सरकारले अपवादका लागि पाएको सुविधालाई दुरुपयोग गर्दै जब नियमित बनाइन्छ त्यसले कति सम्म...

पुरा पढ्नुहाेस्

linktrix Long Ad
Salt Trading Long Ad

कानुन व्यवस्थामा किन गाईजात्रे चाला ?

494
shares

राजन कार्की
विश्वले नेपालको लोकतन्त्रलाई जोकतन्त्र भन्न थालिसक्यो । तैपनि लोकतान्त्रिक गणतन्त्रको गरिमा र महिमाका बारेमा कसैलाई चिन्ता छैन । विधिको शासन हुनुपर्ने हो, राज्यसञ्जाल जताततै अपराधशाला देखिन्छ । लोकतन्त्र आएपछि सबै समस्याको समाधान हुन्छ भन्ने यिनै नेता हुन्, १८ वर्षमा महाभारतको १८ पर्वजस्तो द्वन्द्वको मैदा नबनेको छ देश ।
दुर्योधन र धृतराष्ट्रले महाभारतमा जसरी अन्याय गरेका थिए, सबै ध्वस्त भयो । जब अन्यायमात्र हुन्छ भने त्यो शासन धृतराष्ट्र शासन हो । जंगलराज भनेको बाहुबलीतन्त्र हो । जसको शक्ति उसको भक्ति । नेपालको लोकतन्त्रको गतिमति यही हो, यही छ । जो बोकाको टाउको देखाएर कुकुरको मासु बेच्छन् भन्ने आरोप लगाउने गर्थे, लोकतन्त्रमा यही भइरहेको छ, यसो गर्ने लोकतान्त्रिक भनिएका यिनै नेता हुन् । जो जेमन्त गर्नमा रमाइरहेका छन् ।
भ्रष्टाचार छ, नेतृत्वमा स्वाभिमान छैन । जो स्वाभिमान तिलाञ्जली दिएर सत्तास्वार्थ पूरा गर्छ, त्यस्ता स्वार्थीहरु राजनीति होइन व्यापार गरिरहेका छन् । व्यापारीको देश हुँदैन । व्यापारी मुनाफाका लागि अर्काको दास बन्छ । हाम्रा नेता जो आफैमा अर्काको दास छन्, दासबाट के आश ? कहाँ छ र तिनमा स्वाधीनताप्रतिको चेतना ? यसकारण त सार्वभौमिकता दिनदिनै कमजोर बन्दै गएको छ । देश असफल बन्दैछ ।
व्यवस्था बदलियो, नियति र नियत बदलिएन । व्यक्ति फेरिए, भ्रष्ट आचरण फेरिएन । परिवर्तन देश र जनताका लागि हुनसकेन । भनिन्छ, युद्ध जित्नेको नाम चंगेज खान थियो । चंगेज वीरताको नाम, विजयको नाम थियो, बलियो राष्ट्रवादको नाम थियो, देशघातकको नाम थिएन । नेपालका सन्दर्भमा नेताहरुहरु संघर्ष जितेर चंगेज त बने, वीर बन्न सकेनन् । तिनले हाँकेको लोकतन्त्रमा लोक देखिदैनन्, उनीहरु बास्सा बनेका छन्, लोक गुलाम । हामीसँग लोकमत छ, जे पनि गर्नसक्छँैं भन्ने अहंकार चंगेज खान हुनसक्दैन । धर्मनष्ट भएपछि अहंकार जन्मने हो, अहंकारी धर्माधिकारी बन्न सक्दैन । हाम्रा नेताहरु राजनीतिक धर्म नष्ट गरेर स्वार्थको स्वर्ग निर्माण गरिरहेका छन् । स्वार्थको स्वर्ग र बालुवाको महल उस्तै हो, यो चेत यिनलाई दिने कसले ?
इम्परर न्यू क्लोथका बादशाहजस्ता नाङ्गै भइसके, नयाँ लुगा लगाएको नाटक गरेर लोकतन्त्रे वादशाहहरु रमाइरहेका छन् । देशको दुर्भाग्य हो यो ।
गिरिजाप्रसाद कोइराला अभिषाप बनेर बिते, परिवर्तनका डाइनामिक लिडर मानिएका प्रचण्ड पनि अभिषाप बनेका दृश्यहरु देखिन्छन् । ओली र अन्य भुरे टाकुरे पनि देशका लागि बरदान हुनसकेनन् ।
