सरकारले अपवादका लागि पाएको सुविधालाई दुरुपयोग गर्दै जब नियमित बनाइन्छ त्यसले कति सम्म...

पुरा पढ्नुहाेस्

linktrix Long Ad
Salt Trading Long Ad

बुख्याँचा, लाखे, पुतलाको नाच

533
shares

 

राजन कार्की
बहुदल अथवा लोकतन्त्र, संघीय लोकतान्त्रिक गणतन्त्र– इन्द्रजात्राको अवसरमा बसन्तपुरमा देखिने लाखेनाचभन्दा भिन्न रहेन । १७ वर्षदेखि नेपालमा लाखेनाच भइरहेको छ, नेपाली जनताले हेरिरहेका छन्, विश्वले देखिरहेका छन् ।
बहुदल अथवा लोकतन्त्र, संघीय लोकतान्त्रिक गणतन्त्र– किसानले चरा वा वन्यजन्तुबाट बाली बचाउन खेतबारीमा मान्छेजस्तै उभ्याएको बुख्याँचाभन्दा भिन्न छैन । देख्नलाई मान्छे हो, बुख्याँचामा झैं विवेक छैन । बुख्याँचा झैं अर्काले चलाए चल्छ, नत्र चल्दैन ।
बहुदल अथवा लोकतन्त्र, संघीय लोकतान्त्रिक गणतन्त्र– पुतलीजस्तो छ । अर्काले नचाए नाच्छ, नत्र नाच्दैन ।
झट्ट हेर्दा संविधान छ, संसद छ, जनप्रतिनिधि छन्, राष्ट्रपति छन्, मन्त्री प्रधानमन्त्री पनि छन्, संवैधानिक निकायहरु छन् । तर विधिमा केही पनि छैन । जब बिधि हुँदैन, त्यहाँ मनलागीतन्त्र हुन्छ । बाहुबली, शक्तिको तन्त्र छ, नेतातन्त्र । नेतातन्त्र भनेको बुख्याँचा, लाखे, पुतलाको नाच न हो ।
सत्तामा बुख्याँचा छन्, शक्तिमा पुतला छन्, शासनमा लाखे छन् । राष्ट्र र जनता अस्तित्वको संकटमा फस्न पुगेका छन् ।
बल्ल जनता जाग्न थालेका छन् । जनताको जागरण बिद्रोह भयो भने ? नेपाली राजनीतिका सामु यक्ष प्रश्न हो यो ।
जनविद्रोह कतिसम्मको क्रुर हुन्छ भन्ने इतिहास हो– ३ सेप्टेम्बर १६५८ मा मरेका बेलायती गणतन्त्रवादी शासक ओलिभर क्रमवेलको चिहान खनेर उसको टाउको लण्डनको वीचबजारमा झुण्ड्याइएको घटना । निरङ्कूशताको प्रमाणका रूपमा मरेको बाघको जुँगा उखेलेको त्यो घटना तत्कालीन परिवर्तनकारी सभ्यताको सुरूआत मानियो । त्यही बेलायतमा शान्ति र समुन्नतिका लागि राजतन्त्र नै मूलमन्त्र मानियो र राजतन्त्रको अभिभावकत्वमा बर्तमान बेलायत छ ।
नेपालमा २०६३ सालको आन्दोलनले निरङ्कूशता फाल्ने माग ग¥यो । राजाको अधिकार कटौति गरियो र संविधानसभाले २०६५ साल जेठ १५ गते गणतन्त्र कार्यान्वयन ग¥यो । गणतन्त्र कायान्वयन विधिसम्मत थिएन भन्ने मत बलियो छ तर कार्यान्वयन भएरै छाड्यो र २०७२ सालमा संविधानमै संघीय गणतन्त्र नेपाल र धर्मनिरपेक्षता लेखियो । भयो के त ? परिणाम बुख्याँचा, लाखे, पुतलाको नाचभन्दा बढी केही भएन ।
परिवर्तन विदेशी इसारा र पुतला, बुख्याँचा नेतादेशबाट सम्भव भएको थियो । नेपालमा हिन्दुवाद र राजतन्त्रलाई राजनीतिक मातको किलामा ज्यूँदै झुण्ड्याएर धर्मनिरपेक्षता र गणतन्त्र ल्याइयो । हिन्दुवाद र राजतन्त्र संवैधानिक रूपमा शव मात्र हो । तर जनमानसमा बाँचेकै छ । जबसम्म नेपाल रहनेछ, राजाले निर्माण गरेको देश हुनाले राजाको अस्तित्व, राजतन्त्रवाद मर्नेछैन । नेपाल विश्वकै एकमात्र हिन्दुराष्ट्र थियो, यो मान्यता हिन्दुराष्ट्र पुनस्र्थापना भए वा नभए पनि रहिरहनेछ ।
बुख्याँचा, लाखे, पुतलाको नाचका कारणले गर्दा राष्ट्रिय मुद्दाहरुको छिनोफानो हुनसकेन । देशले विधिको मार्ग लिएन । भ्रष्टाचार गणतन्त्रको नियति बन्यो ।
