सरकारले अपवादका लागि पाएको सुविधालाई दुरुपयोग गर्दै जब नियमित बनाइन्छ त्यसले कति सम्म...

पुरा पढ्नुहाेस्

linktrix Long Ad
Salt Trading Long Ad

लोकतन्त्र किन सडकमा मरिरहेछ

728
shares

 

राजन कार्की
लोकतन्त्र जीवन पद्धति हुनुपर्ने हो । लोकतन्त्र अस्वीकार्य बन्दैछ । लोकतन्त्रमा बोल्न पाइन्छ, बोलेपछि सुनवाई हुन्छ । लोकतन्त्र विधिको शासन हो । विधिले सबैलाई बाँध्नुपर्ने हो । १८ वर्षदेखि छाडा बनेको लोकतन्त्र आज पनि छाडा नै छ । सानालाई ऐन, ठूलालाई चैन, अपराधीको मुठ्ठीको माखोजस्तो बनेको छ लोकतन्त्र ।
लोकतन्त्र सडकमा छ । लोक चिच्याइरहेका छन्, सुनवाई छैन । चिच्याउन पाइने, सुनवाई नहुने, आश्चर्यपूर्ण छ लोकतन्त्र ।
लोकतन्त्र सडकमा मरिरहेछ ।
एउटा सांसद अर्कोमाथि भ्रष्टाचारको आरोप लगाउँछ । एउटा मन्त्री अर्कोमाथि घूस खाएकै हो भन्छ । एउटा कारवाहीमा पर्छ, अर्को झण्ड हल्लाएर, फुइँकी लगाएर हिड्छ । एउटा सांसद जेलमा सडाइन्छ, आफ्ना सांसदलाई पञ्चखत माफ छ, छुट हुन्छ ।
समाजका, लोकतन्त्रका, राज्यका, अधिकारकर्मीदेखि प्रताडित, पीडितहरु, जनप्रतिनिधिहरु सडकमा लम्पसार पर्छन् । आक्रोश पोख्छन् । सरकार कानमा तेल हालेर बसेको छ । एउटाले अर्कोलाई खुइल्याउने, आरोप लगाउने, आक्रोश पोख्ने, आफूमात्र सही र सध्ये भन्ठान्ने प्रवृत्ति विकास भएको छ । लोकतन्त्र गाईजात्रा बन्यो ।
यसरी लोकतन्त्र सडमा मरिरहेको छ । लोकतन्त्रलाई जिवन्त बनाउन कोही तैयार छैनन् । सबै लोभीपापी हुन्, सबै सत्ता र शक्तिका आशक्त छन् । लोकतन्त्र समाजका तह र तप्काका अगुवाको मपाईवादमा मृत्युवरण गरिरहेको छ ।
लोकतन्त्र आयो, परिवर्तनको १८ वर्षपछि मूल्याङ्कन गर्दा लोकतन्त्रप्रति ठूला दलबाहेक कुनै नागरिक खुश देखिन्नन् । किन ? यसको समीचीन विश्लेषण गर्ने फुर्सद छैन ठूला दल र नागरिक समाजका अगुवाहरूलाई । हुन त राजनीतिमा विवेक चाहिन्छ, विधि र अनुशासनमा चल्नुपर्छ । थिति बसाल्ने नै भँडुवा भए भने विवेक मर्छ, सामाजिक जीवन्तता मर्छ । मरिरहेको छ । जनता बाँच्नु भनेको देश बाँच्नु हो । जनता मार्ने पद्धति बन्यो लोकतन्त्र । जो बाँचे, पार्टी, नेता र तिनका कार्यकर्ता बाँचेका छन् । स्वार्थ बाँच्नु भनेको देश मर्नु हो, पद्धति मर्नु हो ।
धर्म रहेन, राजनीति बिग्रियो । व्यापारीमा पनि कहिले कहिले पाप धर्मको ख्याल गरिन्छ । हाम्रो राजनीतिका खेलाडीहरूका लागि त स्वार्थसिद्ध भन्दा बढी केही पनि बाँकी रहेन । जसरी पनि मुनाफा लोकतन्त्रको सिद्धान्त बन्नपुग्यो ।
संविधानसभाको पहिलो बैठकको सभापतित्व गरेका कूलबहादुर गुरूङले गणतन्त्र कार्यान्वयन भइसकेपछि भनेका थिए– गणतन्त्र घोषणा गर्न रोक्नै नसक्ने दबाब थियो । कांग्रेसका अन्य नेताले पनि भनेका छन्, हिन्दुराष्ट्रलाई धर्मनिरपेक्षता कसरी बनाइयो, थाहै भएन । संविधानको यो आश्चर्य पनि एउटा कारण हो, राष्ट्रको सकस बढ्नुमा ।
