kumari
stcnepal

खु्रश्चेव, असरफ घानी लखेटिए झैं लखेटिनेहरु को को ?

 

राजन कार्की
कम्युनिष्ट निकिता ख्रुस्चेभ र असरफ घानी लखेटिएझैं लखेटिने को को होलान् नेपालमा ?खु्रस्चेभ रेड आर्मीका नेता थिए, असरफ घानी दुईपल्ट राष्ट्रपति जित्ने प्रजातान्त्रिक नामधारी थिए । तर दुबै नेता विदेशीको दलालीका कारणले ‘लाल गद्धार’ बनेर लखेटिए । नेपाल त्यही मोडमा आइपुगेको छ । हाम्रा नेताहरु ‘लाल गद्धार’भन्दा कम छैनन् । यिनले एउटा पनि देशभक्तिपूर्ण काम गरेको नागरिकलाई सम्झना छैन । यिनले जे गरे, देशलाई लुटे । जनता यसकारण यी नेताहरुसँग दिनदिनै आक्रोसित भइरहेका छन् ।

देश र जनताको सम्मानमा धक्कामात्र दिने राजनीति केही समयलाई यसको उबालले बचाए पनि अन्ततः जबबिरोधी नै हुन्छ र जनताले नकाछन् । नपाली कांग्रेस एमाले, माओवादी र जसपा अथवा यिनीहरुबाट टुटे फुटेका नेताहरुको राजनीति जनताको सर्वाधिकारमाथि, जनताको आकांक्षा र अपेक्षामाथि तुषारापात गर्ने कित्ताको भएकाले यिनीहरुप्रति जनताको मनको घृणाभावको डिग्री बढ्दै गएको छ । एउटा बिन्दुमा पुगेपछि जसरी पानी उम्लन्छ, त्यसैगरी जनआक्रोश पनि उम्लने विन्दुमा पुग्न लागेको अनुमान सहजै गर्न सकिन्छ ।०४६ सालपछि हेरौं, ०६३ सालपछि हेरौं, यिनका कृयाकलाप हेर्दा कठपुतली र कठमूल्ला भन्दा फरक पर्दैन । किनभने यिनीहरु विदेशी कठपुतलीजसरी चल्छन् र जब चल्छन्, बोल्छन्, हाउभाउ गर्छन् ः कठमूल्लाको अनुहारमा देखिन्छन् ।

यी सबै अर्काले चलाए चल्ने, नचाए नाच्ने ब्याट्रीबाट चलाउन मिल्ने टेलिभिजन जस्ता छन् । झट्ट हेर्दा यी सबै नेपाली जनताका नायक हुन् । जब एउटा राजदूतले दूतावासको कोठाबाट, एउटा विदेशी नेताले विदेश उठबस गराउँछ अनि लाग्छ, यिनीहरु कठपुतली हुन् । यिनीहरु आआफ्नै अहंमा जब पागल उफ्रे झैं उफ्रिन्छन् र आआफै बीच भागबण्डाको अहंकारमा लडन्त भिडन्त गरेर भुइँमा बजारिन्छन्, अनि यिनीहरु कठमूल्लाजस्ता लाग्छन् । स्पष्ट भन्ने हो भने आत्मनिर्णयको अधिकार हाम्रो नेतृत्व बर्गले गुमाईसकेका छन् ।इतिहासको एउटा घटना साक्षी छ, जनताको समर्थन र लोकप्रियताको गलत प्रयोग गर्ने खु्रश्चेव अन्ततः नूनखानीमा लखेटिएका थिए । हाम्रा नेताहरुले जनताको विश्वासको गलत प्रयोग गरिरहेका छन् । अब यिनीहरुको एउटै चुक यिनलाई जनताले ख्रुश्चेवलाई लखेटेजसरी लखेट्ने कारण बन्नसक्छ ।

विदेशीले हाम्रा नेताको मानसिकतामा साम्राज्यवाद, बिस्तारवाद र हैकमवादको विष घोल्न सफलता पाए । यसकारण नेपाल सामरिक महत्वको स्थलमा बाह्य मुकाम बन्न थालेका छन् । बाह्य आधारभूमि बन्न दिनुपर्छ भन्नेहरु हाम्रा लोकतान्त्तिक नेता बनेका छन् । नेपाल बिस्तारै बिस्तारै संक्रमणबाट संकटतिर उन्मुख हुँदैछ । नेपालले स्वाधीनता गुमाउँदै गएकोमात्र होइन, निर्णायक शक्ति पनि क्षीण बन्दै गएको देखिन्छ ।राजनीतिका नाममा नङ्गा नाच देखियो । बिहारीले देखाउने हातको सफाया खेलजस्तै गणतन्त्र देखाएर विदेशीतन्त्र देखाउने तरिका गजबको छ । जनता भ्रममा छन्, जनतालाई भ्रमित पार्न यिनलाई महारथ हासिल भइरहेको छ ।

नेपाली जनताको छोरो राष्ट्रपति, उपराष्ट्रपति, प्रधानमन्त्री, संवैधानिक निकायको जिम्मेवारीमा पु¥याए भनेको त, विदेशी मट्याङ्ग्रा र फट्याङ्ग्रा पो रहेछन् । यिनीहरु आफ्ना विरोधीलाई मट्याङ्ग्रा हानिरहेका छन्, नेपाली सार्वभौमिकता संकुचन पार्ने शक्तिराष्ट्रहरुको रणनीतिलाई ठिक हो, ठिक हो भनेर फट्याङ्ग्रा उफ्रेझैं उफ्रिदै समर्थन गरिरहेका देखिन्छन् । कुनै पनि विदेशी चाल किन ठिक, किन बेठिक जनतालाई सम्झाउने, बुझाउने काम कुनै पनि जनप्रतिनिधिले गरेका छैनन् । सरकार त नाममात्र हो, सरकारले जनताको प्रतिनिधित्व गर्छ भन्ने कुरा प्राविधिक मात्र हो ।

