बुख्याँचा, लाखे, पुतलाको नाच
वि.सं.२०८२ जेठ १ बिहीवार १०:४२
shares

राजन कार्की
बहुदल अथवा लोकतन्त्र, संघीय लोकतान्त्रिक गणतन्त्र– इन्द्रजात्राको अवसरमा बसन्तपुरमा देखिने लाखेनाचभन्दा भिन्न रहेन । १७ वर्षदेखि नेपालमा लाखेनाच भइरहेको छ, नेपाली जनताले हेरिरहेका छन्, विश्वले देखिरहेका छन् ।
बहुदल अथवा लोकतन्त्र, संघीय लोकतान्त्रिक गणतन्त्र– किसानले चरा वा वन्यजन्तुबाट बाली बचाउन खेतबारीमा मान्छेजस्तै उभ्याएको बुख्याँचाभन्दा भिन्न छैन । देख्नलाई मान्छे हो, बुख्याँचामा झैं विवेक छैन । बुख्याँचा झैं अर्काले चलाए चल्छ, नत्र चल्दैन ।
बहुदल अथवा लोकतन्त्र, संघीय लोकतान्त्रिक गणतन्त्र– पुतलीजस्तो छ । अर्काले नचाए नाच्छ, नत्र नाच्दैन ।
झट्ट हेर्दा संविधान छ, संसद छ, जनप्रतिनिधि छन्, राष्ट्रपति छन्, मन्त्री प्रधानमन्त्री पनि छन्, संवैधानिक निकायहरु छन् । तर विधिमा केही पनि छैन । जब बिधि हुँदैन, त्यहाँ मनलागीतन्त्र हुन्छ । बाहुबली, शक्तिको तन्त्र छ, नेतातन्त्र । नेतातन्त्र भनेको बुख्याँचा, लाखे, पुतलाको नाच न हो ।
सत्तामा बुख्याँचा छन्, शक्तिमा पुतला छन्, शासनमा लाखे छन् । राष्ट्र र जनता अस्तित्वको संकटमा फस्न पुगेका छन् ।
बल्ल जनता जाग्न थालेका छन् । जनताको जागरण बिद्रोह भयो भने ? नेपाली राजनीतिका सामु यक्ष प्रश्न हो यो ।
जनविद्रोह कतिसम्मको क्रुर हुन्छ भन्ने इतिहास हो– ३ सेप्टेम्बर १६५८ मा मरेका बेलायती गणतन्त्रवादी शासक ओलिभर क्रमवेलको चिहान खनेर उसको टाउको लण्डनको वीचबजारमा झुण्ड्याइएको घटना । निरङ्कूशताको प्रमाणका रूपमा मरेको बाघको जुँगा उखेलेको त्यो घटना तत्कालीन परिवर्तनकारी सभ्यताको सुरूआत मानियो । त्यही बेलायतमा शान्ति र समुन्नतिका लागि राजतन्त्र नै मूलमन्त्र मानियो र राजतन्त्रको अभिभावकत्वमा बर्तमान बेलायत छ ।
नेपालमा २०६३ सालको आन्दोलनले निरङ्कूशता फाल्ने माग ग¥यो । राजाको अधिकार कटौति गरियो र संविधानसभाले २०६५ साल जेठ १५ गते गणतन्त्र कार्यान्वयन ग¥यो । गणतन्त्र कायान्वयन विधिसम्मत थिएन भन्ने मत बलियो छ तर कार्यान्वयन भएरै छाड्यो र २०७२ सालमा संविधानमै संघीय गणतन्त्र नेपाल र धर्मनिरपेक्षता लेखियो । भयो के त ? परिणाम बुख्याँचा, लाखे, पुतलाको नाचभन्दा बढी केही भएन ।
परिवर्तन विदेशी इसारा र पुतला, बुख्याँचा नेतादेशबाट सम्भव भएको थियो । नेपालमा हिन्दुवाद र राजतन्त्रलाई राजनीतिक मातको किलामा ज्यूँदै झुण्ड्याएर धर्मनिरपेक्षता र गणतन्त्र ल्याइयो । हिन्दुवाद र राजतन्त्र संवैधानिक रूपमा शव मात्र हो । तर जनमानसमा बाँचेकै छ । जबसम्म नेपाल रहनेछ, राजाले निर्माण गरेको देश हुनाले राजाको अस्तित्व, राजतन्त्रवाद मर्नेछैन । नेपाल विश्वकै एकमात्र हिन्दुराष्ट्र थियो, यो मान्यता हिन्दुराष्ट्र पुनस्र्थापना भए वा नभए पनि रहिरहनेछ ।
बुख्याँचा, लाखे, पुतलाको नाचका कारणले गर्दा राष्ट्रिय मुद्दाहरुको छिनोफानो हुनसकेन । देशले विधिको मार्ग लिएन । भ्रष्टाचार गणतन्त्रको नियति बन्यो ।