नागरिक उदासीन छन् । गणतन्त्र दिवस वा लोकतन्त्र दिवसमा गण वा लोक सहभागी नै हुँदैनन् । संविधानलाई नेतृत्व गणले कुल्चदैछन्, संविधानले न्याय दिन्छ, विधि बसाल्छ भन्ने विषयमा जनता आश्वस्त छैनन् । नेताले विश्वास गुमाए, संविधानले आस्था गुमायो । अहिलेको नेपालको शासन प्रशासनको यथार्थ यही हो । यसरी भाँडिएको र लथालिङ्ग भएको शासन प्रशासनलाई कसरी ठिकठाक पार्ने भनेर कसैले पनि सुझाव दिएकोजस्तो लाग्दैन । पार्टी पार्टीमा बिधाजित थिङ्क टेङ्, बुद्धिजीवी, नागरिक समाज आआफ्नो स्वार्थका थाङ्नो बनेका छन् । उज्यालो नेपाल, अन्धकार बन्न थालेको छ ।
सिंगो सत्ता अनियमितता गरिरहेको छ, यो अनियमिततालाई राजनीतिले संरक्षण दिइरहेको छ । सत्ता राजनीतिमा संविधान होइन, सेटिङ् षडयन्त्र निरन्तर चलिरहेको छ । राजनीति सेवा नभएर व्यवसाय बनेको छ । यसकारण त राजनीति गर्ने नाङ्गाबाबाहरू अर्वपति बनेका छन्, महलमा बस्छन्, सम्भ्रान्त जीवनयावन गरिरहेका छन् । सानालाई ऐन, नेतालाई चैन भइरहेको छ । समाजमा उखानै थियो– नेपालको कानुन दैव जानुन्, कानुनको नौ सिङ् हुन्छ । यतिबेला चरम भ्रष्टाचारको नाली बनेको राजनीति, प्रशासनमा यही उखान लागू हुन्छ । नेपालमा लोकतन्त्रका नाममा, संवैधानिकताको आवरणमा जङ्गलराज बन्यो । जंगलतन्त्र चल्यो ।
कुनै संवैधानिक निकाय स्वच्छ छैनन् । अदालत मन्दिरजस्तो रहेन । बागद्वारजस्तो बन्नुपर्ने संवैधानिकता ढलद्वार बनेको अनुभूति जो कसैले गरिरहेको छ । यस्तो शासन व्यवस्थालाई कानुनी राज भन्नुपर्ने, यस्तो अपराधिक लोकतन्त्रलाई संवैधानिक भनिदिनुपर्ने ? जब संविधानको सीमा र आचरणमा कोही बसेकै छैनन्, कसरी त्यस्ता निकायहरू संवैधानिक हुनसक्छन् र ? लज्जा पनि लजाइरहेको छ । नेतृत्व बर्ग पटक्कै लजाउँदेनन् । लज्जा नभएपछि नागाबाबाजस्ता भए नेताहरू ।
हिजोको पञ्चायत निरंकूश थियो, लोकतन्त्र झन निरंकूश भयो । व्यापारीको देश हुन्न, त्यस्तै देखियो । यिनमा जे छ स्वार्थपूर्तिमात्र छ । यिनले देश सिध्याउने भए । अस्तित्व सिध्याउने भए । सुशासनको लागि संविधान हो, लक्ष्मणेखा हो संविधान । नेतृत्व बर्ग त संविधानभन्दा भन्ठान्छन् । जर्ज अरवेलले भनेका थिए– एनीमल आर इक्वेल, सम एनीमल आर मोर इक्वेल । विवेकहीन यिनलाई राष्ट्रप्रति गौरव छैन । माटोप्रति ममता छैन । जनताप्रति जिम्मेवारी छैन, संविधानप्रति आस्था छैन । कर्तव्यप्रति उत्तरदायित्व छैन । राज्यका सबै सञ्जाल, अदालत समेत सर्वदलीय देखियो ? किन अदालतले राजनीतिक दबाब र प्रभावमा कुनै मुद्दा आजको भोलि फैसला गर्छन् ? आमनागरिकका मुद्दा ४० वर्षसम्म पनि तारिखमा झुण्ड्याएर राख्छन् ? प्रतिषोध पूरा गर्न कसैलाई जेलमै सडाइदिन्छन् ? अदालत संसदको अधिकार खोस्छ, सरकार संवैधानिक निकायलाई बशमा राख्छ । शासन हो कि बाहुबलीतन्त्र चलेको ? लोकतन्त्र भ्रष्ट कालो छायाँ भयो । लोक आकांक्षा, अपेक्षा, आवाज हरेक क्षण प्रताडित गर्नु लोकतान्त्रिक हुन्छ र ?