संविधान जारी भयो, दुईपल्ट आवधिक निर्वाचन भइसक्यो । सवैधानिक शासन छ भनेर जनता मान्न तैयार छैन । विश्व रेकर्डमा पनि नेपाल दण्डहीन र भ्रष्टाचारी मुलुक भइसक्यो । नेपालको निधारमा ठगको कलंक लाग्न पुग्यो ।
यसको कारण पार्टीहरूका लागि लोभ छ, लाभ छ, सत्ता छ, स्वार्थ छ, सम्पत्ति छ, शक्ति छ, यसकारण संविधान पार्टीहरूका लागि स्वादिलो भोजन बनेको छ । हुनुपर्ने संविधान विधिको राजमार्ग, भइरहेछ, लूटको अखडा । हरेक पार्टी नेताहरू सकेजति देश र जनतालाई लुटिरहेका छन् । त्यसैले ठूला नेताहरू गणतन्त्र राम्रो भन्छन्, आमनागरिकका लागि गणतन्त्र ‘अनावश्यक कर र भार’ मात्र बनेको छ । जनताले यो पद्धतिबाट केही पनि पाइरहेका छैनन् । बोल्न छुट छ, बोलीको ओजन छैन, सुनवाई कहीं हुँदैन । पद्धतिले दिनुपर्ने सुशासन हो, सर्बत्र कूशासनमात्र छ । यसकारण यो परिवर्तित अग्रगमन पूर्वीय नेपाली संस्कृति, संस्कार र सभ्यता मास्ने गनाउने हावा बनेको छ । भ्रष्टाचार र विदेशपरस्तता यति बढेको छ कि यो पद्धति महिसासूरले चपाएजसरी चपाएर राष्ट्र सिध्याउन अगाडि बढेको छ ।
२०६५ सालमा गणतन्त्र कार्यान्वयन भएपछि पहिले गिरिजाप्रसाद कोइरालालाई गणतन्त्र नेपालको पहिलो राष्ट्रपति मान्छु भन्ने प्रचण्डले मुख मोडे, आफै राष्ट्रपति बन्न चाहेको पोष्टर वाइसीएलमार्फत त्रिपुरेश्वरको मोडमा टाङ्न लगाए । गिरिजाप्रसाद र नेपाली कांग्रेसीको त्यतिबेला अनुहार हेर्न लायक थियो । सिद्धान्तहीनताको त्यो पाप र पीपको पोखरी अझै सुकेको छैन, कम्युनिष्ट धापमा झन झन धसिदै र पुरिदैछ कांग्रेस । आफूलाई प्रजातन्त्रको बिडा उठाउने दल भन्ने कांग्रेस आज पनि कम्युनिष्टको बैशाखी टेकेर प्रजातान्त्रिक अभ्यासमा अग्रसर देखिनु बीपी कोइरालाजस्ता नेताको अपमान हो । कांग्रेसजन आफ्नो पहिचान बिस्तारै बिर्सदै गएको छ । कांग्रेसको अनुहारमा कम्युनिष्टको छाप, योभन्दा प्रजातन्त्रको कुरुपता के हुन्छ ?
२०६३ साल वैशाख ११ गते राजा र सात दलवीच कुनै प्रकारको राजतन्त्र मान्य हुने सहमति थियो, कम्युनिष्टकै कारण कांग्रेसले त्यो सहमति तोड्यो । कांग्रेसले हौसिएर आतंककारीको जुत्तामा खुट्टा हाल्नु सैद्धान्तिक बिचलन थियो, त्यो बिचलन झन् झन् बढेर जाँदो छ । सुशासनका लागि त सत्ताधारीमा चेत, त्याग र तपस्या र आममहिलामा अधिकारप्रतिको चेतना, चाहिने रहेछ भन्ने सबैले चाल पाए, थाहा पाए । चाल पाएर के गर्नु ? लोकतन्त्र छ, लोकतान्त्रिकता कुनै दलमा, शासनमा, संसदमा छैन ।
लोकतान्त्रिक राजनीतिमा सिद्धान्त, सिद्धान्तप्रति निष्ठा र उच्च नैतिकता हुनैपर्छ । लोकतन्त्र यही विशेषतामा चल्ने पद्धति हो । नेपालको लोकतान्त्रिक दैनिकी नैतिक देखिदैन । नैतिक पतन सर्वत्र देखिन्छ ।
राजनीतिमा तमासा छ । एकले अर्कोलाई एक्लाउन र खुइल्याउन कुनै कसर बाँकी राख्दैनन् । तर एकदोस्राको भ्रष्टाचार छोपछाप पार्छन् । यो स्वस्थ लोकतान्त्रिक चरित्र होइन । लोकतन्त्रलाई आश्चर्यचकित पार्ने कांग्रेस, कम्युनिष्टको चरित्र खुलस्त छ ।
