लोकतन्त्र किन सडकमा मरिरहेछ
वि.सं.२०८२ साउन १५ बिहीवार ११:१०
shares

राजन कार्की
लोकतन्त्र जीवन पद्धति हुनुपर्ने हो । लोकतन्त्र अस्वीकार्य बन्दैछ । लोकतन्त्रमा बोल्न पाइन्छ, बोलेपछि सुनवाई हुन्छ । लोकतन्त्र विधिको शासन हो । विधिले सबैलाई बाँध्नुपर्ने हो । १८ वर्षदेखि छाडा बनेको लोकतन्त्र आज पनि छाडा नै छ । सानालाई ऐन, ठूलालाई चैन, अपराधीको मुठ्ठीको माखोजस्तो बनेको छ लोकतन्त्र ।
लोकतन्त्र सडकमा छ । लोक चिच्याइरहेका छन्, सुनवाई छैन । चिच्याउन पाइने, सुनवाई नहुने, आश्चर्यपूर्ण छ लोकतन्त्र ।
लोकतन्त्र सडकमा मरिरहेछ ।
एउटा सांसद अर्कोमाथि भ्रष्टाचारको आरोप लगाउँछ । एउटा मन्त्री अर्कोमाथि घूस खाएकै हो भन्छ । एउटा कारवाहीमा पर्छ, अर्को झण्ड हल्लाएर, फुइँकी लगाएर हिड्छ । एउटा सांसद जेलमा सडाइन्छ, आफ्ना सांसदलाई पञ्चखत माफ छ, छुट हुन्छ ।
समाजका, लोकतन्त्रका, राज्यका, अधिकारकर्मीदेखि प्रताडित, पीडितहरु, जनप्रतिनिधिहरु सडकमा लम्पसार पर्छन् । आक्रोश पोख्छन् । सरकार कानमा तेल हालेर बसेको छ । एउटाले अर्कोलाई खुइल्याउने, आरोप लगाउने, आक्रोश पोख्ने, आफूमात्र सही र सध्ये भन्ठान्ने प्रवृत्ति विकास भएको छ । लोकतन्त्र गाईजात्रा बन्यो ।
यसरी लोकतन्त्र सडमा मरिरहेको छ । लोकतन्त्रलाई जिवन्त बनाउन कोही तैयार छैनन् । सबै लोभीपापी हुन्, सबै सत्ता र शक्तिका आशक्त छन् । लोकतन्त्र समाजका तह र तप्काका अगुवाको मपाईवादमा मृत्युवरण गरिरहेको छ ।
लोकतन्त्र आयो, परिवर्तनको १८ वर्षपछि मूल्याङ्कन गर्दा लोकतन्त्रप्रति ठूला दलबाहेक कुनै नागरिक खुश देखिन्नन् । किन ? यसको समीचीन विश्लेषण गर्ने फुर्सद छैन ठूला दल र नागरिक समाजका अगुवाहरूलाई । हुन त राजनीतिमा विवेक चाहिन्छ, विधि र अनुशासनमा चल्नुपर्छ । थिति बसाल्ने नै भँडुवा भए भने विवेक मर्छ, सामाजिक जीवन्तता मर्छ । मरिरहेको छ । जनता बाँच्नु भनेको देश बाँच्नु हो । जनता मार्ने पद्धति बन्यो लोकतन्त्र । जो बाँचे, पार्टी, नेता र तिनका कार्यकर्ता बाँचेका छन् । स्वार्थ बाँच्नु भनेको देश मर्नु हो, पद्धति मर्नु हो ।
धर्म रहेन, राजनीति बिग्रियो । व्यापारीमा पनि कहिले कहिले पाप धर्मको ख्याल गरिन्छ । हाम्रो राजनीतिका खेलाडीहरूका लागि त स्वार्थसिद्ध भन्दा बढी केही पनि बाँकी रहेन । जसरी पनि मुनाफा लोकतन्त्रको सिद्धान्त बन्नपुग्यो ।
संविधानसभाको पहिलो बैठकको सभापतित्व गरेका कूलबहादुर गुरूङले गणतन्त्र कार्यान्वयन भइसकेपछि भनेका थिए– गणतन्त्र घोषणा गर्न रोक्नै नसक्ने दबाब थियो । कांग्रेसका अन्य नेताले पनि भनेका छन्, हिन्दुराष्ट्रलाई धर्मनिरपेक्षता कसरी बनाइयो, थाहै भएन । संविधानको यो आश्चर्य पनि एउटा कारण हो, राष्ट्रको सकस बढ्नुमा ।
