linktrix Long Ad
Salt Trading Long Ad

बालेन : काग कराउँदैछ, पिना सुक्दैछ

507
shares

 

बालेन सरकार ढाल्ने विपक्षीको प्रयत्न जारी छ । बालेनले राजीनामा दिनुपर्छ– विपक्षीको एकबुँदे माग यही हो । यो मागका बारेमा विश्लेषकहरु भनिरहेका छन्– काग कराउँदै छ, पिना सुक्दै छ ।
विपक्षीले मुखले रचनात्मक काममा सहयोग गर्ने, गलत प्रवृत्तिमा बिरोध गर्ने जनाउ दिइरहे पनि शबयात्रामा बजाउने एकोहोरो शंखझैं कान फुक्ने, खुट्टा तान्न, नाक काट्ने, मुख बिगान सबै बिरोधी हर्कत गरिनै रहेका छन् ।
मुखमा राम राम बगलीमा छुरा चरित्र बिपक्षीहरुको सबैले अनुभूत गरेका छन् । बालेन सरकार हात्ती लस्केझैं अगाडि बढिरहेको छ । जनमुखी सरकार, लोकतान्त्रिक सरकार, जनादेशको संवोधन कसरी हुन्छ भनेर देखाउने नतिजामुखी काम गर्न अग्रसर भइनै रहेको देखिन्छ ।
बहुदल र गणतान्त्रिक लोकतन्त्रको परिवर्तन भोगियो तर यथार्थमा परिवर्तन, रुपान्तरण भएकै रहेन छ । त्यसैको फलस्वरुप जेनजी बिद्रोह भयो, विद्रोहपछिको फागुन २१ मा युवा समर्थनले रास्वपाले चुनाव जित्यो, नयाँ युवाको सरकार पनि बन्यो तर अझै राजनीतिक रुपान्तरण भयो भन्न सकिन्न । नयाँ पुस्तालाई जनादेश प्राप्त भएपछि परिवर्तन हुने आशा पलाएको हो, अझै त्यो आशाले साकार रुप लिन सकेको छैन ।
यतिबेला नेपाल परिवर्तन र स्पान्तरणको चौबाटोमा उभिन पुगेको छ । वास्तवमै राष्ट्रमा रुपान्तरण र परिवर्तन प्रमाणित होला त ? धेरैले प्रश्न गर्न थालेका छन् । विज्ञहरु भन्छन्– भर्खर चार महिना भयो केही समय पर्खनुपर्छ, काम गर्छ भने गर्न दिनुपर्छ ।
देशमा अनेक परिवर्तन, अनेक आन्दोलन, अनेक राजनीतिक घटनाक्रम घटेका छन् । जनयुद्ध र पछिको आन्दोलन के आन्दोलन ? त्यति ठूलो जेनजी बिद्रोह देशले भोग्यो । यही विद्रोहलाई जनताले साथ दिए, चुनावमा मत दिए, अभूतपूर्व जनादेश रास्वपाले पायो । तर स्थिरता र सुशासन, भ्रष्टाचार र अराजकताबाट मुक्ति पाउन सकिएको छैन । कतै जनअपेक्षासहितको रणनीतिक सत्ता परिवर्तन जनमतको भड्काव सावित हुने त होइन ? लामो अनिश्चितताको चक्र च्यातेर आएको यो नयाँ पुस्ताको नेतृत्व राष्ट्रिय रणनीतिक स्थिरताको प्रत्याभूति हुनुपर्नेछ । ४ महिनामा त्यस्तो प्रत्याभूतिका सामान्य संकेत बाहेक केही देख्न पाइएको छैन ।
