्तो ढलपल ढलपल अवस्थामा पुगिसकेको छ ।
खासगरी नेपालको राष्ट्रिय नीति छैन, राष्ट्रिय पार्टीहरुवीच मतैक्य छैन । जब राष्ट्रिय नीतिमा एकमत हुँदैन, राष्ट्र एक ढिक्का रहनसक्दैन । त्यसैको प्रतिफल साइड इफेक्टको मारमा राष्ट्र पर्न पुग्छ । यतिबेला नेपालको अवस्था क्रोनिक बन्दै गएको छ ।
नेपाल भूराजनीतिको भूमरीमा फस्दै गएको छ ।
नेपाललाई यो भूमरीबाट बचाउन परिपक्व राजनीति र कूटनीतिको आवश्यक पर्छ । जो थिङ्क टेंक छन्, तिनीहरु दोधारे बनेका छन् । सही र विवेकपूर्ण आवाज उठाइरहेका छैनन् । यसको कारण नेपाल थप समस्यामा जेलिन पुगेको हो ।
चीन जति शक्तिशाली बन्दै गयो, भारत जति ठूलो बजार बनेको छ, यसैको कारण विश्वशक्तिहरु नेपालको भूमिलाई रणनीतिक रुपमा हेर्न थालेका छन् । नेपालले बुद्धि नपु¥याउँदा नेपालनीति खजमजिएको छ । नेपालको कूटनीति अन्यौलपूर्ण बन्दै गएको छ । त्यसै पनि राजनीति अपराधिकरण भएको र प्रशासन भ्रष्ट बनेका कारणले अराजकता बढेको राष्ट्रमा विश्वशक्तिको प्रवेश र चलखेलले भूराजनीतिको चेपोमा राष्ट्र सकसमा पर्नु स्वभाविक हो । यो अवस्थाबाट सकुसल निस्कनका लागि नेपालले कूटनीतिक चतुरता देखाउनु पर्ने छ । त्यस्तो चतुरताको सम्भाबना तत्काललाई गाह्रो पर्दै गएको छ । राजनीतिक व्यक्तित्वले कूटनीतिक विज्ञहरुसँग सुझाव लिएर नचल्नु र कूटनीतिक तथा बुद्धिजीवीहरुलाई राजनीतिको पिछलग्गु बनाउने चरित्र विकास भएकाले पनि देशको अस्तित्व जोखिममा पर्दै गएको अनुभूति सबैले गरेका छन् ।
विश्वमा पटक पटक देखिएको छ, जसले भू–राजनीतिमा सन्तुलन कायम गर्न सक्दैन, त्यो राष्ट्र भयावह समस्यमा पर्ने गरेको छ । रुसविरुद्ध युक्रेन खडा भयो र सन्तुलन गुमायो, युक्रेनी जनताले त्यसको महगो मूल्य चुकाइरहेका छन् । युक्रेन टुक्रिने र भूभाग समेत गुमाउने अवस्थामा छ । यो हुनसम्मको पीडा युक्रेनी जनताले भोगिरहेका छन् ।
यस्तै अवस्था छ इजरायल र प्यालेस्टाइनको । इरानले समेत सन्तुलन गुमाउन थालेको छ । यथार्थमा अहंकारले कहीँको पनि छोड्नेवाला छैन । नेपालका नेताहरुमा सत्ताको अहंकार र विदेशीको लहैलहैमा लागेर आफ्नो स्थापित मान्यता र नीतिमा अडिन नसक्दा नेपाल भूराजनीतिको भूमरीमा परेको हो ।
१९९० मा जस्तो विश्वपरिस्थिति छैन अहिले । त्यो दशकपछि चीन असंलग्न रहेन । चीन आफ्नो व्यापार र प्रभाव बिस्तार गर्न बीआरआई नीति च्यापेको मात्र छैन, अमेरिका विरुद्धको मोर्चामा रुस र नर्थ कोरिया, पाकिस्तानसँग उभिएको छ । अमेरिकामा राष्ट्रपति ट्रम्पको दोस्रो कार्यकाल सुरुभएपछि व्यापार युद्ध नै सुरु भइसकेको छ । यो युद्ध समाप्तिको दिशामा गएन, सहमति हुनसकेन भने पर्यवेक्षकहरु तेस्रो विश्वयुद्धको खतरा देखिन थालेको समेत बताइरहेका छन् । भारत अमेरिकातिर छ कि रुसतिर स्पष्ट छैन । रुस र अमेरिकाजस्तै आफ्नो अलग नीति र अस्तित्व छ भनेर सन्तुलनकारी भूमिका निर्वाह गरिरहेको देखिन्छ । यद्यपि भारत रुस र अमेरिकासँग टाढिन सक्दैन । हालै फ्रान्समा भएको ए आई शिखर सम्मेलनमा फ्रान्सका राष्ट्रपतिले मोदीसँग हात मिलाएनन्, किन ? यसको चर्चाले सिङ्गो भारत डोलायमान भएको छ भने अमेरिका र चीनसम्म यसको कम्पन सुनियो ।