के अर्थ रह्यो र यो लोकतान्त्रिक गणतन्त्रको ? जब देश र जनता पीडामा छन्, कानुनको शासन छैन भने यो पद्धति भार भन्दा बढी केही होइन ।
सुगौली सन्धि गरेर हामीले किल्ला काँगडा गुमायौं । त्यसपछि मन्द अतिक्रमण, १९५० को शान्ति तथा मैत्री सन्धिपछि गतिमान बन्यो । स्थिति यस्तो सिर्जना हुनपुग्यो कि न हाम्रा सीमा सुरक्षित छन्, न स्वराज । हुँदा हुँदा कालापानी, लिपुलेक, लिम्पियाधुरासमेत भारतले खाइसक्यो । आफ्नै भूमि अतिक्रमण हुँदा पनि संसद, सरकार, सांसद, नागरिक समाज कसैलाई दुखेन । यस्तामा राष्ट्रियता खोज्नु स्यालको सिङ खोज्नुजस्तै हो ।
उत्तम धर्म राजनीति हो । राजनीतिमा धर्म नष्ट भइसक्यो । इमान, नीति, नैतिकता केही पनि बाँकी रहेन । नागरिक बेचेर मानवाधिकारसमेत रक्षा हुन सकेन । यही एउटा प्रश्नले हामीलाई घरको न घाटको बनाइदिएको छ । राजनीति नङ्गा नाचे हजार दाउ बन्यो ।
राष्ट्र उभिएको त्रिखुट्टी भनेको धर्म, राजसंस्था र सेना थियो । धर्म रहेन, राजसंस्था किनारा लगाइयो, सेना संविधानको घेराबन्दीमा छु भनिरहेछ । प्रभाव अपराधिकरण भएको राजनीतिको मात्र छ । १८ वर्षदेखि सेनाले देशको शान्तिसुरक्षा, ऐक्यवद्धता र स्थिरताका लागि सेना सचेत छ, सक्षम छ भन्ने अभिव्यक्ति आइरहेछ तर अभिव्यक्तिमा पुच्छर जोडियो– सरकार र संविधानले दिएको कार्यादेशअनुसार । जनता र देशलाई शिरमा राखेर डमरु र त्रिशुललाई शक्तिको स्रोत मान्ने सेना स्वतः धर्म सापेक्ष छ । कूलपूजा र मूलपूजा गरेर अहोरात्र खटिने सेनाको आन्तरिक र बाह्य जिम्मेवारी छन्, बाह्य जिम्मेवारी त बखुवी निभाइरहेको छ सेनाले, आन्तरिक जिम्मेवारी व्यापक छ र व्यापक जिम्मेवारी पूरा गर्न नेपाली सेनाले खुट्टा लरबराउने, लरतरो हिसावले सम्भव छैन, शुरवीरताको साहस देखाउनै पर्छ । राजनीतिलाई आफ्नो कोर्समा छाडिदिने, राजनीति असफल हुनासाथ सेना सक्रिय भइहाल्नुपर्छ । नेपाली सेना राष्ट्रिय धर्मप्रति सचेष्ट छ भन्ने विश्वास जनजनमा छ, यही विश्वासको सम्मान राख्नुपर्ने दायित्व छ सेनामा । सेनाको सकृयता समयको माग हो । किनकि अपराधले सीमा नाघिसक्यो । सेना हर्कतमा आउने दिनको प्रतिक्षा नागरिकमा छ ।
लोकतन्त्रमा सुगन्ध भेटिएन । कोही सीमा मिच्ने, कोही शासनमा किला ठोक्ने, कोही दिमाग भुट्ने, सकेसम्म नेपाललाई लुट्ने, हामीभित्र दास प्रवृत्ति बढेकै हो । स्वाभिमान साँघुरिएकै हो । हाम्रै छातीमा हामीलाई नै फुटबल ठान्ने, हान्ने ? विदुरनीति भन्छ– कुनै पनि काम समूहमा गर्नु उपयुक्त हुन्छ । यहाँ जे काम भइरहेको छ, गुटमा, गुटको स्वार्थमा भइरहेको छ । बुद्धले भनेजस्तै हाम्रा नेताहरु ‘कुरा अनुसारको काम नगर्दा बास्नाहीन फूलजस्तै’ बने । बास्नाहीन लोकतान्त्रिक गणतन्त्र नेपाललाई फापेन ।
