विश्वका कम्युनिष्ट र नेपालका कमाउनिष्टहरु
वि.सं.२०८२ वैशाख २५ बिहीवार १०:३३
shares

राजन कार्की
विश्वका कम्युनिष्ट र नेपालका कमाउनिष्टहरु यतिबेला चर्चामा छन् । आफ्नै देशका वीरहरु, राष्ट्रनिर्माताहरुलाई अपमानित गरेर विश्व कम्युनिष्टका आदरणीय माओ, माक्र्स, लेनिनका फोटोबाट उर्जा हासिल गर्छौं भन्नेहरु पुँजीवादी कम्युनिष्ट तमासा देखाइरहेका छन् । यथार्थमा नेपालमा कम्युनिष्ट नै छैनन् भन्ने विश्लेषण पनि भइरहेको छ । तथापि भुइँमान्छे र सर्वहाराको चर्का नारा लगाएर भ्रमित पार्ने र सत्तामा राजकाज चलाइरहने नेपाली कम्युनिष्ट मुखण्डोधारीहरु आफ्नो लक्ष्यमा सफल छन् ।
गोर्कीले कम्युनिजममा आमाको महत्व लेखे । नेपाली कम्युनिष्टहरुले आमालाई बेचिरहेका छन्, अपमानित गरिरहेका छन् । यसकारण,
प्रश्न यत्ति छ, यो नक्कली चटके तमासा कहिलेसम्म चल्ला ?
कवाडी पसलमा काम गर्न पुगेका मेक्सिम गोर्कीले पढ्न पाएनन् । कवाडीमा बिक्री भएर आएका पुस्तक पढ्थे र ग्राहकसँग पुस्तकका विषयमा सोध्थे । तिनै मेक्सिम गोर्कीले आमा पुस्तक लेखे । जुन पुस्तक १९०६ मा प्रकाशित भएको थियो, आज १ सय १५ वर्षपछि पनि त्यो पुस्तकको गरिमा र महिमा कम भएको छैन । कम्युनिष्टहरु गोर्कीलाई आदर्श मान्छन् । नेपाली कम्युनिष्टहरु सत्ता, शक्ति र सम्पत्तिलाई महत्व दिएर झिङ्गा बनिरहेका छन् । लोकतन्त्र कम्युनिष्टको चङ्खपन र समाजवाद भन्नेहरुको त्यही चङ्खपनमा लठ्ठिदा नासवान बन्दैछ ।
भुइँमान्छे, सर्वहाराको न्यायका लागि, राष्ट्राधिकारकालागि जनयुद्ध धर्मयुद्ध भनियो । १७ हजारको बली चढाइयो । बरदान लिए प्रचण्ड ग्याङ्ले । प्रचण्ड तेजवान सूर्यजस्ता थिए, १७ वर्ष राजनीतिको किङपिन बने, १२ वर्ष सत्तामा साझेदार भएर निस्तेज बन्न पुगेका छन् । फेरि जनताको साथ चाहियो भन्दै देशभरिका जनतासामु जाने निर्णयमा पुगेका छन् । लाभ एमाले र कांग्रेसले लिए । देशले मूल्य चुकायो । जनता दुःखित हुनपुगे ।
एमाले नाममात्रको कम्युनिष्ट, गोलीजस्ता ओली, राष्ट्रवादमा टेकेर यसरी अग्लिए कि चुनाव जितेर सत्तामा के पुगेका थिए, ख्याति तुहिएर भुइँमै खुरमुरिए । सत्तामा बाँचेको एमाले जनताको घृणामा मरिरहेको छ । लोकतन्त्रको गद्दीमा बसेर सनकमा शासन चलाएको शासन कति दिन चल्ला ?
