प्रथम आईजीपी कप क्रिकेट प्रतियोगिताको उपाधि मधेश प्रदेश प्रहरीलाई
वि.सं.२०८१ चैत २ शनिवार १९:०६
shares

काठमाडौं । प्रथम आईजीपी कप क्रिकेट प्रतियोगिताको उपाधि मधेश प्रदेश प्रहरीले चुमेको छ ।
मुलपानी क्रिकेट मैदानमा आज सम्पन्न फाइनल खेलमा मधेश प्रदेश प्रहरीले लुम्बिनी प्रदेश प्रहरीलाई १४ रनले पराजित गरेको हो ।प्रहरी महानिरीक्षक वसन्तबहादुर कुँवरले विजयी टिमका खेलाडी तथा अफिसियललाई पदक, प्रमाणपत्र, ट्रफी र नगद पुरस्कार प्रदान गरे । त्यस अवसरमा उनले सुरक्षा निकाय जस्तो शारीरिक र मानसिक रूपमा तन्दुरूस्त रहनुपर्ने संगठनमा खेलकुदको महत्व अझ अधिक रहेको बताए ।
उनले नेपाल प्रहरीका खेलाडीले राष्ट्रको प्रतिनिधित्व गरेर राष्ट्रिय तथा अन्तर्राष्ट्रियस्तरका प्रतियोगितामा सहभागी हुने अवसर पाउनु संगठनका निम्ति गौरवको विषय भएको उनले बताए ।गत २७ फागुनदेखि सुरु भएको प्रतियोगितामा राष्ट्रिय प्रहरी प्रशिक्षण प्रतिष्ठान र सातवटै प्रदेश प्रहरी कार्यालय गरी आठ टोली सहभागी भएका थिए ।





































