linktrix Long Ad
Salt Trading Long Ad

उखु बेचेको अनुदानको रकम सरकारले दशैंमा पनि दिएन कृषकलाई

572
shares

सर्लाही । सर्लाहीका उखु उत्पादन किसानले पाउनुपर्ने २९ करोडभन्दा बढी अनुदान बापतको रकम उखु बेचेको सात महिना हुँदा पनि पाउन नसकेको गुनासो गरेका छन् । जिल्लामा सञ्चालनमा रहेका तीनवटा चिनी उद्योगलाई ४१ लाख क्विन्टलभन्दा बढी उखु बेचेका किसानले राज्यले उपलब्ध गराउनुपर्ने अनुदान बापतको प्रतिक्विन्टल ७० का दरले २९ करोड २५ लाख ५२ हजार सात सय ४९ उखु बेचेको सात महिना हुँदा समेत नपाएको नेपाल उखु उत्पादक किसान महासंघका अध्यक्ष कपिलमुनी मैनालीले जानकारी दिए ।

उनका अनुसार दसैँको मुखमा पनि उखु बेचेको अनुदान बापतको रकम नपाउँदा जिल्लाका किसान निराश भएका छन् । उखु बेचेको अनुदान बापतको रकम नदिँदा जिल्लाका उखु उत्पादन किसानमा दसैँ कसरी मनाउने भन्ने चिन्ता बढेको अध्यक्ष मैनालीले बताए । जिल्लाका इन्दुशंकर चिनी उद्योग हरिवन, महालक्ष्मी चिनी उद्योग बगदह र अन्नपूर्ण चिनी उद्योग धनकौललाई आर्थिक वर्ष २०७९/८० मा किसानले ४१ लाख ७९ हजार तीन सय २४ दशमलव ९९ क्विन्टल उखु बिक्री गरेका थिए । त्यसमध्ये राज्यले दिनुपर्ने अनुदान बापतको रकम उखु बेचेको सात महिना हुँदा समेत नपाएको बागमती नगरपालिका–४ का किसान केदारनाथ प्रसाईँले गुनासो गरे । अहिलेसम्म अर्थ मन्त्रालयबाट उखुको अनुदान रकम प्राप्त नभएको कोष तथा लेखा नियन्त्रक कार्यालयका कोष नियन्त्रक पुरुषोत्तम बरालले बताए । उनका अनुसार कार्यालयलाई रकम प्राप्त भएपछि करिब दुई साता आन्तरिक तयारी गरेपछि किसानको खातामै रकम पठाउन सकिने छ ।

सरकारले आव २०७९/८० मा उखुको मूल्य प्रतिक्विन्टल ६ सय १० निर्धारण गरेको र त्यसमध्ये चिनी उद्योगले प्रतिक्विन्टल ५ सय ४० भुक्तानी गर्ने र बाँकी प्रतिक्विन्टल ७० सरकारले अनुदानबापत उपलब्ध गराउने सहमति भएको नेपाल उखु उत्पादन किसान महासंघका अध्यक्ष मैनालीले बताए । उनका अनुसार राज्यले दिनुपर्ने अनुदान बापतको रकम उखु बिक्री गरेको सात महिना भइसक्दा समेत उखु उत्पादक किसानले नपाउँदा किसानमा थप निराशा छाएको छ ।आफूहरुले पटक–पटक अर्थ मन्त्रालयमै पुगेर ताकेता गर्दा पनि सरकारले जिल्लामा अनुदान रकम पठाउन आलटाल गर्दै आएको अध्यक्ष मैनालीले आरोप लगाए । गत वर्ष पनि दसैँको मुखैमा उखुको अनुदान रकम निकासा भएको थियो ।

sapta chakra spa
below next and prev inner page
below international hompage
below entertainmnet insurance
napali patro below sports