समाजमा थिङ्क टेंक छन् भने तिनले विवेक बोल्नुपर्छ । सार्वभौम, स्वाधीन र लोकतन्त्रको मन्त्र जपेर नथाक्ने राजनीतिक प्राणीहरुलँई ०६३ को जनआन्दोलनले बलवान बनाएको हो । यिनको बाहुबली लूटतन्त्रमा सिमित हुनपुग्यो । यी बलवान र पहलवान नेताहरु कोही पनि राष्ट्रिय अस्तित्व कुन हालतमा पुगेको छ भनेर चुूइक्क बोल्दैनन् । जमाना थियो, भारतका जयप्रकाश नारायण भन्थे– यी कस्ता नेता हुन् जो नेपाललाई भारतका सामु नतमस्तक बनाउन दिल्ली आइरहन्छन् । त्यो कालखण्ड र यो कालखण्डमा भिन्नता रौं बराबर छैन, किनकि हाम्रा नेताहरुको राजनीतिक बैतर्णी बागमती बन्न सकेन, दिल्लीको यमुनाकिनार नै कायम छ । राजा, धर्म मास्ने, सेनालाई संविधानको नागपासले बाँध्नेजस्ता ठूला ठूला परिवर्तन त भए, नेतृत्वदायी व्यक्तिहरु दास मनोवृत्तिबाट माथि उठ्न सकेनन् ।
दासप्रथा उहिल्यै उन्मूलन भएको हो । उबेलाको कुरा कूबेलामा, अहिले देशभित्र खड्ग र प्रचण्ड नागरिकलाई दास बनाउने साँचो बनेका छन्, उनीहरु आफै विदेशीका सामु लम्पसार । लियो टल्सटायले दासताका तीन रुप हुन्छन् भनेर लेखेका थिए, दासताका सबै रुप लोकतान्त्रिक नेपालमा विद्यमान छन् । ०७५ साल असारको अन्तिम हप्ता ब्रम्ह चेलानीले नेपालमाथि भारतले ज्यादति गर्दै आएको छ, नेपालसँग माफी माग्नुपर्छ भनेर के लेखेका थिए, नेपाली बुद्धिजीवीले पो आलोचना गरे । गिदी बस्ने ठाउँमा गोबर भरिएपछि दासता त बढ्नै नै भयो । नेपाल श्रमिक सन्तान र दास नेता जन्माउने कारखानाजस्तो लाग्न थालेको छ । किनकि नेपालको नेतृत्व सम्हाल्ने नेताहरु स्वतन्त्र नेपालका धरहरा बन्न सकेनन् । राजनीति छ तर राजनीतिभित्र अपराधको थुप्रोमात्र छ ।
अपराधीक राजनीतिक नेताहरु दास पोखरीमा चुर्लुम्मै डुबाएर यिनीहरु आफू त समृद्ध भए, सम्पन्न भए । संविधान बनेपछि, चुनाव सम्पन्न भएपछि सिंहदरवार घरघरमा पुग्छ भनिएकै हो, सिंहदरवारको भ्रष्टाचार र अनैतिकता छताछुल्ल हुनपुग्यो । निगरानी र नियमन गर्ने निकाय लुते पारिएपछि कुखुराचोर बनबिरालाहरु नङ्ग्रा देखाएर बाघ हौं भनिरहेका छन् । वनबिरालो कुखुरा चोर हुनसक्छ, तर्साउन सक्छ, बाघ हुनसक्दैन ।
परिवर्तन भएको १८ वर्षमा पनि राजनीतिक गुत्थी सुल्झिएको छैन, राष्ट्रिय मुद्दाहरु सल्टिएको छैन, साधुलाई शूली, चोरलाई चौतारो शासन चलिरहेको छ । अराजकता र अस्थिरता बढ्दो छ । देश असफलताको भीरमा पुगिसकेको छ ।
विवेक नजाग्ने हो भने देश असफल हुनेछ । सबैमा चेतना रहोस् ।

sapta chakra spa
below next and prev inner page
below international hompage
below entertainmnet insurance
napali patro below sports