kumari
stcnepal

राजा रेट्ने ब्रुटस र लोक रेट्ने लोकनेता

राजन कार्की
राजालाई भ्रमित पारेर रेट्ने ब्रुटस र लोक रेट्ने लोकनेतामा भिन्नता रहेन ।देशका प्रधानमन्त्रीसम्मले सुटमाथि टोपी लगाएर विदेश भ्रमण गरे, पद तथा गोपनीयताको सपथ ग्रहण गर्दा राष्ट्रिय पोसाक र भाषाको समेत मजाक बनाए । संविधान बनाउनेहरुले नेपालको नाम र नेपाली झण्डा नै फेर्ने प्रस्ताव समेत गरे । संविधान निर्माण गरे, संविधानमै आगो लगाए । पद पाए संविधान, नपाए अराजकता फैलाउनेहरुले लोकतन्त्रलाई गाईजात्रा नै बनाइदिए । राष्ट्रियता, भाषा, भेष मजाक हुनसक्छ ? तर भयो । राष्ट्रिय नीति निर्माण गरेर सबै राजनीतिक दलहरुले त्यसमा प्रतिवद्ध हुन नसक्नु ठूलो कमजोरी हो । यही कारण नेपालको राष्ट्रियतामाथि अनेकानेक तरिकाले हमला भइरहेको छ, नेपालीत्वमा दुश्मन लागेको छ ।

फिदिमको दीपज्योति स्कूलमा दौरा सुरुवाल र टोपी, गुन्यूचोलो स्कूल ड्रेस बनेको छ । स्कूल डे«सकै कारण त्यो स्कूल नेपालभरि आकर्षणको केन्द्र रहेको छ । राजनीतिमा राष्ट्रप्रतिको सोचमा, लवाई खवाईमा, रहनसहनमा, विधिव्यवहारमा त्यस्तो नेपालीपन नदेखिदा अराजकता बढ्दै गएको हो । नेपालीत्वमा खिया लाग्नुमा नेपाली नेताहरुको ख्यालठट्टा जिम्मेवार छ । अन्यथा नेपालको संस्कृति र परम्परा यति धनी छ कि विश्व समुदाय लालायित हुनेगरेका अनेक उदाहरण छन् ।
वीरका गाथा इतिहासमा सिमित रह्यो । जनयुद्ध, जनआन्दोलनका घटना रोमाञ्चक कथामात्र रहे । इतिहासका घटनाक्रमलाई घोडा चढेर केही प्रभावशाली नेताहरु सत्ता र शक्तिको कमोत गर्न चाहनु भनेको सेक्सपियरको नाटकमा ब्रुटालिटीको सम्झना हुन्छ । हाम्रो लोकतान्त्रिक राजनीतिक फाँटमा राजनेता बन्नुपर्ने व्यक्तिहरु जनचाहना, जनइच्छा, राष्ट्र र राष्ट्रिय एकताका लागि ब्रुटसको ब्रुटालिटी बनिरहेका छन् । एकजना पनि राजनेता जन्मन नसक्नु भनेको राजनीतिकै दुर्भाग्य हो ।
राजनीतिले इमान र नैतिक पाठ पठाउन सकेको भए न राजनेता जन्मने थियो । सिकाएको पाठ भनेको दूराचार, विभेद, भ्रष्टाचार, अनैतिकतामात्र छ अनि कसरी राजनेता जन्मन्छ ? बीउ अर्थात सिस्नाको घारी रोपेर दूवो उम्रदैन ।

प्रचण्ड आएर के भो, ओलीले भाषणको गोली छाडेरै के भो ? माधव र उपेन्द्र यादवले पार्टी फुटाए, हात लाग्यो शून्य । देउवाको उदय भएर कांग्रेसले समाजवाद तिखारेको देखिदैन । गाईको पूजा गर्ने राप्रपा र गाई काटेर खान पाउनुपर्छ भन्नेको माइतीघर मण्डलामा प्रदर्शन बढेर जानथाल्यो । विभेद गर्न पाइदैन, गाई काटेर खान पाउनुपर्छ भन्ने नारा माइतीघरबाट घन्किन थालेको छ । धर्मनिरपेक्षतावादी राप्रपा र हिन्दूवादी राप्रपा, संविधानवादी प्रचण्ड र देउवा, विभेद भयो भनेर कुर्लने जनजातिहरुले अब जातीय हिंसा फैलाउने र संविधान विभेदकारी हो भनेर प्रमाणित गर्ने अराकता राष्ट्रिय एकताका लागि खड्गो बन्न थालेको छ । अली वा डेढवर्षपछिको चुनावलाई दृष्टिगन गरेर नेपालमा यस्तै अनपेक्षित रसायनशास्त्रको राजनीति सुरु भयोजसतो लाग्छ ।

