linktrix Long Ad
Salt Trading Long Ad

आज भारतीय सेना प्रमुख मनोज पाण्डेले नेपाली सेनाको मानार्थ महारथीको दर्ज्यानी चिह्न ग्रहण गर्ने

793
shares

काठमाडौं ।पाँच दिने भ्रमणका लागि काठमाडौंमा रहेका भारतीय सेना प्रमुख मनोज पाण्डेले आज नेपाली सेनाको मानार्थ महारथीको दर्ज्यानी चिह्न ग्रहण गर्ने भएका छन् । उनलाई आज अपराह्न ३ बजे शितल निवासमा आयोजना राष्ट्रपति विद्यादेवी भण्डारीले नेपाली सेनाको मानार्थ महारथीको दर्ज्यानी चिह्न प्रदान गर्नेछिन् ।

नेपाल र भारत बीच सन् १९५१ देखि एकअर्का देशको सेना प्रमुखलाई मानार्थ महारथीको दर्जा प्रदान गर्ने प्रचलन छ । तत्कालीन भारतीय सेनाध्यक्ष जनरल केएम करिअप्पाले नेपालमा आएर पहिलो पटक मानार्थ महारथीको सम्मान लिएका थिए । यस्तो सम्मान पाउने मनोज पाण्डे भारतका १९ औं सेना प्रमुख हुन् । पाण्डे नेपालको औपचारिक भ्रमणका लागि आइतबार काठमाडौं आएका थिए । उनले आज सैनिक मञ्च टुँडिखेल स्थित वीर स्मारकमा श्रद्धाञ्जली अर्पण गर्नेछन् । त्यसपछि उनलाई नेपाली सेनाको मुख्यालय जंगीअड्डामा गार्ड अफ अनर दिने कार्यक्रम छ । भारतीय सेनाको तर्फ बाट नेपाली सेनालाई हुने सहयोग पनि सोही अवसरमा घोषणा हुनेछ ।

साँझ जंगीअड्डामा पाण्डेको सम्मानमा रात्रिभोज कार्यक्रम छ । मंगलबार सेना प्रमुख पाण्डेले सगरमाथा आधार शिविरको भ्रमण गर्ने कार्यतालिका छ । उनले मंगलबार नै प्रधानमन्त्री शेरबहादुर देउवालाई भेट गर्ने कार्यक्रम छ । भेटका क्रममा भारतीय सेनाले अघि सारेको अग्निपथ योजना बारे पनि कुरा हुनसक्ने अनुमान छ । अग्निपथ बारे भारतले लिखित जवाफ नदिए सम्म नेपाली युवाको भर्तीलाई रोकिएको छ ।

मंगलबार नै उनले काठमाडौं स्थित पशुपतिनाथ मन्दिरको दर्शन गर्ने कार्यक्रम पनि छ । साँझ लैनचौर स्थित भारतीय दूतावासमा रात्रिभोजको कार्यक्रममा उनी सरिक हुनेछन् । बुधबार मौसम अनुकूल भए उनी मुक्तिनाथ मन्दिर दर्शनका लागि जाने छन् । त्यही क्रममा उनी नेपाली सेनाको मध्यकमाण्ड हेडक्वार्टर पोखरामा पुग्नेछन् । सोही दिन वसन्तपुर स्थित हनुमानढोका जाने कार्यक्रम पनि तय भएको छ । नेपाल भ्रमण सकेर उनी बिहीबार अपराह्न स्वदेश फर्किने कार्यक्रम छ ।

sapta chakra spa
below next and prev inner page
below international hompage
below entertainmnet insurance
napali patro below sports