kumari
stcnepal

नेपाल इतिहासकै डरलाग्दो खतरनाक मोडमा

 

राजन कार्की
भारतका प्रधानमन्त्री नरेन्द्र मोदीले भारतीय संसदमै नेपालको राजनीतिका विषयमा चिन्ता प्रकट गरेका छन् । भारतका नेपाल नीतिकार मानिएकाहरु अब राजशाही कि कम्युनिष्टशाही भनेर प्रश्न उठाइरहेका छन् भने नेपालको प्रजातान्त्रिक पार्टी नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले एक सभामा बिना प्रसङ्ग आफूलाई हिन्दुवादीका रुपमा उभ्याए भने अर्का नेता शशांक कोइरालाले आफू हिन्दुवादका पक्षमा भएको पुनः खुलासा गरेका छन् । देउवाका प्रतिस्पर्धी मानिएका डा.शेखर कोइरालाले पनि आफू हिन्दुवादी भएको भनेका छन् ।
अब कांग्रेसको टेकोमा उभिएका एमाले केपी ओलीको अडान १७ वर्षे भ्रष्टाचारबाट ओभानो बन्नका लागि सबै फोहर बिनाकारण राजाको टाउकोमा थोपेर राजालाई कारवाही र हिन्दुवाद हो कि सबै अटाउने व्यवस्थाको पक्षमा हुने हो ? चुच्चे नक्सा संसदबाट पास गराएर राष्ट्रवादी पल्टेका ओलीले चीनपक्षीय बनेर भारतलाई चिढाएरै अघि बढ्ने रणनीति लिने हुन् ? अब एमालेले कित्ता क्लियर गर्ने बेला आउँदैछ ।
संघीय गणतान्त्रिक लोकतन्त्रबाट राष्ट्र प्रताडित भयो । राष्ट्र र राष्ट्रियता भनेको नेपाली जनता हुन्, जनता कतै पनि वर्तमान नेतृत्वपंक्तिबाट खुश छैन । प्रत्येक नेताप्रति जनताको घृणा छ । घृणा बोकेर सत्ता र शक्तिको धङ्धङेमा उत्ताउलो बनेका माओवादी, एमाले र कांग्रेसले अरु विचार, पार्टी, नेतालाई किनारा लगाएर अघि बढ्नसक्ने स्थितिको अन्त्य हुँदैछ । चुपचाप पूजापाठ गरेर बसेका राजालाई जनताको आक्रोशको विषयान्तर गरेर दोषी देखाउने दुस्प्रयासबारे हरेक नागरिक, कानुनविदले आलोचना गरिरहेका छन् । सबैको भनाई एउटै छ– राज्यले अति ग¥यो, षडयन्त्र ग¥यो, निरंकूश बन्यो । जसको प्रतिफल दुई होनहार युवाको ज्यान जान पुग्यो । यसको जिम्मेवार राज्यको सुरक्षाव्यवस्थाको असफलता हो ।
तर अन्य विचारलाई भित्तै पु¥याएर आफ्नो अहंकार स्थापित गर्न खोज्ने यी ठूला दल र परिवर्तनकारी नेता भनाउँदाहरुले रुख चढेर फेद काट्दैछन् । जसको नतिजा हो देश इतिहासकै खतरनाक मोडमा पुग्नु । यसको मूल्य देश र जनताले चुकाउनु पर्ला, तर यो नेतृत्व पंक्ति पनि अछुतो रहनेछैन ।
किनकि अहिले स्थिति शान्त देखिन्छ । यो आँधी आउनु अघिको सन्नाटा हो ।
परिवर्तनपछि १५ सरकार बने । सरकार चलाउने यिनै हुन् । भ्रष्टाचार गरेर कुशासन गर्ने पनि यिनै हुन् । राजनीतिमा अपराधिकरण गरेर देशलाई दण्डहीन बनाउने पनि यिनै हुन् । यिनले छुट पाउलान् भनेर सोच्नु गलत हुनेछ । राजा र जनताले कहिले पनि यी नेता र पार्टीहरुलाई बाधा पु¥याएनन् । यिनको अकर्मण्यताप्रति जनाक्रोश सडकमा देखिनु र जनताले राजा आउ देश बचाउ भनेर नारा लगाएको यिनलाई अपच भयो, यहीकारण राजाको लोकप्रियता नष्ट गरेर जनतालाई तर्साएरै बशमा पार्ने र अरु केही समय सत्ता र शक्तिको रसास्वादन गर्ने यी नेताहरुको साजिस हो । जसलाई जनताले राम्रैसँग बुझेका छन् ।
