जाने बेलामा दीर्घकालीन असर पर्ने कुनै पनि निर्णय नगर्ने र नगराउन उपकुलपति सिंहलाई प्रधानमन्त्रीको निर्देशन
वि.सं.२०८० माघ ५ शुक्रवार १०:०८
shares

सुर्खेत । मध्यपश्चिम विश्वविद्यालयका उपकुलपति प्रा.डा नन्दबहादुर सिंहले शुक्रवार दुईवटा भवनको उद्घाटन नेकपा एमाले अध्यक्ष केपी ओलीको हातबाट गराउँदै छन् । ओलीले शुक्रवार विश्वविद्यालयको स्कुल अफ म्यानेजमेन्ट तथा कर्णाली आदिवासी ज्ञान, सीप, तथा प्रविधि संस्थानको भवन उद्घाटन गर्ने छन् । प्रतिपक्ष दलको नेताबाट उद्घाटन गराउन लागेको थाह भएर होला, विश्वविद्यालयका कुलपति समेत रहेका प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले सिंहलाई जाने बेलामा दीर्घकालीन असर पर्ने कुनै पनि निर्णय नगर्ने र नगराउन निर्देशन दिएका छन् ।
प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयले प्रधानमन्त्रीको निर्देशन भनेर बुधबार विश्वविद्यालयलाई पठाएको पत्रनै लेखेको छ । उक्त पत्रमा भनिएको छ, ‘विश्वविद्यालयका कुलपतिको पदावधि निकट भविष्यमा समाप्त हुन लागेकोले नयाँ उपकुलपति नियुक्तिका लागि सिफारिस समिति गठन गर्ने निर्णय भएको हुँदा बुधबार (माघ ३) बाट लागु हुने गरी कुनैपनि सरुवा, नियुक्ति, सम्बन्धन, अनुमति लगायतका दीर्घकालीन असर गर्ने निर्णयहरू नगर्ने नगराउन हुन प्रधानमन्त्री एवम् विश्वविद्यालयका कुलपतिज्यूको निर्देशानुसार अनुरोध छ ।’ उपकुलपति नन्दबहादुर सिंहको पदावधि फागुनमा सकिँदै छ ।
उक्त पत्र ओलीले भवन उद्घाटन गर्ने समयको दुई दिन अघि मात्रै आउनुले कतिपयले प्रतिपक्षको नेताबाट उद्घाटन गर्ने विषयसँग जोडेर पनि आलोचना गरिरहेका छन् । रातोपाटीले यो विषयमा विश्वविद्यालयका रजिष्टार प्रा.डा नारायण पौडेललाई सोधेको थियो । पौडेलले उक्त पत्र भवन उद्घाटनको विषयसँग सम्बन्धित नरहेको बताए । ‘ओलीज्यूको हातबाट उद्घाटन गर्ने कुरा एक महिनाअघि दिनै तय भएको हो, यो विषयमा उक्त पत्रको निर्देशन सम्बन्धित छैन, अरू विषयमा हो,’ उनले भने । अर्कातर्फ विश्वविद्यालयमा गत असोजदेखि तालाबन्दी छ । विभिन्न माग राख्दै प्राध्यापक तथा विद्यार्थी संघ–सङ्गठनहरूले विभिन्न माग राख्दै गरेको तालाबन्दी अहिलेसम्म खुल्न सकेको छैन । पौडेलले उक्त विषयमा छलफल भइरहेको बताए ।






