लोकतन्त्रको यस्तो मृत्युमा कांग्रेस मलामी गइरहेको छ । सवाल नयाँ नेपाल बनाउँछु भन्ने कम्युनिष्टको छ, जसले देश र जनतालाई धोका दिए । जनयुद्ध र जनआन्दोलन छलकारा थियो, प्रचण्ड, ओलीहरु त हलकारामात्र रहेछन् । जतिसुकै सर्वहाराको भाषण गरे पनि, बोल्सेविक क्रान्तिको डिङ हाँके पनि २०६३, २०६५ को जनआन्दोलन र गणतन्त्र घोषणा धर्मयुद्ध थिएन । १९०३ को कोतपर्व र यो परिवर्तनमा कुनै भिन्नता थिएन । यी आफै श्री ६ बने, मनपर्दी शासन चलाए । २०६३ को परिवर्तन र २०६५ को गणतन्त्र पनि देश र जनताका लागि होइन रहेछ भन्ने प्रमाणित भइसक्यो ।
समाज बदल्ने धर्मयुद्ध लड्न अर्कै आँट, अर्कै हौसला, माटोप्रतिको मायाँ र देशप्रतिको गौरव चाहिन्छ । ठूलै छाती, ठूलै त्याग, बलिदान हुने जोश र तातो मुटु चाहिन्छ । आजका हाम्रा नेताहरुमा स्वार्थमात्र छ । स्वार्थीहरु कायर हुन्छन्, कायरहरु पल पल मर्छन् र मरेपछि कलंक बन्छन् । जनयुद्ध र जनआन्दोलनको आगोमा खारिएर निस्केका नेताहरु त देशका, जनताका गहना हुनुपर्ने हो, फलामको सुइरो बनेर घोचिरहेका छन् । जसले हरेक क्षण देश र जनताको घाँटी रेटिरहेको छ ।
धर्म राजनीतिमा पनि हुन्छ । प्रतिबद्धता र सिद्धान्त हुन्छ, सिद्धान्तप्रति निष्ठा हुन्छ । हाम्रा नेता त राजनीतिलाई व्यापार बनाएर पार्टीको हाटबजारको पसल बनाइरहेका छन् । यसैले त राजनीतिमा लाग्नेहरु दिनदिनै धनी भइरहेका छन्, सर्वहारा र गरीवहरु झन झन पीडावोध गरिरहेका छन् ।
इतिहासका अनुसार राष्ट्रिय स्वाभिमानका लागि केजर बिलियम्सको जस्तो धर्मयुद्ध लड्ने ताकत चटके र उखानेहरुमा हुन्न, नेपाली राजनीति यही महारोगबाट ग्रस्त छ । कूशासनको पहिलो कारण निष्ठा र नैतिकहीनता हो । इमान नभएकाले भ्रष्टाचार बढेर गएको छ । भ्रष्टाचार भनेको मृत्यु हो, समृद्ध नेपाल र सुखी नेपालीको रामनाम जपेर मृत्युबाट पार पाउन सकिन्न । ओखती इमान हो, इमानको खोज भएन । परिवर्तनकारी नेतृत्व हरेक दिन राजनीतिक मृत्यु मरिरहेको छ । वर्तमान नेपाल लोकतन्त्र नामको मृत्यु मरिरहेको छ ।
मनमोहन अधिकारी असल कम्युनिष्टको कुरा गर्थे, वीपी कोइराला ठूलो होइन असल हुनु भन्थे । आज मनमोहन अधिकारी र वीपी कोइराला दुवै हारिरहेका छन् । तिनको सराद्ध खानेहरु फूपुको धन सरह देशमा लखनौं लूट मच्चाइरहेका छन् ।
राजनीतिकै कारण चोरलाई चौतारो, साधुलाई सुली भइरहेछ । लोकतन्त्रमा देखिएको दृश्य, भोगिएको भोगाइ हो । कानुन छ काम गर्दैन्, संविधान छ समाधान छैन । शासन छ शास्ती छ, प्रशासन छ अनियमितताको दलदलमा फसेको छ । राजनीति छ व्यापार गरिरहेछ । नीति छ नैतिकता छैन । नेपाली हुँ भन्ने गौरव कुनै नेतामा देखिन्न । लोकतन्त्रमा नेतातन्त्र चलिरहेको छ । लोकतन्त्र लूटतन्त्र बनिरहेछ ।
जनजीवनमा लोकतन्त्र छैन । लोकमा लोकतन्त्र जिन्दावाद छैन । लोक नदेखिने लोकतन्त्र लखनौंको भुलभुलैयाजस्तो बनेको छ । भुलभुलैया भ्रममात्र हो ।
देश दुःखेको, जनता बेसहारा भएको, अभिभावकहीनताप्रति चिन्ता छ । चिन्ता गर्नेहरु सडकमा छन् । बिद्रोह भइरहेको छ । लुटेराहरु बिद्रोहीमाथि राज्यशक्तिले दमन गरिरहेको छ ।