बहुदलपछि संविधान बहस, निर्माण र आवधिक चुनावले राष्ट्रिय विश्वासको जगेर्ना गर्नैसकेन । अस्थिरता, अराजकता, अविश्वास, भ्रष्टाचार, कुशासन बढ्दै गयो । अहिले ऐतिहासिक जनादेशसहितको सरकार छ, यो सरकारले सुशासन दिन्छु भनेको छ, भ्रष्टाचारीमाथि अनुसन्धान सुरु गरेको छ । तर ऐंजेरुका रुपमा रहेका पुराना भ्रष्ट नीति, सिद्धान्त, नैतिकहीन नेतृत्व कारवाहीबाट भयभित छ । यसकारण नयाँ पुस्ताको सरकारलाई जसरी पनि असफल पार्न दृढसंकल्पित रहेको देखिन्छ । नयाँ पुस्ताको सरकारले आत्मविश्वास, नियत सफा राखेर विश्वसनीयता आर्जन गर्दैछ, यही मियोमा राजनीतिक परिवर्तन र रुपान्तरण फल्न फुल्न सक्ने देखिन्छ । जब राष्ट्रिय आत्मविश्वास राष्ट्रिय मूल नीति बन्छ, अन्तर्राष्ट्रिय साझेदारी र विश्वास आफसेआफ फलिभूत हुँदै जानेछ । २०४६ सालमा बहुदल आयो, दलहरुमा स्वत्ता स्वार्थका कारण नीति र नैतिकशक्ति गुमाउँदै गए । परिवर्तनपछिको रणनीति विफल हुँदै गयो । यही विफलताले केही समय राजशाही ब्यूँतायो, राजाको इच्छाले होइन, दलीय स्वार्थका कारण । राजाबाट सत्ता खोस्नका लागि २००५ नोभेम्बरमा सातदलीय गठबन्धन र माओवादीबीच दिल्लीमा १२–बुँदे समझदारी हुनु नेपाली राजनीतिको दुर्भाग्य हो । यही सम्झौताका कारण भारतले नेपालको परिवर्तनमा आफ्नो हिस्सेदारी र साझेदारी जनाइरहेको छ ।
जनअपेक्षा संवोधन गर्न बहुदल र गणतन्त्र चुक्यो । जनतामा असन्तोष व्याप्त भयो । आमनागरिक र त्यसमा नयाँ पुस्ता जुट्यो र जेनजी विद्रोह हुनपुग्यो । बहुदल र गणतन्त्रवादीहरु पुच्छर लुकाएर भागे । २७ घण्टामा गणतान्त्रिक सरकारले ज्यान बचाएर भाग्नुप¥यो ।
जेनजी विद्रोह ऐतिहासिक थियो, फागुन २१ को निर्वाचन पनि ऐतिहासिक थियो ।
यी सबै घटनाक्रम जनताप्रति जवाफदेही शासन, आर्थिक र रोजगारीको अवसर, परिणाममुखी राज्य, भ्रष्टाचारको अन्त गरेर सुशासन दिनसक्ने साह जनताको च्वाइस थियो । बहुदलपछि कुनै पनि नेताले दिन नसकेको परिवर्तन दिन्छौं भनेर रास्वपा अगाडि आएको छ, बालेन साह प्रधानमन्त्री बनेका छन् । हिजोका कुडाकरकटले जतिसुकै अल्झो थापे पनि बालेन साह निरन्तर जनतासँग गरेको करार अनुसार काम गर्दै अगाडि बढिरहेका छन् । तर बालेन सरकारलाई सहयोग गर्नुपर्छ भन्ने धारणा प्रजातान्त्रिक जिम्मेवारी विपक्षी दलहरुले बनाउन सकेनन् ।
रास्वपा सरकारका लागि आन्तरिक राजनीतिले गर्ने खोक्रो बिरोधको मात्र सामना गर्ने हो । तर भूराजनीतिको गोलचक्कर जुन छ, भारत–चीन–पश्चिमी शक्तिहरुवीच सन्तुलन गर्न निकै कठिन देखिन्छ । बालेनलाई सुशासन स्थापित नगरी भूराजनीतिबाट निस्कन धेरै मुस्किल देखिएको छ । बालेनसँग आमनागरिकमा धेरै आशा छ, त्यो आशा परिपूर्ति गर्न बालेनका लागि वर्तमान कालखण्ड फलामको च्यूरा चपाउनु भन्दा कडा देखिदैछ । आन्तरिक राजनीतिक खिचलो, बाह्य दबाब र कूटनीति नेपालका लागि सयमनको भारी बन्न पुगेको छ । २०४६ सालदेखि जो दल र नेताहरु थिए, आज पनि तिनै राजनीतिका बादशाही बनेर उभिएका छन् । उनीहरु पुस्तान्तरण र राजनीतिक नेतृत्व हस्तान्तरणतिर उन्मुख छैनन् । अझै हामी नै राजनीतिका बादशाह हौं भन्ने भ्रम पालेर बसेका छन् ।
