सात वटै भूगोल प्रदेशसहित दशवटै समूहका नेताहरूको भावी पार्टी नेतृत्व अध्यक्ष ओली : राजेन्द्र गौतम
वि.सं.२०८२ भदौ २२ आइतवार १४:०४
shares

काठमाडौँ । नेकपा (एमाले) प्रचार तथा प्रकाशन विभागका प्रमुख तथा स्थायी कमिटी सदस्य राजेन्द्र गौतमले केही सञ्चारमाध्यममा दोस्रो विधान महाधिवेशन सम्बन्धी अनर्गल प्रचार गरिएकोमा आपत्ति जनाएका छन् ।
महाधिवेशनको तेस्रो दिन समूहगत छलफलको प्रतिवेदन पेस गरेका समूहगत नेताहरूको भनाई सार्वजनिक गर्ने क्रममा प्रमुख गौतमले विधान संशोधनको मुख्य विषय उमेरहद र दुई कार्यकालको विषयलाई केही सञ्चारमाध्यमले गलत सूचना प्रवाह गरेको बताएका हुन् ।सात वटै भूगोल प्रदेशसहित दशवटै समूहका नेताहरूले भावी पार्टी नेतृत्व अध्यक्ष केपी शर्मा ओलीको विकल्प नभएको भनी प्रतिवेदन पेस गरेको बताए ।‘सात भूगोल र तीन गैर भूगोल समूहका नेताहरूले छलफलमा उठेका विषयलाई समावेश गरी बन्दसत्रमा प्रतिवेदन पेस गरिसक्नु भयो । दशवटै समूह नेताहरूले राष्ट्रपति, उपराष्ट्रपति मात्रै होइन संवैधानिक नियुक्ति पाएकालाई समेत पार्टीमा फर्किनु दिनु हुँदैन भन्ने विधानमै व्यवस्था गर्नुपर्छ भन्ने सुझाव दिनुभएको छ’,आइतबार दिउँसो मिडिया ब्रिफिङ गर्दै गौतमले भनेका छन् ।
सुदूरपश्चिम प्रदेश कमिटी अध्यक्ष कृष्णप्रसाद जैशीको भनाई उद्धृत गर्दै गौतमले लिपुलेकको भूगोल सुदूरपश्चिममै पर्ने र त्यसको असर पनि त्यहीँका जनतालाई पर्ने भएकाले हिजोका दिनमा लिपुलेकको मुद्दा प्रेमसिं धामीले राष्ट्रियकरण गरेको र अहिले अध्यक्ष केपी शर्मा ओलीले चीन र भारतसँग लिएको अडानबाट यसको अन्तर्राष्ट्रियकरण भएको बताए ।त्यसैगरी कर्णाली प्रदेशका अध्यक्ष तथा समूहगतका नेता गुलाबजंग शाहले नेतृत्वलाई थप स्थापित गर्ने समय भएकाले पार्टी भावी नेतृत्वमा अध्यक्ष केपी शर्मा ओलीकै निरन्तरता हुने बताएको गौतमको भनाइ छ । लुम्बिनी प्रदेश अध्यक्ष तथा समूहगतका नेता राधाकृष्ण कँडेलले नेपाली विशेषताका आधारमा समाजवाद निर्माण गर्न नेतृत्व स्थापित गरिनुपर्ने भएकाले पार्टी एकढिक्का भएर अघि बढ्नुपर्ने बताएको गौतमले जानकारी दिए ।
गौतमका अनुसार गण्डकी प्रदेशका उपाध्यक्ष तथा समूहगत नेता मीनप्रसाद गुरुङले समृद्ध नेपाल, सुखी नेपालीको राष्ट्रिय आकाङ्क्षालाई गन्तव्यमा पुर्याउन प्रतिवेदनहरूले प्रस्ट दिशा निर्देश गरेको बताएका थिए ।बागमती प्रदेशका अध्यक्ष तथा समूहगत नेता कैलाश ढुंगेलले आफ्नो समूहमा ७० वर्षे उमेर हद र दुई कार्यकाल हटाउनु पर्छ भन्ने विधान संशोधनलाई अधिकांशले समर्थन गरेको र केही मत हटाउनु हुँदैन भन्ने सुझाव आएको भनी तथ्य दिएको प्रस्टीकरण गौतमको छ ।
मधेस प्रदेशका अध्यक्ष तथा समूहगत नेता चन्द्रेश्वर मण्डलले आगामी महाधिवेशनबाट केपी शर्मा ओलीलाई नै पार्टीको नेतृत्व दिनुपर्ने धारणा राखेको भन्दै गौतमले कोशी प्रदेशका अध्यक्ष तथा समूहगत नेता घनश्याम खतिवडाले उपाध्यक्ष विष्णु पौडेलद्वारा पेस विधान संशोधनमा ७० वर्षे उमेर हद र दुई कार्यकाल हटाउने प्रावधानलाई स्वागत गरेको बताए । गैर भूगोलका शिव अधिकारी, चूडामणि जङ्गली र भक्त गुरुङले आ–आफ्नो प्रतिवेदन पेस गरेको जानकारी गराएका थिए ।
































