पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीलाई अहिले नै पार्टी नेतृत्व हस्तान्तरण गर्ने अवस्था छैन : अध्यक्ष ओली
वि.सं.२०८२ साउन १ बिहीवार १८:०२
shares

काठमाडौँ । नेकपा एमालेका अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओलीले पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीलाई अहिले नै पार्टी नेतृत्व हस्तान्तरण गर्ने अवस्था नरहेको बताएका छन् । पत्रकार विजकुमार पाण्डेलाई दिएको अन्तरवार्तामा अध्यक्ष ओलीले यस्तो बताएका हुन् ।
‘अहिले उहाँलाई नेतृत्व हस्तान्तरण गर्न सकिने अवस्था छैन । किनभने एक त राजनीतिमा आउनु हुन्छ भनेर पार्टीले ठानेको, मानेको अवस्था छैन’, ओलीले भनेका छन्, ‘दोस्रो, पार्टी काम छाडेर धेरै वर्ष बाहिर बस्नुभएको र पहिले पनि लिडरसिपमा बसेर काम गरेको सङ्गठनात्मक अनुभव उहाँसित छैन ।’अध्यक्ष ओलीले भण्डारीलाई पार्टीमा भित्र्याउने विषयमा पार्टीमा छलफल पनि नभएको प्रस्ट पारेका छन् । ‘अरूसँग के गर्नुभयो मलाई थाहा छैन, तर मसित कुनै सरसल्लाह गर्नुभएन । पार्टीमा आधिकारिक ढङ्गले सरसल्लाह, मौखिक वा लिखित केही गर्नुभएको छैन’, ओलीको भनाइ छ ।
पूर्व राष्ट्रपति भण्डारीले असार १४ गते पार्टी सदस्यता नवीकरण गरेको र सक्रिय राजनीतिमा आउने बताएकी थिइन् । साथै उनले पार्टीमा सक्रिय हुँदा आगामी दिनमा नेतृत्व गर्ने बताएकी थिइन् ।





