नागरिक उदासीन छन् । गणतन्त्र दिवस वा लोकतन्त्र दिवसमा गण वा लोक सहभागी नै हुँदैनन् । संविधानलाई नेतृत्व गणले कुल्चदैछन्, संविधानले न्याय दिन्छ, विधि बसाल्छ भन्ने विषयमा जनता आश्वस्त छैनन् । नेताले विश्वास गुमाए, संविधानले आस्था गुमायो । अहिलेको नेपालको शासन प्रशासनको यथार्थ यही हो । यसरी भाँडिएको र लथालिङ्ग भएको शासन प्रशासनलाई कसरी ठिकठाक पार्ने भनेर कसैले पनि सुझाव दिएकोजस्तो लाग्दैन । पार्टी पार्टीमा बिधाजित थिङ्क टेङ्, बुद्धिजीवी, नागरिक समाज आआफ्नो स्वार्थका थाङ्नो बनेका छन् । उज्यालो नेपाल, अन्धकार बन्न थालेको छ ।
सिंगो सत्ता अनियमितता गरिरहेको छ, यो अनियमिततालाई राजनीतिले संरक्षण दिइरहेको छ । सत्ता राजनीतिमा संविधान होइन, सेटिङ् षडयन्त्र निरन्तर चलिरहेको छ । राजनीति सेवा नभएर व्यवसाय बनेको छ । यसकारण त राजनीति गर्ने नाङ्गाबाबाहरू अर्वपति बनेका छन्, महलमा बस्छन्, सम्भ्रान्त जीवनयावन गरिरहेका छन् । सानालाई ऐन, नेतालाई चैन भइरहेको छ । समाजमा उखानै थियो– नेपालको कानुन दैव जानुन्, कानुनको नौ सिङ् हुन्छ । यतिबेला चरम भ्रष्टाचारको नाली बनेको राजनीति, प्रशासनमा यही उखान लागू हुन्छ । नेपालमा लोकतन्त्रका नाममा, संवैधानिकताको आवरणमा जङ्गलराज बन्यो । जंगलतन्त्र चल्यो ।
कुनै संवैधानिक निकाय स्वच्छ छैनन् । अदालत मन्दिरजस्तो रहेन । बागद्वारजस्तो बन्नुपर्ने संवैधानिकता ढलद्वार बनेको अनुभूति जो कसैले गरिरहेको छ । यस्तो शासन व्यवस्थालाई कानुनी राज भन्नुपर्ने, यस्तो अपराधिक लोकतन्त्रलाई संवैधानिक भनिदिनुपर्ने ? जब संविधानको सीमा र आचरणमा कोही बसेकै छैनन्, कसरी त्यस्ता निकायहरू संवैधानिक हुनसक्छन् र ? लज्जा पनि लजाइरहेको छ । नेतृत्व बर्ग पटक्कै लजाउँदेनन् । लज्जा नभएपछि नागाबाबाजस्ता भए नेताहरू ।
हिजोको पञ्चायत निरंकूश थियो, लोकतन्त्र झन निरंकूश भयो । व्यापारीको देश हुन्न, त्यस्तै देखियो । यिनमा जे छ स्वार्थपूर्तिमात्र छ । यिनले देश सिध्याउने भए । अस्तित्व सिध्याउने भए । सुशासनको लागि संविधान हो, लक्ष्मणेखा हो संविधान । नेतृत्व बर्ग त संविधानभन्दा भन्ठान्छन् । जर्ज अरवेलले भनेका थिए– एनीमल आर इक्वेल, सम एनीमल आर मोर इक्वेल । विवेकहीन यिनलाई राष्ट्रप्रति गौरव छैन । माटोप्रति ममता छैन । जनताप्रति जिम्मेवारी छैन, संविधानप्रति आस्था छैन । कर्तव्यप्रति उत्तरदायित्व छैन । राज्यका सबै सञ्जाल, अदालत समेत सर्वदलीय देखियो ? किन अदालतले राजनीतिक दबाब र प्रभावमा कुनै मुद्दा आजको भोलि फैसला गर्छन् ? आमनागरिकका मुद्दा ४० वर्षसम्म पनि तारिखमा झुण्ड्याएर राख्छन् ? प्रतिषोध पूरा गर्न कसैलाई जेलमै सडाइदिन्छन् ? अदालत संसदको अधिकार खोस्छ, सरकार संवैधानिक निकायलाई बशमा राख्छ । शासन हो कि बाहुबलीतन्त्र चलेको ? लोकतन्त्र भ्रष्ट कालो छायाँ भयो । लोक आकांक्षा, अपेक्षा, आवाज हरेक क्षण प्रताडित गर्नु लोकतान्त्रिक हुन्छ र ?
