रवि लामिछानेलाई पुर्पक्षका लागि थुनामा पठाउने आदेश विरुद्ध सर्वोच्च अदालतमा बन्दीप्रत्यक्षीकरणको रिट दर्ता
वि.सं.२०८१ चैत २९ शुक्रवार १५:३७
shares

काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेलाई पुर्पक्षका लागि थुनामा पठाउने आदेश विरुद्ध सर्वोच्च अदालतमा बन्दीप्रत्यक्षीकरणको रिट दर्ता भएको छ ।
शुक्रबार सर्वोच्चमा रिट निवेदन दर्ता भएको रास्वपाकी सहप्रवक्ता प्रतिभा रावलले जानकारी दिइन् । लामिछानेको तर्फबाट अधिवक्ता नारायण कँडेलले बन्दीप्रत्यक्षीकरणको रिट दर्ता गरेका हुन् ।सुप्रिम बचत तथा ऋण सहकारी ठगी प्रकरणमा अघिल्लो शुक्रबार उच्च अदालत तुलसीपुरको बुटवल इजलासले लामिछानेलाई पुर्पक्षका लागि थुनामा पठाउन आदेश गरेको थियो ।
उक्त आदेशपछि उनलाई सोही रात बूढानीलकण्ठबाट पक्राउ गरी काठमाडौँ प्रहरी परिसरमा राखिएको थियो ।लामिछानेलाई एक दिन काठमाडौँ र दुई दिन रुपन्देहीमा हिरासतमा राखेर सोमबार कारागार चलान गरिएको थियो ।
उच्चको आदेश जिल्ला नपुग्दै प्रहरीले सोही राति नियन्त्रणमा लिएको, न्यायिक प्रक्रिया पूरा नगरी गैरकानुनी रूपमा पक्राउ गरिएको आरोप रास्वपाको छ ।बुधबार रास्वपाले प्रहरी ज्यादती र मानव अधिकार हनन् भएको भन्दै राष्ट्रिय स्वतन्त्र पार्टीले मानवअधिकार आयोगलाई निवेदन बुझाएको थियो ।





