जसले संविधान पालना गर्नुपर्ने हो, ऊ अराजक बन्न थालेको छ, जो अराजकतावादी हुन् ती घीउ थप्दैछन् । जो जेल जानुपथ्र्यो, ऊ सत्तामा पुग्छ । जो जेलमा सड्नुपथ्र्यो, अदालतले चोख्याउन थालेको छ । जो सत्तामा पुग्नुपथ्र्यो, ऊ धुलिसात भइरहेको छ । यस्तो राजनीति लोकतन्त्र, दिगो शान्ति स्थापनाका निर्णायक रे । सच्चा बोल्ने कोही छैन, कच्चा बोल्ने शेरबहादुूर देउवा, महन्थ ठाकुर, राजेन्द्र महतो, माधव नेपाल, प्रचण्डहरु जब एउटै डालोमा अटाउँछन्, यिनले देशको विधि निर्माण गर्दैनन्, राष्ट्रमा बाहुवली शासनकै बोलवाला हुन्छ ।
हाम्रा ठूला राजनीतिक दलहरुलाई सडकदेखि संसदसम्म, सिंहदरवारदेखि सर्वोच्च अदालतसम्म जताततै राजनीति फलाउनु फुलाउनु छ । राजनीतिकरण गर्नसके महारथ प्राप्त हुने यिनको धारणा कति गलत छ भने नेपालबाट समानता, समानुपातिक, न्याय र कानुन व्यवस्थासमेत ध्वस्त नष्ट हुनथालेको छ । जता हे¥यो उतै राजनीति, राजनीतिक अनियमितता । अनियमितताको हाँगो समातेपछि जे पनि सम्भव हुने तन्त्र लोकतन्त्र बनेको छ । विकृतिले हद नाघ्दैछ । कुहिएर फतक्क फतक्क झर्न थालिसक्यो लोकतन्त्र, अझै यिनीहरु समाजवाद ल्याउँछु भनेर जनताको आँखामा छारो हाल्दैछन् ।
आज पनि ठूला दलहरु दिग्भ्रमित छन् अथवा राजनीतिक स्वार्थप्रेरित भएर थाहा नभएजस्तो गर्छन– जात, गुट, क्षेत्र, भाषाको वकालत गरिरहेका छन् । विधिमा चलौं, विधि स्थापित गरौं, लोकतन्त्र मजबुत पारौं भन्ने कोही छैनन् । सबैलाई सत्ता चाहिएको छ । लोकतन्त्र भनेको अनुशासन र विधि हो भन्ने कुनै नेताको भेजामा घुस्नै सकेन । गिदी हुने ठाउँमा लिदी भरिएको भनेको यही हो ।

१४ वर्षदेखि जे चलिरहेको छ, त्यो मनलागी शासन हो । ती सबै अशान्तिको बीउ र निहुका कारक बनेका छन् । लोकतन्त्रमा लोकको भलो, राष्ट्रको भलोभन्दा अर्को उद्देश्य नै नहुनुपर्ने हो । राष्ट्रसंघका १ सय ९२ सदस्यमध्ये २८ राष्ट्रमा संघीयता छ, तिनमा कति सफल, कति असफल त्यसको पनि लेखाजोखा गरिएन र नेपाललाई संघीयतामा लगियो । सानो देश, १ सय २६ जातिको देशमा संघीयताले जुन तिक्तता बढाएको छ, यसबाट नेपालको सबैभन्दा बलियो शक्ति नेपाली एकता खण्डित हुनपुगेको छ । संघीयता पूर्णतः असफल भइसकेपछि पनि पन्चर भएको गाडी घिसारेझैं घिसारिएको छ । यो अतिशयोक्तिभन्दा केही होइन ।
सुशील कोइरालाको सरकारका पालामा बेलामा प्रकाशित संयुक्त वक्तव्यको ११औं बुँदामा अन्तर्राष्ट्रिय मामिलामा भारत र नेपालको एकै विचार हुनेछ भनेर सही नै गरेर आएका थिए ।

