राजन कार्की
नेपाली राजनीतिको वर्णपटमा सबैभन्दा पुरानो पार्टी नेपाली कांग्रेस ८० वर्षको भयो, कांग्रेसको नेतृत्वमा छन्, शेरबहादुर देउवा, ८० वर्षका भए । उनी आफै म बुढो भएँ, रिटायर हुनेबेला भयो भन्छन्, नेतृत्व छाड्दैनन् । ज्योतिषले ७ पल्ट प्रधानमन्त्री बन्ने जोग देखाएकोमा केपी ओलीको वर्षदिन कहिले सकिएला र प्रधानमन्त्री बनुँला भनेर कुरेर बसेका छन् ।
घरले जा जा, बनले आआ भन्ने बेला भइसक्यो, देउवालाई सत्तालिप्साको अतिरोगले च्यापेको छ । जब रोगले च्याप्छ, रोग बाहेक केही देखिन्न । कांग्रेसले वीपीका सिद्धान्त, प्रजातान्त्रिक मर्यादा, नीति, नैतिकता सबै गुमाउँदै गएको छ । यसकारण त कांग्रेस एमालेको पछुवा बन्न पुगेको छ । त्यही कांग्रेस भन्छ– हामी प्रजातन्त्रको बिडा उठाउने पार्टी । लामो समयदेखि कम्युनिष्टले कांग्रेसलाई जोतिरहेको छ । कांग्रेस कसरी समाजवादी, कसरी प्रजातान्त्रिक पार्टी । कम्युनिष्टको चुनाव चिन्हमा भोट हाल्ने पनि प्रजातान्त्रिक पार्टी हुन्छ र ?
वीपी कोइरालाको अगुवाईमा २००३ असोज १६ गते संगठित भएको, कात्तिक १५, २००३ बनारसमा देवि प्रसाद सापकोटाको सभापतित्वमा अखिल भारतीय नेपाली राष्ट्रिय काङ्ग्रेसको जन्म भएको, माघ १२ र १३ गते पहिलो महाधिवेशन गर्न सफल कांग्रेस, २००६ चैत २७ मा नेपाल राष्ट्रिय काङ्ग्रेस र नेपाल प्रजातान्त्रिक काङ्ग्रेसको एकिकरण भएपछि सबैभन्दा ठूलो पुरानो प्रजातान्त्रिक पार्टी बनेको थियो ।
त्यो नेपाली कांग्रेस संसदमा सबैभन्दा ठूलो पार्टि छ, १० लाख सकृय सदस्य छन् । तर कम्युनिष्टको टेको बनेर चलेको छ । राजनीतिको छाता बन्न सकेको छैन ।
कांग्रेसको यो दुर्गति नेतृत्वले नीति, सिद्धान्त त्यागेको परिणति हो । कांग्रेसले विवेक गुमाउँदा राष्ट्रियता, प्रजातन्त्र र समाजवाद कम्युनिष्ट धरापमा परेको छ ।
वीपी छैनन्, वीपीका सिद्धान्त पनि छैन । २०३९ साउन ६ गते वीपी कोइरालाको निधन भएपछि कांग्रेसमा नीति र वैचारिक धरातलमा पहिरो जान थालेको हो । २०८२ मा आइपुग्दा कांग्रेस ठूलो पार्टी त छ तर काँधमा भ्रष्टाचार र भ्रष्ट अवसरवादी कम्युनिष्टलाई बोकेर जनताको घृणाको पात्र बन्दै गएको छ । सिङ्गो कांग्रेस कुहिरोमा फसेको कागभन्दा भिन्न देखिन्न ।
राजनीतिको वर्णपटलाई पल्टाउँदा देखिन्छ– २००७ सालमा नेपाली कांग्रेसले प्रवासबाट लैनछोकडा ल्यायो र तिनलाई बन्दुक बोकाएर मुक्तिसेनाको नाम दियो । राणाको प्रहरी रामदल र कांग्रेसको मुक्तिसेना मिलाएर पहलसिंह लामाको नेतृत्वमा प्रहरी संगठन खडा गरियो, जुन आजको नेपाल प्रहरी हो । प्रहरीलाई राजनीतिकरण गरिएको छ ।
सेना संविधानप्रति प्रतिवद्ध छ, सेनामा पनि राजनीतिकरण गर्ने दुस्साहस गरिदैछ ।