राजाप्रति विषबमन गरेपछि नता आफूतिर समर्थनमा आउनेछन् भन्ने आत्मरतियुक्त रणनीतिक अभिष्ट छ यी दल, सत्ता र प्रमुख प्रतिपक्षीको । आक्रोसित जनतालाई राज्यशक्तिको दुरुपयोग गरेर आतंकित पार्नसक्छन्, काम गरेर जनताको मन जित्ने आँट, हैसियत र ताकत देखाउन सकेनन् । कुनै पनि नेता अथवा पार्टीले नैतिक धरातल बिर्सनचाहिं नहुने हो । देशलाई असफल पार्ने हदसम्मको हठवादी बन्नु हुँदैनथ्यो । राजनीति छाडा बन्दै गएको छ । छाडातन्त्रमा बिधि फेल भएपछि बाहुबलीले शासन गर्ने हो । सहमति र सहकार्य गरेर राष्ट्रिय मुद्दाहरुलाई किनारा लगाउने र विकासमा ध्यान नसक्नु नेतृत्वको कायरता हो ।
यसकारण त देश जंगल बन्दै गएको छ र सत्ताधारी र प्रमुख प्रतिपक्षीको हुंकार र डकारले त्रासदी र दुर्गन्ध एकसाथ फैलाइरहेकै छन् । यही सब देखेर नेकपा–माओवादीका नेता बैद्य, रोहित र पूर्वपञ्च लोकेन्द्र बहादुर चन्दले संवादको महत्व सुझाएका छन् । लोकतन्त्रका महारथीहरु किन बिध्वंश निम्त्याइरहेका छन् ? आश्चर्य लाग्छ ।
’झिक गाँड भन्दा थप गाँड’ भनेझैं देशमा संकट गहिरिंदै गएको छ, संकटमोचक देखिएका छैनन् । संकटमोचक बन्नका लागि राष्ट्र बुझ्न र त्याग गर्नसक्ने हुनुपर्छ । स्वार्थअनुकूलको मीठोमात्र खोज्नेहरुमा निर्णय क्षमता देखिएन । नाफामात्र खोज्नेलाई राजनीतिज्ञ होइन, फौबञ्जार भनिन्छ । यस्तो नेतृत्वले कसरी चमत्कार गर्नसक्छ ? कसरी नयाँ नेपाल निर्माण गर्थे यिनले ? ०६३ सालदेखि ०८१ सालसम्म नेपालको भविष्यको रेखाचित्र ‘खाका’सम्म बनाउन नसक्ने नामर्दहरुकै कारण सौभाग्य बन्नुपर्ने यिनको व्यक्तित्व दुर्भाग्यमा बदलिन पुगेको छ । हुँदा हुँदा जनतालाई उत्तेजित पारेको झोक निर्मल निवासमा बसेका राजामाथि थोपर्न थालेका छन् ।
मूलरुपमा एमाओवादीको माओवाद, कांग्रेसको समाजबाद, एमालेको बहुदलीय जनवाद र मधेसी मोर्चाको मधेसवादको आवरणभित्र नेपाली राजनीति सत्ता, शक्ति र राजस्वको दोहनमा फनफनी घुमिरहेको छ । भागशान्ति जयनेपाल यिनको मूल नीति बनेको छ । सबै बादीहरुले गरिबका कुरा, मुक्तिका कुरा, समानताका कुरा, देशभक्तिका कुरा, प्रगतिका कुरा बगारेको सुनिन्छ । चारैबादका सारथीहरु सिंहदरवारको सत्ता सुखभोग प्राप्त गर्न लालायित देखिन्छन् । स्वाधीनता, स्वावलम्बन, स्वराज्य, देशभक्ति भनेर महजस्तो भाषण गर्नेहरु बेला बेलामा ‘जोगी बन्न राजनीति गरेको हो र ?’ भन्ने शैलीमा सत्तालिप्साको चरम अवसरवादको मनोबृत्ति देखाउँछन् । त्यसैले प्रश्न उठ्छ– देशको प्रतिनिधिपात्र, चरम गरिबी, शोषण, अन्याय, अत्याचार, बिभेदमा पिल्सिएका आम जनताको वास्तविक नेतृत्व कुन हो ? अर्जुनदृष्टि सत्तातिरमात्र लगाउनेले देश र जनतालाई देख्न र तिनको आकांक्षा र आवश्यकतालाई संवोधन गर्न कसरी सक्छ र ? जब लोकलाई देख्दैन भने यस्तो प्रवृत्तिलाई लोकतन्त्र कसरी मान्ने, कुन गुणात्मकताले लोकतान्त्रिकरण साबित गर्ने ? लोकतन्त्रमा लोक र लोकादेशले प्राथमिकता पाउनुपर्नेमा सत्ता राजनीतिको केन्द्रविन्दु बन्न पुगेपछि लोक आक्रोसित भएर सडकमा निस्किएका हुन्, विद्रोह बोलेका हुन् । सत्य यही हो ।
देश, जनता र पद्धतिका संरक्षक चरम अवसरवादी ? लोकतन्त्र नेतातन्त्र, अवसरवादतन्त्र, भ्रष्टाचारतन्त्र, अपराधतन्त्र बन्नु देशको दुर्भाग्य हो ।
महेन्द्रको शासनकालमा भारतले नेपालमाथि डरलाग्दो हस्तक्षेप गरेर सैनिक मार्च गर्नसक्ने अवस्था देखिएपछि चाउएनलाईले भनेका थिए– नेपालसँग रगतको सम्बन्ध छ, यदि कुनै विदेशीले नेपालमाथि हमला गर्छ भने त्यो चीनमाथि गरेको हमला सम्झिइने छ । चीन सधैं सर्वाभौमसत्ता सम्पन्न नेपालको पक्षमा उभिने छ । ठीक त्यही शैलीमा तर कूटनीतिक भाषामा राष्ट्रपति सी चिनफिङले ६ वर्ष अघि नेपाल आएर नेपाललाई आइपर्ने कुनै पनि विदेशी खतराको मुकाविला गर्ने ढाल बनेर गएका छन् । सीले नै नेपाललाई भूपरिबेष्ठित भएर बस्नु पर्दैन, भूजडित देश बनाउन हामी मद्दत गर्छौं भनेर सहयोग गरेका थिए । त्यसपछि नेपालमा कम्युनिष्टको शासन सत्ता बनिरह्यो र तिनले समदूरीको नीति स्थापित गर्नै सकेनन् जसले पश्चिमा र दक्षिणलाई सधैं सशंकित पारिरह्यो ।
अहिले नेपाल र भारतवीच जुन तिक्तता छ, कम्युनिष्टको उत्तर ढल्कने प्रवृत्तिले हो ।
नेपाल विश्वकै रणनीतिक भूमि बनेको छ । अमेरिका यहीं छ, भारत र चीनको नजर नेपालमा हुने नै भयो । रुस पनि चूप लागेर बसेको छैन । विश्लेषकहरु भन्छन्– विश्वको राडारमा नेपाल परिसकेको छ । असंलग्नता र समदूरीको नीतिमा अब्बल सावित हुन नेपालको नेतृत्व बिफल हुँदै आएका छन् । विश्वले नेपाली नेतृत्व अवसरवादी भएको, जता मल्को उतै ढल्को हुनसक्ने खालको भएको बुझेका छन् । नेपाल दण्डहीन र भ्रष्टाचारको राजनीति चलिरहेको पनि तिनलाई थाहा छ । कुनै पनि बेला नेपालको मुद्दा राष्ट्रसंघ र अन्तर्राष्ट्रिय न्यायालयमा पुग्नसक्ने खतरा पनि छ । त्यसै पनि नेपालको अर्थतन्त्र ग्रेलिष्टमा परिसकेको छ ।
यहीसबै कारणले गर्दा चीन चीलको आँखाले हेरिरहेको छ, भारतका प्रम नरेन्द्र मोदीले नेपाल असफल राष्ट्र हुनलाग्यो भनेर भारतको संसदमै कुरा उठाएका छन् । नेपालमा अराजकता, अस्थिरता र भ्रष्टाचार बढ्दो रहेको छ । कुनै नेतालाई चिन्ता र चासो छ भने स्वार्थको मात्र छ ।
यसकारण नेपाल इतिहासकै डरलाग्दो खतरनाक मोडमा उभिन पुगेको देखिन्छ । सबैको चेत खुलोस् ।

footer