केही आक्रोसित युवाले जनताको प्रतिनिधित्व गर्दै पहिले झलनाथ खनाललाई, पछि प्रचण्डलाई झापड र ओलीलाई जुत्ता हाने । नेताहरुलाई चोर भन्ने र ट्वाइलेटमा थुन्ने घटना पनि भएका छन् । जनभावनालाई नेतृत्वले कहिले बुझेनन् । हरेक पार्टीमा, नेताहरू विवेकशुन्य भएर सत्ताको सुखानुभूति भोग गरिरहेका छन् । जनताप्रति एक नेता पनि जवाफदेही छैनन् ।
सांसदलाई सडकमै गोली हानेको घटना पनि नेपालमै भएको हो । अहिले ओली, देउवा, प्रचण्डलाई भुइँमान्छेको चर्को विरोध आँधीबेहरीभन्दा कम छैन । हरेक नेता आलोचित छन् । हरेक ठूला नेता निरंकूशमात्र होइन, भ्रष्टाचारी पनि हुन् । संविधानलाई राजनीतिकरण गरेर, कानुनव्यवस्थालाई अपराधिकरण गर्ने मूल नाइके यी सबै हुन् । जवाफदेहीता र जिम्मेवारी कसैले पनि लिएका छैनन् । सबै लाभ लिने र गैरजिम्मेवार हुने प्रवृत्ति छ । बेहाल लोकतन्त्र लथालिङ्ग हुनु स्वभाविक हो । यसकारण प्रश्न उठ्यो— बुख्याँचा, लाखे, पुतलाको नाच भन्दा भिन्न छैन यो पद्धति ।
इतिहासमा अंकित छन्– ३५औं अमेरिकी राष्ट्रपति केनेडीलाई १९६३ मा गोली हानेर सिध्याइयो । बंगलादेशमा शेख मुजिवर रहमानलाई ढाकामै १९७५ मा गोली हानेर मारिएको हो । आइरन लेडी भनिने इन्दिरा गान्धीलाई सत्तामा भएकै अवस्थामा १९८४ अक्टोबर ३१ को दिन, आफ्नै सुरक्षागार्ड सतवन्त र बेअन्त सिंहले हत्या गरिदिए । अघिल्लो दिन भुवनेश्वरमा उनले भाषण गरेकी थिइन्— आज म यहाँ छु, भोलि नहुन सक्छु । नभन्दै भोलिपल्टै उनको हत्या गरियो । एउटै खालिस्तान मुभमेन्ट उनको हत्याको मूलकारण बन्यो । यसपछि पालो आयो इन्दिरा पुत्र राजीव गान्धीको । १९९१ मे २१ का दिन, तमिलनाडुमा तमिल लिवरेशन टाइगरले धनुमार्फत आरडीएक्ससहितको आत्मघाती बम बिस्फोट गराएर राजीव गान्धीको हत्या गरिएको हो । कर्ण हेजुलाई छाताको डाठले घोची घोची मारिएको घटना भक्तपुरेले बिर्सेका छैनन् । हत्याको श्रृंखलामा मिर्जा दिलसाद बेग, जमिम शाह, फैजान अहमद, ज्ञानेन्द्र खड्का, कृष्ण सेन, सार्दुल मियाँ, नारायण पोखरेल, उमा सिंह, मैना सुनार, डेकेन्द्र थापाहरू पनि छन् । पादरी ग्याफ्नी र जापानी भिक्षुको हत्या प्रकरण किन लुकाइयो ? १९९७ सालका हत्याराहरूबारे किन कोही बोल्दैनन् ? दरवार हत्याकाण्डमा वास्तविक दोषी किटान गर्न कसले रोक्यो ? लोकतन्त्र विकल्पहीन छ भन्ने नेताहरूले भन्नुपर्दैन— १९९३ मे १६ का दिन जनताको बहुदलीय जनवाद विचारका प्रवर्तक मदन भण्डारी र जीवराज आश्रितलाई दासढुंगाबाट कसले, किन खसाल्यो ?
हत्या, हिंसा, बलात्कार, कमिशन, शासनमा ब्यभिचार राष्ट्रका दैनिकी बनेका छन् ।
र, २०६४ सालमा हिन्दु धर्म र २०६५ सालमा राजतन्त्रको बलिदान किन गरियो ? कुन जनबल र जनादेशको शक्तिले बली चढाइयो ? बलिदान गरेपछि प्राप्ति के भो ?
बालमन्दिर, बालुवाटारको जग्गाकाण्ड, गिरिबन्धु, सेरा दरवार काण्ड, ३८ क्विन्टल सुन, ३३ किलो सुन र सिलसिलेवार भ्रष्टाचार ? यही हो लोकतन्त्र ?
परिवर्तनबाट समृद्धि, शान्ति र सुखानुभूतिको अपेक्षा गर्ने सोझा जनताका सामु यी परिवर्तनका नायकहरू अर्काले ठड्याइदिएका बुख्याँचा, पुतला, लाखे साबित भएका छन् ।
योभन्दा राष्ट्रिय असफलता अरू के हुनसक्छ ?

 

 

sapta chakra spa
below next and prev inner page
below international hompage
below entertainmnet insurance
napali patro below sports