केही समय अघि भारतका प्रधानमन्त्रीले मस्को भ्रमण गरेका थिए भने मोदी फ्रान्सपछि अमेरिका भ्रमणमा गए । मोदी आउनुअघि अमेरिकाले आयात हुने स्टिलमा २५ प्रतिशत शुल्कमात्र लगायन, यसअघि अमेरिकामा इलिगल बसेका भारतीयलाई नेल कसेर भारत फिर्ता पनि गराइदिए । यसका अर्थ मोदी नीति दक्षिण एसियामा कडा हुँदैछ भने स्वतन्त्र तिब्बत नीतिमा अझ बलवतीका साथ अग्रसर हुने संकेत दिएको छ ।
अमेरिका विश्वको नम्बर वान राष्ट्रबाट नहट्ने संकेत हो यो । राष्ट्रपति ट्रम्पले विश्व स्वास्थ्य संगठन, बिमिस्टेक सबैतिरबाट हात झिक्दै छन् भने युएसआईडीलाई खारेज गरेर नयाँ नीति ल्याउँदैछन् । अमेरिकाको पैसा खाएर अमेरिकाको अहित गर्नेहरुको ओठमुख सुकाइदिएका छन् ट्रम्पले ।
नेपालको असंलग्न नीति र परिपक्व कूटनीतिकै कारण २०१७ सालको परिवर्तन सम्भव भयो, राजतन्त्र जाज्वल्यमान भयो । राजा महेन्द्रले महेन्द्र राजमार्ग र धेरै उद्योगकहरुमा रुस, चीन, भारत, अमेरिकाजस्ता शक्तिहरुलाई नेपालको हितमा उतारेकै हुन् । भ्रष्टाचार र असंलग्नताबाट तलबितल भएकै कारण दुई तिहाईको कांग्रेसको सरकार त्यतिबेला राजाबाट अपदस्त हुनपुगेका मात्र होइन, आमनागरिकले राजाकै जयजयकार गर्न पुगेका थिए ।
राजा महेन्द्र भारतभन्दा अगाडि बढ्यो भनेर भारतले राजामाथि षडयन्त्र गर्न थाल्यो, जनकपुरमा बम हान्यो । चीनका तत्कालीन रक्षामन्त्ती चेङ यी नेपाल आएर भारतलाई चेतावनी नै दिएको घटना पनि देखियो । नेपालमाथिको कुनै पनि हमला चीनविरुद्ध गरिएको ठानिने छ समेत उनले भने । उत्तर र दक्षिणको तत्कालीन अवस्थामा नेपालको सन्तुलनको राजनीतिको नमूना थियो त्यो ।
तर आज २०१५ मे १५ मा चीन र भारतले बेइजिङमा नेपालको लिपुलेकबाट व्यापार अघि बढाउने सम्झौता गरे । भारतले २०१९ मा नेपालको कालापानी, लिपुलेक, लिम्पियाधुरा भारतको नक्सामा मिलाए । नेपालले गरेको जनगणनामा समेत ती क्षेत्रमा नेपालले गणना गर्न सकेन । हालै भारत र चीनले लिपुलेकबाट भारतले बनाएको राजमार्गबाट चीनको कैलास मानसरोवरको यात्रा खोलिएको छ ।
अर्थात चीन बढी व्यापारी बनेर गएको छ । नेपालसँग पहिलेजस्तो सम्बन्ध राख्न चाहेन चीनले । २०५८ सालमा दरवार हत्याकाण्ड हुँदा समेत चीनले बोलेन । २०६५ सालमा राजतन्त्र हटाएर गणतन्त्र घोषणा गर्दासमेत चीन बोलेन । राजतन्त्रको अन्तिम दिनहरुमा चीनले आफ्ना राजदूतलाई तत्कालीन प्रधानमन्त्री गिरिजाप्रसाद कोइरालालाई ओहदाको प्रमाणपत्र बुझाउन लगायो ।
यो सबैको कारण नेपालको अपरिपक्व कूटनीति हो । परम्परागत असंलग्न परराष्ट्रनीति छोड्नु र शक्तिराष्ट्रका सामु राजनीतिक शक्तिहरुले त्वम्शरणम गर्नु पनि हो ।
राजतन्त्र भारतकै शक्तिमा जनयुद्ध चलाउने माओवादीसमेतलाई हतियार बनाएर जनआन्दोलन गर्न लगाउनु र १२ बुँदे दिल्ली सम्झौता गराएर बिस्थापित गराएकोमा कसैलाई शंका छैन । अवैधानिक रुपमा राजतन्त्र हटाउँदासमेत चीन बोलेन, भारत खुशी भयो । पश्चिमा शक्तिहरु इसाइकरण गर्न ढोका खुल्यो भनेर दङ्ग परे ।