उत्तरी सुरक्षाकेन्द्र हिमाल भन्ने भारतले नेपाललाई छाता ओढाइदिएको छ । अब अमेरिका पनि नेपाल प्रवेश गरेको छ । नेपाल यसरी खुम्चिन थालेको छ । यो चिन्ता जनप्रतिनिधिहरुमा पटक्कै देखिदैन । राजतन्त्रका बेलामा जस्तो नेपालले के बोल्छ भनेर राष्ट्रसंघका सदस्यहरु कान ठाडो पारेर सुन्थे । अव त्यस्तो नेपालको व्यक्तित्व खिइदै गयो ।
लोकतन्त्रमा लोकको सम्मान आर्जन गर्न नसक्ने कायरहरुको राज लोकले कहिलेसम्म सहिरहने हुन् ? हुन त कुनै बेला भद्रकाली मिश्र थिए जसले नेपालमा भारतीय सेना भित्र्याए । क्याविनेटमा राजदूत बस्थे, क्याविनेट सचिव भारतीय प्रतिनिधि हुन्थ्यो । ती दिन छिमोल्दै स्वतन्त्रताको महल बनाएको राजतन्त्रको निरंकूशता फाल्ने आवरणमा राजतन्त्र नै फाल्नेहरुले अव मुलुकै फाल्छन् कि भन्ने भय फैलिन थालेको छ । शेक्सपियरको नाटकको ब्रुटसलेजसरी षडयन्त्र गरी गरी सिंहलाई मारेर स्यालहुइयामा चलेको देश बन्यो नेपाल ।
जनता सतर्क नहुने हो भने जे पनि हुनसक्छ । समयले उठाएको गम्भीर प्रश्न हो यो । नेपाल रेड जोनमा परिसक्यो ।

हरेक नेपालीको मनमा छ– राणा शासन र लोकशासनमा के भिन्नता आयो र खोई ? नेता र तिनका आसेपासेलाई रमाइलो, अरुलाई दुःखपीडा, डाहा छटपटी । विकारै विकार भरिएको गिदी भएकाहरु शासनमा पुग्ने रहेछन्, बाँकी जनताको शोषणमा जुट्ने रहेछन् । यस्तो बेहाल, बेथिति त राणाशासनमा पनि थिएन, जो अहिले सर्वत्र व्याप्त भएको छ ।
महाभारतको युद्ध हुँदा रुखमा झुण्ड्याइएको बर्बरेले कहालीलाग्दो रक्तपात सुनाइरहेको थियो, त्यस्तै जनयुद्ध, जनआन्दोलन र त्यसपछिको लोकतन्त्रको इतिबृतान्तका पाना पल्टाउने र आजको छिमेकी हस्तक्षेपको सन्दर्भ हेर्ने हो भने नेपालमाथि जघन्य हस्तक्षेप बढ्दै गएको देखिन्छ ।

यी दलहरु युनानी वियोगान्त नाटका पात्रहरुझैं ननास्सियुन् ? महाभारत युद्धमा यदुवंशी सिद्धिएझें नसिद्धियुन् । किनभने हाम्रा नेताहरु कलहको बीउ दिनदिनै छरिरहेका छन् । हाम्रा नेताहरु देशमा विदेशीको परेड खेलाइरहेका छन्, हैकम र हुकुमको शक्ति दिदै गएका छन् । सिंहदरवार दिल्ली र वाशिङ्टन सारेपछि के हुन्छ ? बस, तत्कालको राजनीतिक स्वार्थका पुतला बनेर विदेशीको लहै लहैमा लल्लरी गाइरहेका हुन् यिनले । देशै नरहे कहाँ राजनीति गर्ने ? यत्ति कुरा पनि अझै नबुझ्ने ?

 

footer