राष्ट्रनिर्माताका सन्तान भन्छन्– ‘सिंगो नेपाल राष्ट्रका निर्माणकर्ता बडामहाराजाधिराज पृथ्वीनारायण शाहको वंशवृक्ष, प्रजातन्त्रदाता श्री ५ त्रिभुवनको पौत्र र नेपाली राष्ट्रवादका पृष्ठपोषक राजा महेन्द्रको मध्यम पुत्र एवं विकास चिन्तक राजा वीरेन्द्रका भ्राताका रुपमा हाम्रो मातृभूमि नेपालमा म पैदा भएँ । सदा शान्त, सौम्य, सुन्दर यो गौरवशाली स्वाधीन नेपाल राष्ट्रमा जन्मन पाएको, यहाँकै माटोमा हुर्कन पाएको र यहीँको धर्तीको सेवामा जुट्न रम्न पाएकोमा म आफूलाई भाग्यशाली ठान्दछु । म नेपालको भक्त हुँ । देशभक्ति मेरो रक्त कण कणमा प्रवाहित छ । …भूकम्प…बाढी पैह्रोको प्रकोपले धेरै जनधनको क्षति भएकोमा मलाई दुःखी तुल्याएको छ ।’
देशको चिन्ता गर्ने राजालाई जेल हाल्नुपर्छ भन्ने कुरा गर्छन् केही लुटेर । देश लथालिङ्ग हुँदै गएको र जनता बिल्लिबाठमा परेको बेलामा केहीग र्न नसक्ने, प्रतिषोधको बोली बोल्दा अस्थिरता झन बढेर जाँदो छ ।
सडकमा उत्रिएका जनता, नासो फिर्ता लिनुपर्छ भनेर चिच्याइरहेका छन् । नासो भनेको राजनीतिक दलहरुलाई मौजा बाँडेको बिषय होइन । नासो भनेको केही समयको लागि दिइएको हो । जनताले चाहेका बेलासम्मका लागि संरक्षण गर भनेर दिएको अधिकार हो । त्यो नासो अव फिर्ता लिने बेला भयो । जनताको माग यही हो । जनआवाज यही हो ।
जनताको काँधमा ७ सय ६१ सरकार चलाउने र तिनका कार्यकर्ता पाल्नुपर्ने जिम्मेवारी छ । राष्ट्रको जिम्मेवारी बोकेका राजनीतिक बर्गहरु कर्तव्यच्यूत भइरहेका छन् । राष्ट्रको भण्डारे बनेका राजनीति र प्रशासनका नाइकेहरु सेटिङ गर्दै राष्ट्रिय ढुकुटी लुटिरहेका छन् । जनताप्रतिको सामान्य कर्तव्यसमेत यिनले पालना गरिरहेका छैनन् । जनताको आक्राश व्यवस्था बदलिने, अवस्था नबदलिने किन ? भन्ने हो । यसको जवाफ नेतृत्व दिनसक्दैन ।
यसकारण परिवर्तनपछिको नेपाल झन बिकराल समस्याले जेलिन थालेको छ । अस्तित्वको संकटमा फस्न पुगेको छ । यो सबको कारक यिनै परिवर्तनकारी नेताहरुको स्वार्थन्धता हो । यसकारण पनि यिनलाई नासोमा दिएको राज्यशक्ति श्रीपेच अव फिर्ता माँग्ने बेला भयो ।
राजाले सरक्क पन्छिएर जनतामा अनुवाद भए, कुनै आनाकानी अप्ठेरो पारेनन् । जो जनता र देशका लागि परिवर्तन लिएर आए, उनीहरु परिवर्तित हुनसकेनन् । देश र जनताका, लोकतन्त्रका दुश्मन बने । राजा दरवारबाट जंगल पसेपछि लोकतन्त्रलाई जंगलराज बनाउने काम नेताहरुले गरे । मान्छेले जब विवेक हराउँछ, उसले जे पनि गर्छ । राजनीति र प्रशासनले विवेक हराएपछि कूशासनमात्र हुन्छ, मत्स्य न्याय छ देशमा । मुलुकी बन्दोबस्त बिग्रेको छ । बिगार्ने नेताहरु अझै लोकतन्त्रको डम्फु बजाएर नङ्गा नाचिरहेका छन् । नङ्गा नाच लोकतन्त्र हो र ?
विश्वका कम्युनिष्ट र नेपालका कमाउनिष्टहरु दुबै मास्न जनता जाग्न थालेका छन् । यही संचेतनाले नेपालको अस्तित्व रक्षा हुनसक्छ ।
