जसरी कम्बोडियामा राजतन्त्र हटाइयो, नेपालमा पनि त्यसैगरी बलात् हटाइएको हो । त्यसपछि चीनले नरोदम सिंहानुकलाई साथ दियो र पुनस्र्थापित गराइदियो । १८ वर्षदेखि नेपालमा अपरिपक्व र अराजनीतिक अवस्था छ तर भारत, चीन, अमेरिका र अन्य विश्वशक्तिहरु दण्डहीन नेपालको परिदृश्य हेरिरहेका छन् ।
भित्रभित्रै नेपाल असफल राष्ट्र भएको र सुरक्षा अवस्था बिग्रेकोमा सबैका चिन्ता छ तर नेपालमा राजतन्त्र पुनस्र्थापना गरेर फेल भएको लोकतन्त्रलाई जिवन्त पार्न कसैको मौनता तोडिएको छैन । यसको कारण पनि नेपालका विवेकशीलहरुको उदासिनताले हो ।
भारतलाई राजतन्त्र बिनास गरेर विश्वमञ्चमा नेपालको फैलदो पखेटा काट्नु थियो, नेपाललाई भारतको बजार बनाउनु थियो, नेपालमा उद्योगधन्दा समाप्त पारेर भारतमुखी बनाइदिनु थियो । राजा वीरेन्द्रको वंश नाश र राजा ज्ञानेन्द्रको राजतन्त्र समाप्ति पार्न यहाँका राजनीतिक शक्ति अग्रसर भए, विदेशीले सहायता दिए । त्यसपछि गणतन्त्र आएको हो ।
गणतन्त्र आयो, अर्काको बलमा आयो । गणतन्त्र हाँक्नेहरुले नयाँ नेपाल बनाउने आशा देखाए, भएको नेपाललाई फूपुको धनजसरी लुटे । लोकतन्त्रलाई लुटतन्त्रमा परिणत गरे । पश्चिमा र दक्षिणा भिरङ्गी र फिरङ्गीले गणतन्त्रलाई सघाए, उत्तरले मौनता साध्यो । यसपछि नेपाल बाह्य शक्तिको बाहुबली अखडा बन्नपुगेको हो ।
राजनीतिले विवेक हरायो । व्यापार बढायो । कूटनीतिले विवेक गुमायो, उदासिन भयो । यसैको प्रतिफल मुलुकमा दल दलको दलदल छ, उत्तर–दक्षिण–पश्चिमको कित्ताकाट हुनपुगेको छ । यी कित्ताहरुमा नेपाली कित्ता छैन । यसबाट नेपाल भूराजनीतिक अवस्था डरलाग्दो धरापमा परिसकेको अनुमान गर्न सकिन्छ । यसको ज्वलन्त नमूना ठूला पार्टी, प्रभावशाली नेता कसको स्वार्थका बोलिरहेका छन्, बुझ्न सकिन्छ । कुनै नेता नेपाल र नेपालीको स्वार्थमा बोल्दैनन् । देशको भूमि गुम्दा समेत विदेशीको खर्चमा संसदमै खाजा खानेहरु बोल्दैनन् । यी जनप्रतिनिधि हुन् कि विदेशी प्रतिनिधि ? यसबाट बुझ्न सकिन्छ, नेपालको सकस बढ्दै गएको छ ।
एमसीसी मागियो, बिरोध गरियो र स्वागत भयो । अहिले दाताले नै एमसीसी रोकेको छ । यो खारेज हुन्छ कि निकास खोलिन्छ, अन्यौल छ । बीआरआई २०१७ मै स्वीकार गरियो, २०२४ मा सम्झौता पनि भयो, तर कार्यान्वयन भइसकेको छैन । नेपालमा युक्रेनका पक्षधर छन्, ताइवानका समर्थक र बिरोधी पनि छन् । दलाई लामालाई भेट्ने र उनको जन्मदिनको भोज खाने पनि नेपाली नेता पनि छन् । यो सबैको दुस्परिणामले नेपाललाई कुन किनारमा लछार्ला, पछार्ला, चिन्ता बढ्दै गएको छ ।
नेपालमा राजनीति र कूटनीतिक अराजकताले असमान्य स्थिति र प्रवृत्ति बढेको छ । यस्तो पद्धति, राजनीति र नेतृत्वाबट नेपाल सुरक्षित हुनसक्दैन । नेतृत्व देशका लागि भन्दा परदेशका लागि प्रयोग हुने खतरा बढी छ ।
नयाँ पुस्ता सचेत छ, यो सचेत र विवेकी पुस्ता अग्रसर हुनैपर्छ । तवमात्र भूराजनीतिक भूमरीमा पर्दै गएको मुलुक सुरक्षित हुन सक्ला ।

sapta chakra spa
below next and prev inner page
below international hompage
below entertainmnet insurance
napali patro below sports