लोकनेताहरू ख्यातीको शिखरबाट घृणाको खाडलमा खस्दैछन् । जनताको भरविश्वास कसैमाथि छैन । ठूला ठूला सपना देखाउने, दयनीय शासन चलाउने र जे जंग चल्छ त्यही निर्णय गर्ने जंगेशैली बढेको छ । अविवेकी व्यवहार देखाउँदै सन्की निर्णयहरू गरेर अधिनायकी राजनीतिक पात्रका रूपमा नेतृत्वबर्ग स्थापित हुनपुगेका छन् । कस्तो अचम्म, स्थानीय स्तरमा समेत गठबन्धन गरेर चुनाव लड्ने, आलोपालो सत्तामा जाने भनेर केन्द्रस्तरमै गठबन्धन मिलाउने, नीति–सिद्धान्त केही पनि नहेर्ने, स्वार्थ सिद्ध हुन्छ भने नैतिकताको तिलाञ्जली दिन पनि पछि नपर्ने ? राजनीति द्वन्द्व बढाउने चरित्रले राष्ट्र दुर्घटनाउन्मुख बनेको छ । कुनै पनि बेला बंगलादेश वा श्रीलंकामा आएकोजस्तो लोकविद्रोहको सुनामी नआउला भन्न सकिदैन ।
कमी छैन, पार्टीहरूमा बुद्धिजीवी छन्, विवेकशील पनि छन् । तिनीहरू किन पार्टी र निजी स्वार्थमा अन्ध बनेका हुन्, किन देशका बारेमा विवेक बोल्दैनन् ? राष्ट्र कमजोर पार्ने काम गर्ने नेताहरूले लोकतन्त्र ल्यायौं भनेर गर्व गर्नु उदेगलाग्दो विषय बन्नपुगेको छ ।
वीपी र मदन भण्डारीको दर्शन म¥यो । माओको नामसमेत बदनाम भयो । नेताको मुटुभित्र नेपालीत्व समेत मरेका अनेक घटनाक्रम भए । नेपाली हित र हकका लागि, सार्वभौमिकता र स्वतन्त्रताका लागि नेतृत्व उभिनै सकेन । राष्ट्रका लागि अहं भूमिका खेल्ने बेलामा विदेशीको परिक्रमा गर्ने, विदेशी प्रभाव र दबाबमा चल्ने, निर्णय गर्ने प्रवृत्ति आत्मघातसरह हुनपुग्यो । यस्तो परालखुट्टे, पराधीन नेतृत्वले सुखी नेपाली, समृद्ध नेपालको बैतर्णी तार्दैनन् । सत्य यही हो । यो सत्य सबैले आत्मसात गर्न जरूरी छ, जबसम्म सत्य बुझिन्न, नेपालको स्वार्थी राजनीति बुझ्न सकिन्न ।
भारतको नक्कल गर्ने नक्कलीहरूले सुभाषचन्द्र बोसलाई पढ्नु उचित हुनेछ । त्यतिबेला भारतमा अंग्रेजको शासनकाल थियो । सुभाषचन्द्र बोसले विवाह नगरेपछि उनका सहयोगीहरूले सामुहिक रूपमा यो कुरा उठाए– नेताजी तपाई विवाह गर्नुहुन्न ? सुभाषचन्द्र बोसले भने– विवाह त म अहिले नै गर्छु, तर मलाई दाइजो चाहिन्छ, दाइजो दिने कसले ?
सहयोगीहरूले भने– तपाईलाई छोरी र दाइजो दिन धेरै तैयार छन्, भन्नोस् तपाईलाई के कति दाइजो चाहियो ? बोसले भने– मलाई दाइजोमा मेरो देशको स्वतन्त्रता, स्वराज चाहियो । कसैले दिनसक्छ मलाई स्वतन्त्रता ?
१९४७ मा भारत स्वतन्त्र भयो । सुभाषचन्द्र बोसको त्यही भारत अंग्रेजको अवतार बनेर आज नेपाललाई सताइरहेको छ । तैपनि हामी आँखा चिम्लेर अत्याचार सहिरहेछौं ।
नागरिकले अन्याय सहदा, लोकतन्त्र सडकमा मूर्छित हुनपुग्यो ।
