कांग्रेसले भ्रष्टाचार अँगाल्दा र सिद्धान्तमा अड्न नसक्दा कम्युनिष्टहरुको शोषण र बाहुबलीतन्त्र बढेर गएको छ । हामी गरीब छौं, गरीव राख्नकै लागि उद्योग बेच्ने, उद्यम नखोल्ने, रोजगारीमा पार्टीकरण गर्ने र युवा विदेशलाई बेच्ने नीति राष्ट्रिय नीति बन्नपुगेको छ । माओवादीले १० वर्षे जनयुद्धमा वामपन्थीले गरीबहरुलाई बन्दुक बोकाए, ०६२–०६३ सालको जनआन्दोलनमा पनि वामपन्थी नै हावी भए । राजतन्त्रको अन्त्य, हिन्दुधर्मको बिनास, लोकतन्त्रको नाममा लूटतन्त्र चलाउन कम्युनिष्टहरु अग्रपङ्तिमा देखिए । बहुदलपछिको ३७ वर्ष र लोकतन्त्रको १८ वर्ष कम्युनिष्टकै रजगज गर्ने समय देखिन्छ । यो समयमा कम्युनिष्टले आफूले आफैलाई नवसामन्तवादको बादशाह बनाए । कम्युनिष्टभन्दा के कम भनेर कांग्रेसले पनि गर्नुसम्मको भ्रष्टाचार गरेका छन् । जब विवेकशून्य हुन्छन्, बादशाहहरु नाङ्गिएको पनि चाल पाउँदैनन् । कांग्रेस पनि विवेकशून्यतामा कम देखिएन ।
नेपालमा कम्युनिष्ट छैनन्, नाममात्र छ । नवसामन्त बनेकाले यिनले बिर्सिए– नक्सलवाडीका कम्युनिष्ट नेता चारु मजुमदारले कार्यकर्ताले पुँजीवादी चोला फेरे भनेर रुखमा झुण्डिएर मर्नुप¥यो । बेलायतमा नाम चलेका नेपाली प्रोफेसर कुलबहादुर लुइटेलका अनुसार बृटिस दृष्टिमा कम्युनिजम विश्वमा असफल शिद्ध राजनैतिक व्यवस्था हो । अर्थात कम्युनिष्ट सपनामा भुलाउने गफ हो, राष्ट्रवाद बलियो पार्ने अभियान होइन ।
२०४६ सालमा बहुदल, २०६३ देखि लोकतन्त्रको परिपाटी अघि बढ्यो । २०६५ सालमा राजतन्त्रको निर्णय जनमत संग्रहबाट हुनुपर्ने एमालेको अडान एकाएक आकाशवाणीको निर्देशनमा बदलियो र गणतन्त्र कार्यान्वयन सम्भव भएको हो । गणतन्त्र कार्यान्वयन प्रस्ताव तत्कालीन प्रधानमन्त्री गिरिजाप्रसाद कोइरालाले संविधानसभामा पेश गर्न सकेनन्, उनले खेताला पठाए कृष्णप्रसाद सिटौलालाई जो चुनाव हारेका कांग्रेसी थिए । कसको आदेशले ? यसबारेको रहस्य बाँकी नै छ । यसकारण राजनीतिक द्वन्द्व झन चर्किदै गएको छ । स्थिरता स्यालको सिङ हुनपुगेको छ ।
शक्ति बन्दुकको नालबाट निस्कन्छ, संसद भनेको बोकाको टाउको देखाएर बाख्रीको मासु बेच्ने थलो भन्ने कम्युनिष्टले त्यही कथनअनुसार स्थानीयदेखि राष्ट्रियतहसम्म एकछत्र शासन गरिरहेका छन् । २०१५ सालको चुनावमा ४ सिटे कम्युनिष्टहरु गुट फुटमा भए पनि अझै प्रभावशाली नै देखिन्छन् । यो सबै गरीबीका कारणले हो । सत्यको चेतना छ, गरीबीका कारण जनता कम्युनिष्ट पार्टीका लहरमा गाँसिन छाडेका छैनन् । बुद्धिजीवी र संचेतन बर्गमा बिबेक हराएको छ, अवसरवादी हावी भएको छ ।
लोकतान्त्रिक शासन व्यवस्थामा कम्युनिष्टको जित, कम्युनिष्टको दबदबा । यो आश्चर्यको परिदृश्य हो । नेपालको कम्युनिष्टतन्त्रको निरन्तरता देखेर सारा विश्व चकित छ । कम्युनिष्टले कांग्रेसलाई साथ लिएर लोकतन्त्रका नाममा निरंकूशता, परिवारवाद, व्यभिचारवाद, राजनीतिक अपराधिकरण, भ्रष्टाचारको साम्राज्य चलाइरहेका छन् । यो कदापि गणतन्त्र होइन । यो लुटतन्त्र हो, जंगलतन्त्र हो ।