लोकनेताहरू ख्यातीको शिखरबाट घृणाको खाडलमा खस्दैछन् । जनताको भरविश्वास कसैमाथि छैन । ठूला ठूला सपना देखाउने, दयनीय शासन चलाउने र जे जंग चल्छ त्यही निर्णय गर्ने जंगेशैली बढेको छ । अविवेकी व्यवहार देखाउँदै सन्की निर्णयहरू गरेर अधिनायकी राजनीतिक पात्रका रूपमा नेतृत्वबर्ग स्थापित हुनपुगेका छन् । कस्तो अचम्म, स्थानीय स्तरमा समेत गठबन्धन गरेर चुनाव लड्ने, आलोपालो सत्तामा जाने भनेर केन्द्रस्तरमै गठबन्धन मिलाउने, नीति–सिद्धान्त केही पनि नहेर्ने, स्वार्थ सिद्ध हुन्छ भने नैतिकताको तिलाञ्जली दिन पनि पछि नपर्ने ? राजनीति द्वन्द्व बढाउने चरित्रले राष्ट्र दुर्घटनाउन्मुख बनेको छ । कुनै पनि बेला बंगलादेश वा श्रीलंकामा आएकोजस्तो लोकविद्रोहको सुनामी नआउला भन्न सकिदैन ।
कमी छैन, पार्टीहरूमा बुद्धिजीवी छन्, विवेकशील पनि छन् । तिनीहरू किन पार्टी र निजी स्वार्थमा अन्ध बनेका हुन्, किन देशका बारेमा विवेक बोल्दैनन् ? राष्ट्र कमजोर पार्ने काम गर्ने नेताहरूले लोकतन्त्र ल्यायौं भनेर गर्व गर्नु उदेगलाग्दो विषय बन्नपुगेको छ ।
वीपी र मदन भण्डारीको दर्शन म¥यो । माओको नामसमेत बदनाम भयो । नेताको मुटुभित्र नेपालीत्व समेत मरेका अनेक घटनाक्रम भए । नेपाली हित र हकका लागि, सार्वभौमिकता र स्वतन्त्रताका लागि नेतृत्व उभिनै सकेन । राष्ट्रका लागि अहं भूमिका खेल्ने बेलामा विदेशीको परिक्रमा गर्ने, विदेशी प्रभाव र दबाबमा चल्ने, निर्णय गर्ने प्रवृत्ति आत्मघातसरह हुनपुग्यो । यस्तो परालखुट्टे, पराधीन नेतृत्वले सुखी नेपाली, समृद्ध नेपालको बैतर्णी तार्दैनन् । सत्य यही हो । यो सत्य सबैले आत्मसात गर्न जरूरी छ, जबसम्म सत्य बुझिन्न, नेपालको स्वार्थी राजनीति बुझ्न सकिन्न ।
भारतको नक्कल गर्ने नक्कलीहरूले सुभाषचन्द्र बोसलाई पढ्नु उचित हुनेछ । त्यतिबेला भारतमा अंग्रेजको शासनकाल थियो । सुभाषचन्द्र बोसले विवाह नगरेपछि उनका सहयोगीहरूले सामुहिक रूपमा यो कुरा उठाए– नेताजी तपाई विवाह गर्नुहुन्न ? सुभाषचन्द्र बोसले भने– विवाह त म अहिले नै गर्छु, तर मलाई दाइजो चाहिन्छ, दाइजो दिने कसले ?
सहयोगीहरूले भने– तपाईलाई छोरी र दाइजो दिन धेरै तैयार छन्, भन्नोस् तपाईलाई के कति दाइजो चाहियो ? बोसले भने– मलाई दाइजोमा मेरो देशको स्वतन्त्रता, स्वराज चाहियो । कसैले दिनसक्छ मलाई स्वतन्त्रता ?
१९४७ मा भारत स्वतन्त्र भयो । सुभाषचन्द्र बोसको त्यही भारत अंग्रेजको अवतार बनेर आज नेपाललाई सताइरहेको छ । तैपनि हामी आँखा चिम्लेर अत्याचार सहिरहेछौं ।
नागरिकले अन्याय सहदा, लोकतन्त्र सडकमा मूर्छित हुनपुग्यो ।

 

sapta chakra spa
below next and prev inner page
below international hompage
below entertainmnet insurance
napali patro below sports