संविधान जारी भयो, दुईपल्ट आवधिक निर्वाचन भइसक्यो । सवैधानिक शासन छ भनेर जनता मान्न तैयार छैन । विश्व रेकर्डमा पनि नेपाल दण्डहीन र भ्रष्टाचारी मुलुक भइसक्यो । नेपालको निधारमा ठगको कलंक लाग्न पुग्यो ।
यसको कारण पार्टीहरूका लागि लोभ छ, लाभ छ, सत्ता छ, स्वार्थ छ, सम्पत्ति छ, शक्ति छ, यसकारण संविधान पार्टीहरूका लागि स्वादिलो भोजन बनेको छ । हुनुपर्ने संविधान विधिको राजमार्ग, भइरहेछ, लूटको अखडा । हरेक पार्टी नेताहरू सकेजति देश र जनतालाई लुटिरहेका छन् । त्यसैले ठूला नेताहरू गणतन्त्र राम्रो भन्छन्, आमनागरिकका लागि गणतन्त्र ‘अनावश्यक कर र भार’ मात्र बनेको छ । जनताले यो पद्धतिबाट केही पनि पाइरहेका छैनन् । बोल्न छुट छ, बोलीको ओजन छैन, सुनवाई कहीं हुँदैन । पद्धतिले दिनुपर्ने सुशासन हो, सर्बत्र कूशासनमात्र छ । यसकारण यो परिवर्तित अग्रगमन पूर्वीय नेपाली संस्कृति, संस्कार र सभ्यता मास्ने गनाउने हावा बनेको छ । भ्रष्टाचार र विदेशपरस्तता यति बढेको छ कि यो पद्धति महिसासूरले चपाएजसरी चपाएर राष्ट्र सिध्याउन अगाडि बढेको छ ।
२०६५ सालमा गणतन्त्र कार्यान्वयन भएपछि पहिले गिरिजाप्रसाद कोइरालालाई गणतन्त्र नेपालको पहिलो राष्ट्रपति मान्छु भन्ने प्रचण्डले मुख मोडे, आफै राष्ट्रपति बन्न चाहेको पोष्टर वाइसीएलमार्फत त्रिपुरेश्वरको मोडमा टाङ्न लगाए । गिरिजाप्रसाद र नेपाली कांग्रेसीको त्यतिबेला अनुहार हेर्न लायक थियो । सिद्धान्तहीनताको त्यो पाप र पीपको पोखरी अझै सुकेको छैन, कम्युनिष्ट धापमा झन झन धसिदै र पुरिदैछ कांग्रेस । आफूलाई प्रजातन्त्रको बिडा उठाउने दल भन्ने कांग्रेस आज पनि कम्युनिष्टको बैशाखी टेकेर प्रजातान्त्रिक अभ्यासमा अग्रसर देखिनु बीपी कोइरालाजस्ता नेताको अपमान हो । कांग्रेसजन आफ्नो पहिचान बिस्तारै बिर्सदै गएको छ । कांग्रेसको अनुहारमा कम्युनिष्टको छाप, योभन्दा प्रजातन्त्रको कुरुपता के हुन्छ ?
२०६३ साल वैशाख ११ गते राजा र सात दलवीच कुनै प्रकारको राजतन्त्र मान्य हुने सहमति थियो, कम्युनिष्टकै कारण कांग्रेसले त्यो सहमति तोड्यो । कांग्रेसले हौसिएर आतंककारीको जुत्तामा खुट्टा हाल्नु सैद्धान्तिक बिचलन थियो, त्यो बिचलन झन् झन् बढेर जाँदो छ । सुशासनका लागि त सत्ताधारीमा चेत, त्याग र तपस्या र आममहिलामा अधिकारप्रतिको चेतना, चाहिने रहेछ भन्ने सबैले चाल पाए, थाहा पाए । चाल पाएर के गर्नु ? लोकतन्त्र छ, लोकतान्त्रिकता कुनै दलमा, शासनमा, संसदमा छैन ।
लोकतान्त्रिक राजनीतिमा सिद्धान्त, सिद्धान्तप्रति निष्ठा र उच्च नैतिकता हुनैपर्छ । लोकतन्त्र यही विशेषतामा चल्ने पद्धति हो । नेपालको लोकतान्त्रिक दैनिकी नैतिक देखिदैन । नैतिक पतन सर्वत्र देखिन्छ ।
राजनीतिमा तमासा छ । एकले अर्कोलाई एक्लाउन र खुइल्याउन कुनै कसर बाँकी राख्दैनन् । तर एकदोस्राको भ्रष्टाचार छोपछाप पार्छन् । यो स्वस्थ लोकतान्त्रिक चरित्र होइन । लोकतन्त्रलाई आश्चर्यचकित पार्ने कांग्रेस, कम्युनिष्टको चरित्र खुलस्त छ ।
