विभिन्न विधामा प्रदान गरिने प्रज्ञा पुरस्कार २०८२ को घोषणा
वि.सं.२०८३ वैशाख ११ शुक्रवार १३:४३
shares

काठमाडौं । नेपाल प्रज्ञा–प्रतिष्ठानले भाषा, साहित्य, संस्कृति, दर्शनशास्त्र र सामाजिक शास्त्रका विभिन्न विधामा प्रदान गरिने ‘प्रज्ञा पुरस्कार–२०८२’ घोषणा गरेको छ । नेपाल प्रज्ञा–प्रतिष्ठानद्वारा हरेक वर्ष प्रदान गरिँदै आएको प्रज्ञा पुरस्कारअन्तर्गत प्रज्ञा पुरस्कार–२०८२’ बाट १२ जना पुरस्कृत हुनेहरूको नाम सार्वजनिक गरिएको छ ।
प्रतिष्ठानले यस वर्षदेखि सातै प्रदेशका स्रष्टालाई समेट्ने गरी ‘प्रज्ञा प्रादेशिक पुरस्कार’ समेत प्रारम्भ गरेको हो ।प्रतिष्ठानका सदस्य सचिव डा. धनप्रसाद सुवेदीद्वारा जारी विज्ञप्ति अनुसार जनही एक लाख रुपियाँ राशिको प्रज्ञा पुरस्कार १२ जना स्रष्टालाई प्रदान गरिने भएको छ । जसमा समालोचनातर्फ प्राडा अभि सुवेदी, भाषातर्फ प्रा. मुकुन्दशरण उपाध्याय, सामाजिक शास्त्रतर्फ डा. डम्बर चेम्जोङ, पद्य साहित्यतर्फ शैलेन्द्र साकार र संस्कृतितर्फ प्राडा सोमप्रसाद खतिवडा छनोट भएका छन् ।
यस्तै, बालसाहित्यतर्फ सुशीला प्रधानाङ्ग, गद्य साहित्यतर्फ आहुति, दर्शनतर्फ ईश्वरचन्द्र ज्ञवाली, अनुवादतर्फ डा. सर्वोत्तम श्रेष्ठ, अन्तर्देशीयतर्फ नरेश काङमाङ राई (बेलायत), मातृभाषा (हिमाली पहाडी) तर्फ बुद्ध योञ्जन र मातृभाषा (मधेश तराई) तर्फ अमरेन्द्रकुमार यादवलाई पुरस्कृत गर्ने निर्णय भएको छ ।यसै वर्षदेखि सुरु गरिएको जनही ५० हजार रुपियाँ राशिको प्रज्ञा प्रादेशिक पुरस्कारर भने सात जनालाई प्रदान गरिने भएको छ । जसमा कोसी प्रदेशबाट मलिसा याक्थुम्बा लिम्बू (महेन्द्रकुमार नेम्बाङ), मधेश प्रदेशबाट मुना चौधरी, बागमती प्रदेशबाट शान्तिप्रिय बन्दना र गण्डकी प्रदेशबाट अनिल श्रेष्ठ छनोट भएका छन् ।
त्यस्तै लुम्बिनी प्रदेशबाट क्षितिज मगर, कर्णाली प्रदेशबाट रमानन्द आचार्य र सुदूरपश्चिम प्रदेशबाट कर्ण दयाल ‘सोडारी’ लाई उक्त पुरस्कार प्रदान गरिने भएको छ ।आगामी वैशाख १७ गते बिहीबार नेपाल प्रज्ञा–प्रतिष्ठानको सिद्धिचरण सभाकक्ष, कमलादीमा एक विशेष समारोहमा प्रदान गरिने प्रज्ञा प्रतिष्ठानले जनाएको छ ।



































