प्रेस चौतारीद्धारा आफ्ना अध्यक्ष बस्नेतलाई पक्राउ गर्ने प्रयासको बिरोध
वि.सं.२०८१ भदौ २७ बिहीवार १९:१२
shares

काठमाडौं । प्रेस चौतारी नेपालले संगठनका केन्द्रीय अध्यक्ष गणेश बस्नेतलाई प्रहरीले पक्राउ गर्न खोजेको घटनाप्रति गम्भीर आपत्ति जनाएको छ ।
आज दिउँसो करिब ४ बजे काठमाडौंको बागबजारस्थित होटल हार्दिकमा संगठनको एक कार्यक्रम चलिरहेको बेला नेपाल प्रहरीको केन्द्रीय साइबर ब्यूरोका अधिकारी भनिएका सादा पोशाकका प्रहरीहरूले अध्यक्ष बस्नेतलाई पक्राउ गर्न खोजेका थिए । तर, उपस्थित पत्रकारहरूको सामूहिक प्रतिवादपछि प्रहरी टोली फर्किएको थियो । समाचारमा चित्त नबुझे प्रेस काउन्सिल नेपालमा उजुरी दिने कानुनी व्यवस्था रहेको तर्फ पनि चौतारीले ध्यानाकर्षण गराएको छ । चौतारीले घटनाको निन्दा र भर्त्सना गर्दै छानबिन गर्न माग गरेको छ ।
‘समाचारमा चित्त नबुझे प्रेस काउन्सिल नेपालमा उजुरी दिने कानुनी व्यवस्था रहेको छ । यसो हुँदाहुँदै पनि जनता टाइम्स डटकममा समाचार लेखेकै कारण अपराधी जसरी सुनियोजित रुपमा पक्राउ गर्न खोजिनु स्वतन्त्र प्रेस र देशको कानुनकोसमेत ठाडो उल्लंघन रहेको प्रेस चौतारी नेपालको ठहर छ ।’ प्रेस चौतारी नेपालका महासचिव हिरामान लामाले एक विज्ञप्ति जारी गर्दै भन्नुभएको छ, ‘यस घटनाको निन्दा र भर्त्सना गर्दै घटनाको छानबिन गर्न मागसहित आगामी दिनमा यस्ता हर्कत नदोहोऱ्याउन हामी चेतावनी दिन चाहन्छौँ । अन्यथा, त्यसबाट उत्पन्न हुने परिस्थितिको स्वयम् सम्बन्धित निकायले लिनुपर्नेतर्फ बेलैमा सचेत गराउन पनि चाहन्छौँ ।’




































