अध्यादेश आर्थिक सुधारको लागि : नेपाली कांग्रेस
वि.सं.२०८१ माघ १८ शुक्रवार १२:१४
shares

काठमाडो । नेपाली कांग्रेसले आर्थिक क्षेत्रलाई चलायमान बनाउनका लागि अध्यादेश ल्याउनु परेको बताएको छ । कांग्रेसको पदाधिकारी, पूर्व पदाधिकारी र पार्टी संसदीय दलको केही दिन अघि सिंहदरबारमा बसेको बैठकले त्यस्तो बताएको हो । कांग्रेसले आर्थिक क्षेत्रसँगको सल्लाहमै सरकारले अध्यादेश ल्याएकोले त्यसको विरोध गर्न नहुने बताएको छ ।
सत्ता गठबन्धनको प्रमुख घटक नेपाली कांग्रेसका केही नेताहरुले सरकारले अध्यादेश ल्याएको भन्दै त्यसको विरोध गरिरहेका बेला कांग्रेसले संस्थागत रुपमै अध्यादेशको विरोधमा नबोल्न आफ्ना सांसद र नेताहरुलाई निर्देशन समेत दिएको छ ।
संसदीय दलको बैठकमा गृहमन्त्री समेत रहेका रमेश लेखकले सरकारका काम कारबाहीसँगै विधेयक र अध्यादेशका बारेमा जानकारी गराएका थिए । कांग्रेसका संसदीय दलका प्रमुख सचेतक श्याम घिमिरेका अनुसार गृहमनत्री लेखकले अध्यादेशमा भएका विषय संशोधन गर्नु परेमा संसदमा अध्यादेश टेबल गर्ने बेलामा प्रतिस्थापना विधेयक ल्याएर परिमार्जन गर्न सकिने बताएको जानकारी दिएका छन् ।
प्रमुख सचेतक घिमिरेका अनुसार आर्थिक सुधारका काम गर्नुपर्ने भएकाले केही विधेयकलाई संशोधन गर्नुपर्ने भयो त्यसैले अध्यादेश ल्याउनु परेको गृहमन्त्री लेखकले प्रष्ट पारेको भन्दै अध्यादेशका सम्बन्धमा नेपाली कांग्रेसको धारणा प्रष्ट छ, अध्यादेश आर्थिक सुधारका लागि ल्याइएको हो ।
नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाको सभापतित्वमा बसेको बैठकमा सभापति देउवाले संसदको अधिवेशनमा पार्टीभित्र साझा धारणा बनाएर एकमतका साथ प्रस्तुत हुनुपर्ने बताएको र सभापतिले केही कुरा भए वा समस्या भएमा बैठकमै राखेर निर्णय गरौँ भन्दै कांग्रेस एक भएर संसदमा प्रस्तुत होऔँ भन्दै बाहिर बोल्नु भन्दा पनि बैठकमै सबै कुरा राखौँ र साझा दृष्टिकोण बनाएर संसदमा प्रस्तुत हुन सांसदहरुलाई सभापति देउवाले निर्देशन दिएको प्रमुख सचेतक घिमिरले बताएका छन् ।






