भ्रम कहिले पनि सत्य हुनसक्दैन । भ्रम केही छिन सही लागे पनि अन्ततः सधैं जनतालाई भ्रमित पारिरहन सकिन्न । हिजोका भ्रमपूर्ण शासनलाई जनताले लुगा च्यातेझैं च्यातिसके । राजनीतिक बादल फाटिसक्यो बालेन सरकार पनि भ्रम छरेर चल्न सक्दैन । बालेन भ्रम छर्न पनि चाहँदैनन् पनि । उनले सिधै भनेका छन्– म काम गर्न आएको हुँ, काम गर्छु, कुनै पनि खतरासँग डराउँदिन । नेपाललाई चाहिएको यस्तै दह्रो प्रधानमन्त्री हो । रास्वपा र बालेन के हुन् ? समयले बताउला ?
बहुदलपछि ३५ वर्षमा ३१ सरकार बन्यो, कुनै नतिजा दिन सकेनन् । बहुदल र लोकतन्त्र भनेर समय बित्यो, राज्य सम्पत्तिको लूटमात्र चलिरह्यो । एउटा जेनजी आन्दोलनलाई थाम्न सकेन बहुदल र गणतान्त्रिक लोकतन्त्रले ।
नेपालको जेनजी सरकार, बालेन साहको नेतृत्व, पहिलोपल्ट विश्वभरि चर्चा पाएको बालेन साह जो प्रधानमन्त्री बने, उनले नेपाल र नेपालीको शिर उच्च राख्छन् भन्ने विश्वास जनतामा छ ।
हिजोको समयले परिवर्तनको आकार दिन सकेन । त्यसैले असफल भए ।
आजको समयले परिवर्तनको आकार खोजिरहेको छ । नयाँ जनादेश, संस्थागत सुधार, प्रभावकारी शासन, र नागरिक जीवनमा प्रजातन्त्र समयको खोज हो । यो खाजलाई जनजीवनमा बालेन सरकारले दिन खोजेको छ । दिन्छ भन्ने विश्वास जगाएको छ । प्रमाणित भइसकेको छैन ।
हुन त ४ महिनामै हुनसक्ने विषय होइन यो । पुरानाले गर्न पनि ३५ वर्षमा बेपर्व भ्रष्टाचार गरेका रहेछन् । नयाँ अहिलेसम्म भ्रष्टाचारमा मुछिएका छैनन्, नियतमा शंका छैन । अनुभवको कमीले कमजोरी धेरै छन्, सुधार्न जरुरी छ । हिजोजस्तो व्यक्ति शोषण, संस्था शोषण, राष्ट्रिय ढुकुटी र राष्ट्रिय सम्पत्तिको दोहन रोकिएको देखिन्छ । यो जनमुखीपन हो ।
यो सरकारले अस्थिरता, कमजोर शासन, संस्थागत भ्रष्टाचार, अत्यधिक राजनीतिकरण, र नौकरशाही जडतालाई विधिको हम्मरले फुटाउने र न्यायपूर्ण शासनविधि बसाल्ने अवसर छ । यो अपूर्व अवसर हो, यसका बालेन सरकारसँग राजनीतिक वैधता, संसदीय शक्ति, र जनादेश छ ।
हेर्नु यत्ति छ, विपक्षीको कटाक्ष, उग्रविरोध, अवरोधलाई पन्छाउँदै प्राप्त यो अवसरलाई रास्वपा र बालेन सरकारले के कसरी सदुपयोग गर्ने हो ? जनादेशको सम्मान गर्ने हो ?

sapta chakra spa
below next and prev inner page
below international hompage
below entertainmnet insurance
napali patro below sports