विरोध हुने डरले सभापति देउवा त्रसित
वि.सं.२०८० मंसिर २९ शुक्रवार १३:१०
shares

काठमाडौ । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले नीति महाधिवेशनको समेत काम गर्ने गरी मंसिर १३ देखि १५ गतेसम्म महासमितिको बैठक गर्ने गरी मिति तोकेका थिए । त्यसपछि मंसिर २९ देखि पुस २ सम्मलाई तोकियो । तर फेरी पुस १६ देखि १९ सम्मका लागि तोकिएको भएपनि अहिले सो बैठक पछि सार्न सभापति देउवा सहित संस्थापन पक्ष लागि परेको छ । अब फागुनमा बैठक गर्ने गरी सभापति देउवाले संस्थापन पक्षसँग छलफल चलाएका छन् ।
महाधिवेशन भएको ६ महिना भित्रमा नीति महाधिवेशन गर्ने गरी कांग्रेसले दुई वर्ष अघि नै केन्द्रीय पदाधिकारी र सदस्यहरुको निर्वाचन गरेको थियो । २०७८ मंसिरमा दोस्रो पटक सभापतिमा निर्वाचित भएका देउवाले नत नीति महाधिवेशन बोलाए नत महासमितिको बैठक नै बोलाए ? आफ्नो विरोध हुने भएपछि देउवा महासमितिको बैठक बोलाउन नै चाहेका छैनन् ।
सत्ता गठबन्धनको प्रमुख घटक रहेको नेपाली कांग्रेसले संघीय सरकारमा ९ वटा मन्त्रालय लिएको छ भने प्रदेश सरकारहरुमा समेत कांग्रेसले तीन मुख्य सहित सातै प्रदेशमा सहभागिता जनाएको छ । सत्ता गठबन्धनको नेतृत्व माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालले गरेका र दाहाल सरकारबाट मनग्य फाइदा लिँदै आएको कांग्रेस अहिले पुष्पकमल दाहालको भरियाको रुपमा मात्र सिमित भएको छ ।
एनसेलको शेयर खरिद विक्रिमा प्रधानमन्त्री दाहाल र उनकी छोरी गंगा दाहालको संलग्नता रहेका समाचारहरु प्रकाशित र प्रशारित हुँदै आएका भएपनि त्यस विषयमा कांग्रेस मौन रहेकाले गर्दा उक्त प्रकरणमा कांग्रेसका सभापतिको समेत संलग्नता हुन सक्ने आशंका गरिएको र महासमितिको बैठकमा सो प्रकरण उठ्न सक्ने डरले गर्दा सभापति देउवा महासमितिको बैठक पछि सार्नु लागि परेको कांग्रेसकै नेताहरुले बताउन थालेका छन् ।
दाहाल सरकार भ्रष्टाचार काण्डमा चुर्लुम्म डुबेको छ । सत्ता गठबन्धनमा रहेका दलहरुका नेता तथा कार्यकर्ताहरु नै संलग्न रहेका भएपनि उनीहरुमाथि कानुनी कारबाही नगरि उन्मुक्ति दिएको आरोप सत्ता गठबन्धन र दाहाल सरकारलाई लागेको हुनाले त्यसैलाई मध्यनजर गर्दै देउवा महासमितिको बैठक पछि पार्न लागि परेका छन् ।
आफ्ना पार्टी सभापतिले आफ्नो विधानको उल्लंघन गर्दा समेत सरकारमा रहेका कांग्रेसका नेताहरुले सभापतिलाई साथ दिनु भनेको मिलीजुली मुलुक लुट्नु बाहेक अन्य केही हुन सक्दैन । यी सबै कारणहरुले गर्दा कांग्रेसको संस्थापन पक्षका नेताहरु सभापति देउवाका दासमात्र रहेको आरोप समेत संस्थापनइतर पक्षले लगाउन थालेका छन् ।





