केही आक्रोसित युवाले जनताको प्रतिनिधित्व गर्दै पहिले झलनाथ खनाललाई, पछि प्रचण्डलाई झापड र ओलीलाई जुत्ता हाने । नेताहरुलाई चोर भन्ने र ट्वाइलेटमा थुन्ने घटना पनि भएका छन् । जनभावनालाई नेतृत्वले कहिले बुझेनन् । हरेक पार्टीमा, नेताहरू विवेकशुन्य भएर सत्ताको सुखानुभूति भोग गरिरहेका छन् । जनताप्रति एक नेता पनि जवाफदेही छैनन् ।
सांसदलाई सडकमै गोली हानेको घटना पनि नेपालमै भएको हो । अहिले ओली, देउवा, प्रचण्डलाई भुइँमान्छेको चर्को विरोध आँधीबेहरीभन्दा कम छैन । हरेक नेता आलोचित छन् । हरेक ठूला नेता निरंकूशमात्र होइन, भ्रष्टाचारी पनि हुन् । संविधानलाई राजनीतिकरण गरेर, कानुनव्यवस्थालाई अपराधिकरण गर्ने मूल नाइके यी सबै हुन् । जवाफदेहीता र जिम्मेवारी कसैले पनि लिएका छैनन् । सबै लाभ लिने र गैरजिम्मेवार हुने प्रवृत्ति छ । बेहाल लोकतन्त्र लथालिङ्ग हुनु स्वभाविक हो । यसकारण प्रश्न उठ्यो— बुख्याँचा, लाखे, पुतलाको नाच भन्दा भिन्न छैन यो पद्धति ।
इतिहासमा अंकित छन्– ३५औं अमेरिकी राष्ट्रपति केनेडीलाई १९६३ मा गोली हानेर सिध्याइयो । बंगलादेशमा शेख मुजिवर रहमानलाई ढाकामै १९७५ मा गोली हानेर मारिएको हो । आइरन लेडी भनिने इन्दिरा गान्धीलाई सत्तामा भएकै अवस्थामा १९८४ अक्टोबर ३१ को दिन, आफ्नै सुरक्षागार्ड सतवन्त र बेअन्त सिंहले हत्या गरिदिए । अघिल्लो दिन भुवनेश्वरमा उनले भाषण गरेकी थिइन्— आज म यहाँ छु, भोलि नहुन सक्छु । नभन्दै भोलिपल्टै उनको हत्या गरियो । एउटै खालिस्तान मुभमेन्ट उनको हत्याको मूलकारण बन्यो । यसपछि पालो आयो इन्दिरा पुत्र राजीव गान्धीको । १९९१ मे २१ का दिन, तमिलनाडुमा तमिल लिवरेशन टाइगरले धनुमार्फत आरडीएक्ससहितको आत्मघाती बम बिस्फोट गराएर राजीव गान्धीको हत्या गरिएको हो । कर्ण हेजुलाई छाताको डाठले घोची घोची मारिएको घटना भक्तपुरेले बिर्सेका छैनन् । हत्याको श्रृंखलामा मिर्जा दिलसाद बेग, जमिम शाह, फैजान अहमद, ज्ञानेन्द्र खड्का, कृष्ण सेन, सार्दुल मियाँ, नारायण पोखरेल, उमा सिंह, मैना सुनार, डेकेन्द्र थापाहरू पनि छन् । पादरी ग्याफ्नी र जापानी भिक्षुको हत्या प्रकरण किन लुकाइयो ? १९९७ सालका हत्याराहरूबारे किन कोही बोल्दैनन् ? दरवार हत्याकाण्डमा वास्तविक दोषी किटान गर्न कसले रोक्यो ? लोकतन्त्र विकल्पहीन छ भन्ने नेताहरूले भन्नुपर्दैन— १९९३ मे १६ का दिन जनताको बहुदलीय जनवाद विचारका प्रवर्तक मदन भण्डारी र जीवराज आश्रितलाई दासढुंगाबाट कसले, किन खसाल्यो ?
हत्या, हिंसा, बलात्कार, कमिशन, शासनमा ब्यभिचार राष्ट्रका दैनिकी बनेका छन् ।
र, २०६४ सालमा हिन्दु धर्म र २०६५ सालमा राजतन्त्रको बलिदान किन गरियो ? कुन जनबल र जनादेशको शक्तिले बली चढाइयो ? बलिदान गरेपछि प्राप्ति के भो ?
बालमन्दिर, बालुवाटारको जग्गाकाण्ड, गिरिबन्धु, सेरा दरवार काण्ड, ३८ क्विन्टल सुन, ३३ किलो सुन र सिलसिलेवार भ्रष्टाचार ? यही हो लोकतन्त्र ?
परिवर्तनबाट समृद्धि, शान्ति र सुखानुभूतिको अपेक्षा गर्ने सोझा जनताका सामु यी परिवर्तनका नायकहरू अर्काले ठड्याइदिएका बुख्याँचा, पुतला, लाखे साबित भएका छन् ।
योभन्दा राष्ट्रिय असफलता अरू के हुनसक्छ ?
