हाम्रा नेताहरुको ०४६ साल पछि अझ २०६३ सालपछिको चरित्र भनेको अवसरवादीमात्र हो । अवसरबाद सधै धोखाधडीमात्र गर्छ ।सहाराको मरुभूमिमा बेडोइन्स जातिका फिरन्ते मानिसहरु बस्छन् । उनीहरु घर बनाउँदैनन् । त्यो जाति र हाम्रा नेताहरु उस्तै उस्तै काँटका अथवा एउटै बर्गका प्राणी हुन् । यिनीहरुमा चेतना र स्वाभिमान भएको भए राष्ट्रलाई यसरी बिचल्ली र हरिबिजोकमा पार्ने थिएनन् । के छ सुरक्षित ? जब स्वार्वभौमिकताको द्रौपदीको चीर हरण भएझैं दिनदिनै बलात्कार भइरहेको छ र पनि संविधानसभा मौन छ भने यिनीहरु र सहाराको मरुभूमिका घुमन्ते बेडोइन्स जातिमा के भिन्नता रह्यो र ? न तिनको पहिचान थियो, न यिनको पहिचान छ । भतुवालाई खानैको पीर हुन्छ । हाम्रा नेताहरुलाई पनि ठूलो भागकै चिन्ता छ हरदम । खानकै लागि यिनीहरु अपवित्र गठबन्धन गरिरहेका छन् ।
हिजो नयाँ नेपाल बनाउँछु भन्थे, आज साबुत नेपाललाई संकटमा फसाइरहेका छन् ।हाम्रो देशको राजनीति भनेको सत्ता राजनीति मात्र हो । यिनले राजनीतिलाई व्यवसाय बनाइदिए । व्यवसायमा सेवाभाव रहन्न । व्यवसाय भनेको मुनाफाका लागि गरिने हो । हाम्रो देशको राजनीति दिनरात मुनाफा खोजिरहेको छ । राजनीतिमा मुनाफा भनेको राजनीतिक अपराधतन्त्र नै हो । यसकारण त ठूलो पार्टी कांग्रेससँग राष्ट्रवाद र समाजवाद छैन । एमाले, माओवादी र भुरे टाकुरे कम्युनिष्टहरुसँग जनवाद, सर्वहारावाद छैन । यिनका जे जे वाद थिए सबै सत्ता र स्वार्थसँग साटिसके ।

वर्तमान नेपाली राजनीतिक घटनाक्रम कुनैबेला पनामाका राष्ट्रपति नोरियगा र अमेरिकाको व्यवहारभन्दा भिन्न छैन । त्यतिबेला नोरियगा सीआईएका कठपुतली थिए । आजका नेताहरु सिआइए र ‘रअ’ का कठपुतली बनेका छन् । यिनले राष्ट्रका लागि कुनै धर्मयुध्द लडिरहेका छैनन् । यिनीहरु सत्ताको भागबण्डा खोसाखोस गरिरहेका छन् । कुनै दिन शक्तिशाली गोर्भाचोभका एस म्यान नबनेर शेभरद्नाज्देले धर्मयुध्द सुरु गरेका थिए । नेपाललाई शेभरनाज्दे अथवा मलेसियालाई सम्पन्न बनाउने ली क्वान युको खाँचो छ । कम्तिमा वर्तमान पाकिस्तानका प्रधानमन्त्री इमरान खानको आवश्यकता छ । त्यो छवि कुनै नेतामा जनताले देखिरहेका छैनन् । जो सत्ताको ठूलो भागका लागि मरिहत्ते गर्छ, त्यस्तो व्यक्ति कसरी धर्मयोध्दा बन्न सक्छ ? जो सत्ताको खेललाई सर्वस्व गुमाउने भोरजूवा बनाउन सक्छ, उ कसरी ली क्वान यु अथवा इमरान खान बन्न सक्छ ?

यी नेताहरुलाई स्मरणरहोस्, माओ र च्याङ्काईसेकबीच डरलाग्दो बैचारिक व्दन्व्द थियो तर यी दुबै नेता चीनको राष्ट्रिय अखण्डतामाथि जापानले धावा बोल्दा एउटै मोर्चामा बसेर देशका लागि लडे । हाम्रा नेताहरुमा यस्तो चरित्र कत्ति पनि छैन । राष्ट्र दिनदिनै हस्तक्षेपको सिकार भइरहेको छ, यिनीहरु सत्ताका लागि कोही हस्तक्षेपको पक्षमा र कोही विरोधमा उभिएका छन् । देशहितका लागि होइन, व्यक्तिगत स्वार्थका लागि ।यी सबै सुतुरमुर्ग हुन्, जो सुती सुती स्वार्थ सिद्ध गर्छन् । यस्ताबाट देशहितको रक्षा हुनसक्दैन । यिनको यही चरित्र सहनु भनेको सार्वभौमिकता र स्वाधीनताको अन्त्यमा सहभागी हुनुमात्र हो ।

footer