न सर्वहारावादी छन्, न समाजवादी । कांग्रेस, कम्युनिष्टहरु जुकाको जस्तो भ्रष्टाचारी पित्ले, घ्याम्पे भुँडीवाल बनेका छन् । एनजीओदेखि बैंकरसम्म, स्कूलदेखि युनिभर्सिटीसम्म, स्वास्थ्यदेखि जलस्रोतसम्म, सञ्चारदेखि सेयरबजारसम्म, राज्य र समाजका सबै सञ्जालहरुमा कुनै खन्चुवा, भ्रष्ट, दलाल, पदीय दुरुपयोग गर्ने र नीतिगत भ्रष्टाचारमा चुर्लुम्मै डुबेका व्यापारीजस्ता छन् । अव त सुनतस्करीदेखि माफियासम्म, डन र दस्ता खडा गरेर कमाउ अभियानमा लागेका र कुनियत, अस्लिल कृयाकलापमा समेत कम्युनिष्ट जोडिन पुगेका छन् । जनताको आँखामा कसिङ्गर बनिसके साजवादी, सर्वहारावादीहरु ।
कम्युनिष्ट सर्वहारा बर्गको नारा लगाउने, समानताको कुरा गर्ने, अग्रगमन भनेर नथाक्ने, लोकतन्त्र, गणतन्त्र भट्याइरहने कम्युनिष्ट चटकेजस्ता छन् । जो असलमा कम्युनिष्ट नेता थिए, मोहनचन्द्र अधिकारी । उनी त माँगेर हिड्न बाध्य छन् । रुद्राक्षका गेडा गनेर श्रीकृष्ण भन्न थालेका भेटिन्छन् । कुनै नेतालाई उनको मतलव छैन ।
अन्य कम्युनिष्ट भनिनेहरु कम्युनिष्ट करोडीमल हुन्, अरवका शेख हुन् । करोडीमल र शेखको सोच राष्ट्रिय गौरव, गरीव, किसान, मजदुर, महिला, सिमान्तकृत बर्ग, दलिततिर होइन, स्वार्थ र सत्तामा बढी हुनेगर्छ । जव जनता जनता जोड्न सकिन्न, त्यो देशको आधार जहिले पनि बालुवाको ढिस्को जस्तो हुनेगर्छ । यी कम्युनिष्ट करोडीमल, शेखहरुले राज्यसँग १ सय २६ जातिलाई जोड्ने होइन, यिनलाई फोडेर यिनको हक खोस्ने, भोट बैंक निर्माण गर्नतिर नै लागिरहेको देखिन्छ । धर्मनिरपेक्षता र संघीयत यिनको अर्को देखाउने धन्दा हो ।
यस्ता नेताहरु आफूलाई कम्युनिष्ट भन्छन् । भएका उद्योग बेच्ने, राज्यसम्पत्तिमा माफियाकरण गर्ने, विधिमाथि हैकम चलाउने, युवा निकासी गरेर रेमिटान्समा ढलीमली गर्ने, यस्ता पनि कम्युनिष्ट ? चीन, भियतनामबाट सिक्ने भए जनताले धेरै अवसर दिएकै हुन्, समाजवादका लागि कालजयी निर्णय गरेर महाथिर बन्ने मार्ग कुनै नेताले लिएनन् । नेपालमा कम्युनिजम हाटहुट, लाटलुट, चाटचुट मात्र हो ।
भाषण गर्न खप्पीस छन् कांग्रेसहरु । भ्रम छर्न खप्पीस छन् कम्युनिष्टहरु । पानीजहाज, हावाबाट विजुली, १० वर्षमा देशै स्वर्ग बनाउने कुरा । अग्रगमन, गणतन्त्र, समानता र समृद्धिका कुरा । हावा कुरा हुन् । व्यवहार समाजविरोधी देख्नेहरु, बुझ्नेहरु भन्छन्– अलि हजम भएन । अपाच्य भयो ।
नेपाली राजनीतिमा कुनै पार्टी वा नेता नीतिमा अडेनन्, जनविरोधी काम ग¥यो, आफैमा बिभाजन भयो, स्वार्थ मिल्नेभए हातेमालो ग¥यो । कांग्रेस वा अन्य लोकतन्त्रवादी पार्टीसमेत कम्युनिष्टजस्ता देखिन पुगे । यो समाजवाद, प्रजातन्त्रवाद अथवा कम्युनिष्टतन्त्रको जीत होइन, स्वार्थी र अवसरवादी अपराधतन्त्र मात्र हो ।
संविधान लोकतान्त्रिक छ, पद्धति लोकतान्त्रिक हो । कमाण्डमात्र अवसरवादी बन्यो । अवसरवाद र चरित्रहीनताले देशको दिशा दिन सक्दैन । देश दिशाहीन छ, गणतन्त्र गणविरोधी छ, लोकतन्त्र भ्रष्टतन्त्र बनेको छ ।
राजनीतिक शक्तिहरुवीच संवाद, सहमति र सहकार्य गरेर स्थिरता र शान्तिका लागि तैयार हुने कि अराजकता बढाएर राजनीतिक मृत्यु रोज्ने ? विवेक बाँकी छ भने यो यक्ष प्रश्नमा ठूला दलहरुले र खासगरी ८० वर्षे कांग्रेस र ८० वर्षे कांग्रेस सभापतिले सोच्न जरुरी देखिन्छ ।