linktrix Long Ad
Salt Trading Long Ad

आफ्नो सन्तान नेपाली नहोस् भन्नेमा भविष्य सुरक्षित ठान्ने अवस्था आउँछ भने देशको अवस्था, राष्ट्रियताको अवस्था कहाँ पुग्यो ? : राजेन्द्र लिङ्देन

559
shares

काठमाडौँ । राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष राजेन्द्र लिङ्देनले नेपालका युवा जनशक्तिको विदेश पलायन डरलाग्दो अवस्थामा रहेको बताएका छन् । शनिबार काठमाडौँमा राष्ट्रिय प्रजातन्त्र पार्टीले गरेको ‘राष्ट्रियताको सन्दर्भमा गणतन्त्रको डेढ दशक’ विषयमा गरेको अन्तर्क्रिया कार्यक्रममा बोल्दै उनले शिक्षित जनशक्ति नेपाल नफर्कने गरी विदेश पलायनको अवस्था कसले सिर्जना गरेको भन्दै प्रश्न गरेका छन् ।

उनले भने–‘नपढेका मात्र हैन पढेलेखेका योग्यता, क्षमता भएका मानिसहरु पनि विदेश जानका लागि ताँती लागिरहेका छन् । (बामदेव गौतमको नाम नलिई) हुँदा हुँदा एकजना पूर्व गृहमन्त्री बुहारी लिएर अमेरिका जानुभयो । मैले साथीलाई किन जानुभएको भनेर सोध्दा उहाँको बुहारी सुत्केरी हुने बेला भएको छ, अमेरिकामा सुत्केरी गराउन जानुभएको भने । मैले त्यसबेला कुरा बुझिनँ । त्यहाँ उपचार सुविधा लिन होला भन्ने सोचेको थिएँ तर त्यहाँ जन्मिएपछि अमेरिकी नागरिक हुने रहेछ । सन्तान जन्मेपछि नेपाली नहोस् भन्ने चाहनाले अमेरिका गएका रहेछन् ।’

अध्यक्ष लिङ्देनले अर्का चर्चित कलाकार (रेखा थापाको नाम नलिई) पनि बच्चा जन्माउनका लागि अमेरिका गएको उल्लेख गर्दै जीवनमा एउटी महिलाले पहिलो पटक पाउने सन्तान अब यो धर्तीमा जन्माउन नचाहने अवस्था आएको बताए । उनले भने–‘आफ्नो सन्तान नेपाली नहोस् भन्नेमा भविष्य सुरक्षित ठान्ने अवस्था आउँछ भने देशको अवस्था, राष्ट्रियताको अवस्था कहाँ पुग्यो ? यो भन्दा गम्भीर अवस्था के हुन सक्छ ? यो भन्दा देशको लागि दुर्भाग्यको अवस्था के हुन सक्छ ? राष्ट्रियताको भान मर्दै गएको हो कि हैन ?’

अध्यक्ष लिङ्देनले सरकार कुन आयोजना सञ्चालन गर्दा सुरक्षित ढङ्गले नीतिगत भ्रष्टाचार गर्न पाइन्छ त्यसमा अल्झिरहेको बताए । देशमा संस्थागत रूपमा, नीतिगत रूपमा भ्रष्टाचार मौलाइरहेको उल्लेख गर्दै जात, भनसुन, चिनजानका आधार नभई जनताले सुविधा पाउन नसक्ने अवस्था रहेको उल्लेख गरे । योग्यता, क्षमताका आधारमा नभई पहुँचका आधारमा सुविधा दिने काममा गणतन्त्र ल्याएका भन्ने दलहरू नै तल्लीन भएपछि जनतामा राष्ट्रियताप्रति वितृष्णा नभएर के हुन्छ भन्दै प्रश्न गरे ।

sapta chakra spa
below next and prev inner page
below international hompage
below entertainmnet insurance
napali patro below sports