एकीकृत समाजवादीले बोलायो केन्द्रीय परिषदको बैठक
वि.सं.२०७९ असार ७ मंगलवार १७:४७
shares

काठमाडौं ।नेकपा एकीकृत समाजवादीले स्थानीय तह निर्वाचनको समीक्षा गर्न पार्टीको विभिन्न तीन तहको कमिटीको बैठक बोलाएको छ । मंगलबार केन्द्रीय कार्यालय आलोकनगरमा बसेको केन्द्रीय सचिवालयको बैठकले पोलिटब्युरो, केन्द्रीय कमिटी र केन्द्रीय परिषदको बैठक तय गरेको हो ।
उपाध्यक्ष केशवलाल श्रेष्ठका अनुसार १० गते पोलिटब्युरो, ११ गते केन्द्रीय कमिटी र १३, १४ मा केन्द्रीय परिषदको बैठक बोलाइएको छ। ‘तीन वटै बैठकमा हामीले निर्वाचनको समीक्षा गरेर आगामी कार्यभार तय गर्छौं,’ श्रेष्ठले भने । केन्द्रीय परिषद्को बैठक भने एकीकृत समाजवादीले पहिलो पटक बोलाएको हो । उपाध्यक्ष श्रेष्ठका अनुसार पहिलो पटक बस्न लागेको केन्द्रीय परिषद बैठकमा करिब १६ सयको उपस्थिति हुने छ ।
केन्द्रीय परिषद बैठकमा स्थायी कमिटी सदस्य, पोलिटब्युरो सदस्य, केन्द्रीय कमिटी सदस्य, केन्द्रीय विभाग सदस्य, जेष्ठ कम्युनिष्ट मञ्च, केन्द्रीय सल्लाहार लगायतका सदस्य स्वतः सदस्य हुने व्यवस्था छ । स्थायी कमिटी, पोलिटब्युरो र केन्द्रीय कमिटी बाट समृद्ध भएर आएको चुनाव सम्बन्धी प्रतिवेदन माथि केन्द्रीय परिषदको बैठकमा छलफल हुने श्रेष्ठले जानकारी दिए ।






































